फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिका अहम् : राष्ट्रपति भण्डारी

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरू समेत रहनुभएका राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको भूमिका अहम् रहेको बताउनुभएको छ ।

१३८औं फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा उहाँले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको हो ।

उहाँको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाउने गरिन्छ । ‘उहाँले देखाउनु भएको बाटोमा हिड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्‍वास मैले लिएको छु,’ भण्डारीले भन्नुभएको छ ।

भण्डारीले अगाडि भन्नुभएको छ, ‘महागुरु फाल्गुनन्द धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा उहाँले समाजमा विद्यमान अनेक विकृति र विसङ्गतिलाई हटाउन समेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । सामाजिक रूढीवादको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देश अनुशरणीय रहेको छ । उहाँले अपनाउनु भएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ भन्ने मैले विश्वास लिएको छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?