अमेरिकामा भण्डारीसहित दुई नेपाली विजयी

रासस
Read Time = 4 mins

मेरिल्याण्ड । अमेरिकाको निर्वाचनमा उम्मेदवार बन्नुभएका नेपाली मूलका दुवैजना विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्र्याट पार्टीका तर्फबाट नेपाली मूलका डा.हृयारी भण्डारीले पुनः जित हासिल गर्नुभएको छ । उहाँ कूल १३ हजार ९४९ मत ल्याई पहिलो निर्वाचित विधायक बन्नुभएको छ । यो कुल खसेको मतको २० दशमलव २७ प्रतिशत हो ।

सन् २०१८ मा सम्पन्न निर्वाचनमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जित हासिल गर्ने पहिलो नेपाली बन्नुभएका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सार्नुभएको थियो । यसका लागि उहाँले दुवै पटकको निर्वाचनमा ‘टिचर फर डेलिगेट’ भन्ने नारा अगाडि सार्नुभएको थियो ।

हयारीसहित डेमोक्र्याट पार्टीका कार्ल ज्याक्सन र निक एलेनले पनि विजयी हासिल गर्नुभएको छ । कार्लले १३ हजार ती सय एक मत र निकले १२ हजार पाँच सय ४७ मत प्राप्त गर्नुभएको छ । डिष्ट्रिक्ट आठवाट तीनजना विधायक निर्वाचित हुने व्यवस्था अनुसार तीनैजना डेमोक्रयाटका उम्मेदवार विजयी हुनुभएको छ । हृयारीले सबैभन्दा बढी मत पाउनुभएको हो ।

उता सोही डिष्ट्रिक्टमा रिपब्लिकन पार्टीका उम्मेदवारहरू गेलेन गेलहार, टिमोथी नेउवार र क्थालिन स्मेरो पराजित हुनुभयो । यसैगरी न्यूयोर्क स्टेट एसेम्बलीको डिष्ट्रिक्ट १०३ न्यूयोर्कबाट पहिलोपटक उम्मेदवार बन्नुभएकी सराहना श्रेष्ठ विजयी हुनुभएको छ । छोटो समयमा राजनीतिक सफलता हात पार्नु भएकी सराहनाले जितसँगै न्यूयोर्क स्टेट एसेम्बलीमा जित हासिल गर्ने पहिलो नेपाली बनेर इतिहास निर्माण गर्नुभएको छ ।

विजयी भएपछि रासससँग संक्षिप्त कुराकानी गर्दै भण्डारीले आफूलाई सहयोग गर्नु हुने सम्पूर्ण नेपाली अमेरिकीलाई धन्यवाद दिनुभयो । विगतको कार्यकालमा आफूले १४ वटा बिल पास गर्न सफल भएको र केही बिलहरू विचाराधीन अवस्थामा रहेकाले त्यसलाई प्राथमिकतामा राख्ने भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले आगामी चार वर्षमा एकतातिर मेरा मतदातासँग गरेको प्रतिबद्धता अनुसारको काम गर्नुछ भने अर्कोतर्फ नेपाली अमेरिकीको मूलधारको राजनीतिमा थप सहभागिताका लागि संस्थागत ढंगले काम गर्नुपर्नेछ । मूलधारको राजनीतिमा एकपछि अर्को सफलता हात पारेसँगै नेपालीमूलका अमेरिकी खुशी भएका छन् । ‘यो जित हाम्रो मूलधारको राजनीतिमा कोसेढुंगा सावित भएको छ’, अमेरिकाको मेरिल्याण्डमा रहनुभएका डा.श्याम कार्कीले विजयको खबर सुनेपछि प्रतिक्रिया दिँदै भन्नुभयो, ‘अमेरिकाको नीति निर्माण तहमा नेपालीभाषीको प्रतिनिधित्वले हामी नेपालीलाई गौरवको अनुभूति भएको छ ।’ कार्कीले सन् २०१४ देखि नै भण्डारीको चुनावी अभियानमा सघाउँदै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?