चुनावी मैदानमा लोकदोहोरी गायिका जमुना

Read Time = 8 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिनेमा राजनीतिकर्मी मात्रै छैनन्, विभिन्न पेशा व्यवसायमा रहेकाहरूको सहभागिता छ  । विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फका उम्मेदवारहरूमा साहित्य, संगीत तथा सिने क्षेत्रका कलाकार पनि चुनावी मैदानमा छन् । यही मेसोमा लोकदोहोरी गायिका जमुना सनम पनि चुनावी मैदानमा उत्रिनुभएको छ ।

२०४३ चैत २३ गते अघाँखाचीको खनमा आमा छमकुमारी सुनार र बुबा पिताम्बर सुनारको सुपुत्रीका रूपमा जन्मिनुभएकी सनमलाई अत्यन्त कर्णप्रिय स्वरका रूपमा लोकदोहोरी क्षेत्रमा सबैले चिन्ने गर्दछन् । लामो समय लोक संगीतको क्षेत्रमा आफूलाई समर्पित गर्नुभएको उहाँले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ । स्कुल पढ्दादेखि नै गीत गाउन रुची राख्ने सनम पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमै ख्याती कमाउन सफल हुनुभएको छ । दर्जानौं गीत निकालेर दर्शकहरूको मन मनमा बस्न सफल हुनुभएकी सनम अहिले भने फरक भूमिकामा देखिएनुभएको हो ।

सञ्चारकर्मीका रूपमा समेत लामो अनुुभव सम्हाल्दै कलाकारिता क्षेत्रमा उदाउनुभएकी सनम अहिले एकाएक खुला राजनीतिक क्षेत्रमा होमिनुभएको छ । त्यसो त उहाँले २०६६ देखि नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गरेपनि त्यति चर्चामा रहनुभएन । आन्तरिक रूपमै संगठन निर्माणमा लाग्नुभएको उहाँ अहिले भने प्रत्यक्ष रुपमा राजनीतिमा देखिनुभएको हो ।

१५ वर्ष एमालेमा रहेर काम गरिसक्नुभएको उहाँ अहिले एमाले विभाजनपछि भने नेकपा एकीकृत समाजवादीमा हुनुहन्छ । उहाँ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फबाट उम्मेदवार बन्नुभएको छ । कलाकार र उत्पीडनमा परेका नागरिकहरूको उत्थानका लागि नेतृत्व तहमा पुग्न अहिले उहाँ चुनावी मैदानमा उत्रिनुभएको हो ।

दर्जानौं गीत निकालेर दर्शकहरूको मनमनमा बस्न सफल हुनुभएकी सनम अहिले फरक भूमिकामा देखिएनुभएको हो । सञ्चारकर्मीका रूपमा समेत लामो अनुुभव सम्हाल्दै कलाकारिता क्षेत्रमा उदाउनुभएकी सनम अहिले खुला राजनीतिक क्षेत्रमा होमिनुभएको हो ।

अर्घाखाँचीबाट २०६३/०६४ मा बुटवल झर्नुभएकी उहाँले त्यहीबाटै सञ्चारकर्म सुरु गर्नुभएको थियो । पाल्पाको मुक्तिनाथ एफएमबाट सञ्चारकर्म सुरु गर्नुभएकी सनमले बुटवलमा रहेका जागरण मिडिया र बुद्ध टेलिभिजनमा समेत काम गर्नुभयो । उहाँले बुटवलमा रहेर ६ वर्ष सञ्चारकर्मी भएर काम गर्नुभयो । सानै उमेरमा लोक गीतमा रुचि राख्ने सनम सञ्चारकर्ममै रहँदादेखि नै गीत रेकर्डिङ गरिसक्नुभएको थियो । उहाँको पहिलो तीज गीत अत्याधिक चर्चित बनेपछि उहाँलाई थप गीत निकाल्ने हुट्हुटी जाग्यो । तत्कालीन समयमा गीत रेकर्ड गर्न काठमाडौं जानुपथ्यो । उहाँलाई काठमाडौं आउ-जाउ गर्न निकै कठिन भएपछि २०६६ वैशाख १४ गते काठमाडौं प्रवेश गर्नुभयो । त्यहाँ रहेर अध्ययनसँगै लोक संगीत क्षेत्रलाई सनमले सँगसँगै अगाडि बढाउनुभयो । उहाँले आफ्नै गीत रेकर्डिङ स्टुडियोसमेत खोल्नुभएको छ । तीन हजारभन्दा बढी गीतहरू उहाँको स्टुडियोबाट रेकर्डिङ भइसकेका छन् । सनम संगीत क्षेत्रमा मात्र होइन राजनीतिक क्षेत्रमा समेत उत्तिकै सक्रिय बन्न थाल्नुभयो । २०६६ मा नेकपा एमालेको पार्टी सदस्यता लिनुभएकी सनम पार्टीमा विभिन्न तह र तप्कामा रहेर नेतृत्वदायी भूमिकासमेत खेलिसक्नुभएको छ ।

२०६६ देखि २०७१ सम्म अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चको सदस्य रहनुुभएकी उहाँ अहिले उपत्यका जिल्ला विशेष समितिको उपाध्यक्ष, केन्द्रीय परिषद्को सदस्य र लोकदोहोरी प्रतिष्ठानको उपत्यका समन्वय समितिको वरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ । अहिले उहाँ समाजवादीबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बन्नुभएको हो । ‘समाज र राष्ट्र परिवर्तनका लागि थुप्रै गीतहरू गाइयो तर समाज र देश परिवर्तन हुन सकेन, अझै पनि दुरदराजका जनताको अवस्था उस्तै छ, व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन हुन नसकेपछि म सक्रिय राजनीतिमा आएकी हुँ’, सनमले भन्नुभयो । उहाँले आफू नेतृत्व तहमा पुगेर समाज र राष्ट्र समृद्धका लागि केही गर्ने अठोटका साथ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको जिकिर गर्नुभयो ।

सञ्चारकर्मी, कलाकारिता अनि सामाजिक सेवाको बाटो हुँदै खुला राजनीतिक मूलधारमा प्रवेश गर्नुभएकी सनमले उत्पीडनमा परेका श्रमिक वर्ग र कलाकारको हितमा काम गर्ने बताउनुभयो । सनमले भन्नुभयो, ‘म निर्वाचित भएपछि कम्तीमा श्रमिक वर्गहरूलाई दैनिक एक हजार कमाउन सक्ने वातावरण सिर्जना गरी विदेश जानबाट रोक्ने भिजन मसँग छ, त्यो गर्नेछु ।’ हजारौं युवाहरू खाडी मुलुकमा पसिना बगाउन बाध्य भएको भन्दै सनमले ती युवाहरूलाई स्वदेशमै रोजगार सिर्जना गर्ने आफ्नो मुख्य उद्देश्य रहेकाले त्यो अवस्थामा पुर्‍याउन एक पटक आफूलाई मतदान गर्न आममतदातालाई आग्रह गर्नुभयो । उहाँले कलकारको राष्ट्रिय पहिचान नभएकोमा दुःख व्यक्त गर्दै आफू निर्वाचित भएपछि कलाकारको पहिचान र सुरक्षाका लागि पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । सनमले भन्नुभयो, ‘चलचित्रको चलचित्र बोर्ड छ तर लोकदोहीको कुनै पहिचान नै छैन् । त्यसका लागि म संसद्मा पुगेपछि पहल गर्छु ।’ उहाँले कलाकारको सम्मानका लागि ५० वर्ष उमेर पुगेपछि पाँच हजार भत्ताको व्यवस्था मिलाउन पहल गर्नेसमेत सुनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?