भारतमाथि १० विकेटको फराकिलो जित निकाल्दै इंग्ल्यान्ड तेस्रो पटक फाइनलमा

Read Time = 3 mins

मेलबर्न । टी-२० क्रिकेट विश्वकपको सेमिफाइनलमा उपाधि दाबेदार मानिएको भारतले लज्जास्पद हार व्यहोरेको छ । आइसिसी टि–२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डसँग भारतले १० विकेटको लज्जास्पद हार ब्यहोरेको हो । टि-२० विश्वकप इतिहासमा सेमिफाइनलमा यो पहिलो पटक १० विकेटको हार हो । गतवर्ष पनि विश्वकपमा पाकिस्तानले भारतलाई समूहचरणमा १० विकेटले हराएको थियो । उक्त विश्वकपमा पाकिस्तानले १५२ रनको लक्ष्य पछ्याएको थियो । त्यो नै विश्वकपमा ठूलो योगफल पछ्याउँदा १० विकेटको जित थियो ।

टि-२० क्रिकेटमा कुनै विकेट नगुमाई पूरा गरेको यो दोस्रो ठूलो योगफल हो । पाकिस्तानले अघिल्लो महिना इंग्ल्यान्डलाई १० विकेटले हराएको थियो । त्यस बेला पाकिस्तानका बाबर आजम र मोहम्मद रिजवानले कुनै विकेट नगुमाई २०० रनको योगफल पूरा गर्नुभएको थियो ।
बिहीबार जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य भेटाएको थियो । इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ बलमा चार चौका र सात छक्कासहित ८६ रनमा अविजित रहनुभयो । कप्तान जस बटलर ४९ बलमा नौ चौका र तीन छक्कासहित ८० रनमा अविजित रहनुभयो ।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा चार चौका र पाँच छक्कासहित सर्वाधिक ६३ रन बनाउनुभयो ।

यस्तै, विराट कोहलीले ४० बलमा चार चौका र एकछक्कासहित सर्वाधिक ५० रन बनाउनुभयो । योसँगै विराट कोहली टि-२० आईमा चार हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बन्नुभएको छ । चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी भएको थियो । इंग्ल्यान्डका क्रिस जोर्डनले चार ओभरमा ४३ रन खर्चेर तीन विकेट लिनुभयो ।

अब इंग्ल्यान्डले उपाधिको लागि आइतबार मेलबर्नमा पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई सात विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । इंग्ल्यान्ड सन् २०१० र पाकिस्तान २००९ को टि–२० विश्वकप च्याम्पियन टोली हुन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?