मतदाताका वारेसप्रति चनाखो बन्न निर्वाचन आयोगको निर्देशन

हिमालय टाइम्स
Read Time = 14 mins

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिबिहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिनुभएको छ ।

अशक्तताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन निर्वाचन उहाँले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभएको हो । उहाँले गत स्थानीय तहको निर्वाचनमा दृष्टिबिहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्दा भनेअनुसार मतदान नभएको गुनासो आएको भन्दै त्यसप्रति चनाखो हुन आवश्यक रहेको बताउनु भयो । उहाँले गत स्थानीय तहको निर्वाचनमा आफैँ मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको बहाना बनाइ अरुमार्फत मतदान गराएका केही उदाहरण आएकाले त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो । उहाँले मतदानको सन्दर्भमा आफू अशक्त भएको बहाना बनाइ पक्षधर व्यक्तिलाई मतदान गर्न दिन गम्भीर प्रकृतिको कसुर भएकाले त्यसो नगर्न पनि सचेत गराउनु भयो । उहाँले यदी कुनै मतदाताले आफू मतदान गर्न सक्षम हुँदाहुँदै विभिन्न बहाना बनाएर अरुमार्फत मतदान गराउने किसिमको कार्य गरेमा निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही हुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन अयोगले यो मतदान कार्यलाई समावेशी बनाउन लैङ्गिक एवं अपाङ्तामैत्री बनाउनको निम्ति जुन व्यवस्था गरेको छ, मतदान अधिकृतहरुले मतदान केन्द्रको व्यवस्थापन लगायतका विषयमा जुन व्यवस्था गरिरहनुभएको छ, यसलाई अत्यन्त गम्भीरतापूर्वक बुझी, तदनुसार सबैबाट सहयोग हुनेछ भन्ने आयोगले विश्वास लिएको छ । स्थानीय तहको निर्वाचनको हाम्रो अनुभवले के देखाएको छ भने, दृष्टिबिहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेश बनी मतदान गरिदिएको र आफैँ मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको भनि अरुमार्फत मतदान गराएका केही उदाहरण पनि आएका छन् । मतदानको सन्दर्भमा यो गम्भीर प्रकृतिको कसुर हो । यस्ता कार्यलाई कहीँ कतैबाट हुन नदिनको निम्ति सचेत रहन म सबैलाई आग्रह गर्दछु । यदी कुनै मतदाताले आफू मतदान गर्न सक्षम हुँदाहुँदै विभिन्न बहाना बनाएर अरु मार्फत मतदान गराउने यस किसिमको कार्य गरेमा निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही हुने व्यहोरासमेत जानकारी गराउँछु ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियालाई समावेशी, लैङ्गिक एवं अपाङ्गतामैत्री बनाउने कुरामा ध्यान दिन पनि सम्बन्धित प्रमुख निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभयो । उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा लैङ्गिक र अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण गरी उदाहरण प्रश्तुत गर्न आग्रह गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान स्थलको सम्पूर्ण व्यवस्थापन गर्दा अपाङ्ग, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी, अशक्तहरुलाई सहज पहुँचको सुनिश्चितता कायम गर्नेगरी मतदान केन्द्र निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले मतदान स्थलमा गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, कृयापुत्री तथा सुत्केरी मतदाताहरुको लागि सामान्य अवस्थाको एउटा विश्रामस्थल निर्माण गर्नपनि निर्देशन दिनुभयो । आयोगले मतदान कक्ष बनाउँदा, मत पेटीका राख्दा, धेरै अग्लो ठाउँमा नबनाइ मतदान गर्ने ठाउँ सकेसम्म होचो कद भएका र अपाङ्गता भएका मतदाताहरुले पनि सजिलै मतदान गर्नसक्ने र मत पेटीकामा आफैले मत खसाल्न सक्नेगरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान अधिकृतहरुले गर्भवती, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, क्रियापुत्री र आफ्नो काखमा बालबालिका लिएर आएका महिलाहरु र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइ उनीहरुले धेरै समय कुर्नु नपर्ने गरी मतदानको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । आयोगले दृष्टिबिहीन र शारीरिक अशक्त भएका कुनैपनि कारणले मत संकेत गर्न नसक्ने मतदाताहरुले आफ्नो साथमा लिइ आएको आफ्नो घर परिवारको व्यक्तिलाई मतदान कक्षमा जानको लागि अनुमति दिनपनि आग्रह गरेको छ । त्यस्तै आयोगले लैङ्गिक एवं अपाङ्गतामैत्री मतदान स्थलमा हुनुपर्ने न्युनतम कुराहरु भएको छ कि छैन भन्नेकुरामा ध्यान दिँदै अशक्त मतदाताहरुलाई मतदान गर्ने मात्रै नभइ बाहिर निस्किने व्यवस्था पनि सहज गर्न निर्देशन दिएको छ । प्रमुख आयुक्त थपलियाले यो पटक निर्वाचन आयोगले मतदानको दिनसमेत आवश्यक व्यवस्थासहित नियन्त्रित र व्यवस्थित ढंगले सवारी साधनलाई पनि सञ्चालन गर्नेगरी आवश्यक प्रवन्ध गर्ने र गम्भीर प्रकृतिका अशक्त, ज्येष्ठ नागरिक लगायतका मतदाताहरुलाई सकेसम्म मतदान केन्द्रसम्म जान र फर्किनको निम्ति आवश्यक समन्वय गरी सवारी साधनको आवश्यक प्रवन्ध गरिदिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोग समग्र निर्वाचन प्रक्रियालाई समावेशी, लैङ्गिक एवं अपाङ्गतामैत्री बनाउने सन्दर्भमा सधैँ वकालत गर्दै आइरहेको छ । यसै सन्दर्भमा आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्यको निर्वाचन निम्ति साँच्चै नै यो निर्वाचन लैङ्गिक दृष्टिकोणले अपाङ्गता भएका आदरणीय मतदाताको दृष्टिकोणबाट उपयुक्त भएको छ भन्ने सन्देश दिनको निम्ति म हाम्रा सम्पूर्ण मुख्य निर्वाचन अधिकृति ज्युहरु र निर्वाचन अधिकृत ज्युहरु मार्फत सम्पूर्ण मतदान अधिकृत एवं सहायक मतदान अधिकृत ज्युहरुलाई विशेष अनुरोध गर्न चाहन्छु । तपाईहरुले मतदान स्थलको व्यवस्थापन गर्दा र मतदान कार्यको सम्पूर्ण व्यवस्थापन गर्दा विशेष ध्यान दिनुहोला । सबैभन्दा पहिला मतदान केन्द्र निर्माण गर्दा सम्भव भएसम्म अपाङ्गता भएका, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी, अशक्त यी सबैलाई सहज हुनेगरी पहुँचको सुनिश्चितता कायम गर्नेगरी मतदान केन्द्र निर्माण गरिदिनुहोस् । गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, कृयापुत्री तथा सुत्केरी मतदाताहरुको लागि सामान्य अवस्थाको भएपनि एउटा विश्रामस्थल सँगै निर्माण गरिदिनुस् । मतदान कक्ष बनाउँदा मत पेटीका राख्दा, धेरै अग्लो ठाउँमा नबनाइकन, मतदान गर्ने ठाउँ सकेसम्म होचो कद भएका र अपाङ्गता भएका मतदाताहरुले पनि सजिलै मतदान गर्नसक्ने र मत पेटीकामा पनि सजिलै आफैले मत खसाल्न सक्नेगरी आवश्यक व्यवस्था मिलाउन आग्रह छ ।

मतदान अधिकृतहरुले गर्भवती, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, क्रियापुत्री र आफ्नो काखमा बालबालिका लिएर आएका महिलाहरु र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरु र कतिपय ठाउँमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक मतदाताहरु हुनुहुन्छ भने उहाँहरुलाई समेत लक्षित गरेर, विशेष प्राथमिकता दिएर, उहाँहरुले धेरै समय कुर्नु नपर्ने गरी आउनासाथ मैले मतदान गरेर जान पाएँ भन्ने अनुभुति हुनेगरी व्यवस्था गरिदिनुहोस् । दृष्टिबिहीन र शारीरिक अशक्त भएका कुनैपनि कारणले मत संकेत गर्न नसक्ने मतदाताहरुले आफ्नो साथमा लिइ आएको आफ्नो घर परिवारको व्यक्तिलाई मतदान कक्षमा जानको लागि अनुमति दिनुहोस् । उहाँहरुसँग आफू पनि सँगै गएर उहाँहरुले भनेकै ठाउँमा मतदान गर्नको निम्ति आवश्यक सहयोग गर्नुहोस् । यदी कसैले आफूसँग ल्याएको व्यक्ति लैजान चाहनुभएन भने तपाईहर आफैँ उपस्थित भइदिनुस् । उहाँले जहाँ भन्नुभएको छ, त्यही ठाउँमा मतदान गर्ने व्यवस्था गरिदिनुहोस् । निर्वाचनमा कुन व्यक्तिले कसरी मतदान गर्नुभएको छ, साँच्चै नै एउटा लैङ्गिक एवं अपाङ्गतामैत्री मतदान स्थलमा हुनुपर्ने न्युनतम कुराहरु भएको छ कि छैन ? कहीँ कतै यस्ता मतदाताहरु विभिन्न कारणले गर्दा आउनसक्नु नभएको अवस्थामा यी कुरालाई चनाखो भएर आवश्यक व्यवस्था गरिदिनुहोस् । जाने ठाउँ सजिलो, निस्किने ठाउँ अफ्ठ्यारो भयो भन्ने गुनासाहरु पनि हामीलाई आएका छन् । त्यसकारण मतदान गरिसकेपछि सहज ढंगले बाहिर जाने व्यवस्था मिलाइदिनुहोस् । यो पटक निर्वाचन आयोगले मतदानको दिनसमेत आवश्यक व्यवस्थासहित नियन्त्रित र व्यवस्थित ढंगले सवारी साधनलाई पनि सञ्चालन गर्नेगरी आवश्यक प्रवन्ध गर्न खोजेको छ । गम्भीर प्रकृतिका अशक्त मतदाताहरु, ज्येष्ठ नागरिक लगायतका मतदाताहरुलाई सकेसम्म मतदान केन्द्रसम्म जानको निम्ति आवश्यक समन्वय गरेर सवारी साधनको आवश्यक प्रवन्ध गरिदिन र जान र फर्कनको लागि उपयुक्त व्यवस्थापन गरिदिनको निम्ति पनि सबैलाई आग्रह छ । सबै मतदातालाई सहज ढंगले मतदान गर्ने अवस्था सिर्जना गरी साँच्चै नै यो निर्वाचन लैङ्गिक, समावेशी दृष्टिकोणबाट र अपाङ्गतामैत्री दृष्टिकोणबाट नमूना मतदान भएको छ भन्ने स्थापित गर्नेगरी काम गर्न म सबैलाई विशेष आग्रह गर्दछु ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदातालाई सहज ढंगले मतदान गर्ने अवस्था सिर्जना गरी यस पटकको निर्वाचन लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री दृष्टिकोणबाट नमूना मतदान भएको छ भन्ने स्थापित गर्नेगरी काम गर्न पनि सम्बन्धित पक्षहरुलाई आग्रह गर्नुभयो ।

 

-स्रोत : न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?