राष्ट्रपति भण्डारीलाई ‘डब्ल्युपिएल ट्रेलब्लेजर अवार्ड’ प्रदान

‘नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छ’

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइसल्याण्डको रेक्जाभिकमा ‘डब्ल्युपिएल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ । उहाँलाई रोक्जाभिक ग्लोबल फोरममा वुमन पोलिटिकल लिडर्सकी अध्यक्ष तथा संस्थापक र युरोपेली संसद्की पूर्वउपाध्यक्ष सिल्भाना–कोच मेहरिनले उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

अवार्ड प्रदान कार्यक्रममा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन ज्याकोब्सडटिर र आइसल्याण्डका पूर्वराष्ट्रपति भिग्डिस फिनबोगाडोटिरको पनि उपस्थित थियो । राष्ट्रपति भण्डारीले आफूले प्राप्त गरेको उक्त अवार्ड लैंगिक सशक्तिकरण र समावेशीकरणकालाई नेपालले अहिलेसम्म हासिल गरेका उपलब्धिहरूका लागि योगदान पुर्‍याएका नेपाली महिलाहरूमा समर्पित गर्नुभएको छ । अवार्ड ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले लैंगिक सशक्तिकरणमा नेपालको प्रगति र प्रतिबद्धता र यस क्षेत्रमा थप प्रगति गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

जलवायु परिवर्तनको कारण लाखौँ मानिसहरूको जीवन जोखिममा
राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको कारण लाखौँ मानिसहरूको जीवन जोखिममा परेकाले त्यसको प्रभाव न्यूनीकरणमा सबैले पहल गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भएको छ । आइसल्याण्डमा आयोजित विश्वका महिला राजनीतिज्ञहरूको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’को कार्यक्रममा बोल्दै उहाँले जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्यूनीकरणका लागि स्रोत, साधन, प्रविधि हस्तान्तरण तथा क्षमता अभिवृद्धिका लागि छरितो तथा पारदर्शी संयन्त्र निर्माण गर्न पनि विश्व समुदायलाई आह्वान गर्नुभयो । नेपालको हरित गृह ग्यास उत्सर्जनमा कुनै पनि भूमिका नरहे तापनि जलवायु परिवर्तनको असर भोग्नु परिरहेको भन्दै राष्ट्रपति भण्डारीले यसको प्रभाव न्यूनीकरणका लागि नेपालले उच्च प्रतिबद्धताका साथ काम गरिरहेको स्पष्ट पार्नुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहित सिद्धान्तहरूलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रबन्धहरूमा लगानी गरिरहेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले नेपालले संघीय र प्रादेशिक विधायिकाहरूमा एकतिहाइ महिलाहरूको प्रतिनिधिको सुनिश्चित गरेको तथा त्यसका लागि आवश्यक सुदृढ संवैधानिक व्यवस्था गरेको पनि स्मरण गराउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालमा निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरू जस्ता क्षेत्रमा महिलाहरूको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भइरहेको बताउनुभयो । सबै प्रकारका लैंगिक हिंसा, पूर्वाग्रह, तथा कूरीतिहरू विरुद्धको लडाइँ जित्न बाँकी नै रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपालले त्यसका लागि अटल र इमानदार प्रयासलाई जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गरेका छन् । राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा नेपाल र आइसल्याण्ड बीचको सम्बन्ध, लैंगिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको थियो ।

यस्तै, राष्ट्रपति भण्डारीसमक्ष ‘वुमन पोलिटिकल लिडर्स’का संस्थापक तथा युरोपेली संसद्का पूर्वउपाध्यक्ष सिल्भाना कोक-मेहरिन तथा विश्व महिला नेतृत्व परिषद्का महासचिव लाउरा लिजउड र युएन वुमनका कार्यकारी निर्देशक सीमा बाहोसले पनि शिष्टाचार भेट गर्नुभएको थियो । सम्मेलनका क्रमममा नै राष्ट्रपति भण्डारीसँग आइसल्याण्डबाट सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने पर्वतारोही महिलाहरूले भेट गरेका थिए । यसैगरी, आइसल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभएको उहाँका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?