बागलुङका छवटै सिट जित्छौँ : शिक्षामन्त्री पौडेल

Read Time = 2 mins

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गर्नुभएको छ ।

तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा आज आयोजित चुनावीसभामा बोल्दै उहाँले पाँचदलीय गठबन्धनका उम्मेदवार भारी मतान्तरसहित विजयी हुने जिकिर गर्नुभयो ।

“गठबन्धनका मतले मात्रै जित हासिल गर्न सकिन्छ, तर त्यतिले मात्रै पुग्दैन, अत्यधिक मतसहित गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले संविधानको रक्षासँगै विकास र पूर्वाधारका कामलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु आग्रह गर्नुभयो ।

उहाँले मुलुकको आवश्यकताका आधारमा पाँचदलीय गठबन्धन बनेको बताउनुभयो । चुनाव जितेपछि बन्ने गठबन्धनको सरकारले नै मुलुकलाई विकास, समृद्धि र स्थिरतातिर लैजाने उहाँको दाबी छ ।

नेकपा (माओवादी केन्द्र) का सचिव पौडेल बागलुङ-२ बाट प्रनिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । उहाँ २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट विजयी हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?