मतदान पुरानो पुस्तालाई कि नयाँ लाई !

Read Time = 18 mins

✍️ शम्भु कोइराला
नमागिएको सल्लाह :
संघ र प्रदेशको निर्वाचन नेपाली मतदाताको घरदैलोमा नै आइपुगेको छ । नेपाली मतदातामा यो चुनावप्रति खासै उत्साह देखिएको छैन । तर, लोकतान्त्रिक प्रणालीको विकल्प नभएको कारण सबै क्षेत्रले निराशाका कुरा गरेर चुनावप्रति वितृष्णा जगाएर यसभन्दा खराब प्रणालीका लागि बाटो अनुकूल बन्ला भनेर सबै पक्ष आत्म अनुशासनमा बस्नुपर्ने अवस्था रहेको छ । यो निर्वाचन असक्षमहरूलाई पराजित गरेर सक्षम र असल प्रतिनिधि चयन गर्ने अवसर पनि हो । यो अवसरलाई नेपाली मतदाताले के कसरी उपयोग गर्छन् भन्ने हो ।

विकल्पको कुरा गर्दा यो चुनावमा पहिलेका चुनावमा भन्दा बढी विकल्प भएको अवस्था छ । गत स्थानीय चुनावमा काठमाडौं महानगरलगायत केही क्षेत्रमा स्वतन्त्र उम्मेदवारलाई मतदान गरेर मतदाताले फरक ढंगले काम गर्ने युवा नेतृत्वको खाँचो रहेको संकेत गरिसकेका छन् । यो चुनावमा पनि स्वतन्त्रको संख्या धेरै भएका कारण र ठूला पार्टीभित्रै पनि युवानेताहरूले नेतृत्वमा दाबी गर्ने संकेत गरेर परिवर्तनको छनक दिइसकेका छन् । एमाले नेता ओलीले उनको आदेश नमान्ने सबैजसोलाई पाखा लगाइसकेको भए तापनि नेपाली कांग्रेसभित्र भने गगन-विश्वप्रकाशहरूले गतिहीन संस्थापन पक्षलाई राम्रै गरी चुनौती दिइरहेका छन् । यद्यपि यो चुनौतीका पछाडि धेरै जोखिम रहेको अवस्था छ ।

विगत पाँच वर्षभित्र भएका काम गराइ र नियुक्तिहरूलाई हेर्दा ठूला भनिएका पार्टीहरूले जनतामा पुनः मत माग्न जाँदा लज्जाबोध गर्नुपर्ने अवस्था हो । तथापि यस अवस्थामा पनि पार्टीहरू आफ्नो निहित स्वार्थ पूर्ति गर्न टसमस नहुने कार्यले राम्रो संकेत गरिरहेको छैन ।

नेपाली कांग्रेसलगायत सबैजसो मुख्य दलहरूमा नेतृत्व परिवर्तन गर्ने स्थापित प्रणाली छैन । पैसा, पद र अवसरका लागि जे पनि गर्न तयार बन्ने हाम्रो समाजमा पार्टी कब्जा गरेर सामन्ती शैलीमा कसेको संस्थापनसँग पार्टीगत बहस गर्न पनि तलका नेताहरूले डराउनुपर्ने अवस्था छ । गएको नेपाली कांग्रेसको चौधौं महाधिवेशनले संस्थापनले नचाहेका युवानेताहरू गगन र विश्वप्रकाशलगायतलाई विजयी बनाएपछि सामन्ती शैलीको संस्थापन अनिच्छापूर्वक नै भए पनि पछिल्लो पुस्ताका महामन्त्रीद्वयलाई पार्टीसत्ता बाँडफाँट गर्न थोरै भए पनि बाध्य भएको छ । तर, पार्टीभित्र पार्टीसभापतिको खातिरदारी गरेर लाभ लिइरहेको समूह, गगन-विश्वप्रकाशको समय भएको छैन भनेर बुढो नेतृत्वलाई आफ्नो कब्जामा राखेर पार्टीको सामन्तीकरण गर्न तल्लीन भएर लागेको छ । यसको नेतृत्व पार्टी सभापति पत्नी आरजुले नै गरिरहेकी छन् भन्नेमा द्विविधा छैन ।

हेलिकोप्टर ल्याउन नसक्नेलाई भोट नदिनु, हामीले जित्यौँ भने केही पाएका सिटहरूमा वैदेशिक रोजगारमा पठाउन सकिन्छ भन्ने जस्ता भनाइहरू पार्टीभित्र संस्कारहीनता र सामन्तवाद हावी भएको स्पष्ट उदाहरण हो । पार्टीभित्र सामन्तवाद र परिवारवाद हावी भएको विषय त पार्टी र सरकारभित्र भएका नियुक्तिहरूलाई नियाल्दा पनि स्पष्ट हुन्छ । विगत पाँच वर्षभित्र भएका काम गराइ र नियुक्तिलाई हेर्दा ठूला भनिएका पार्टीहरूले जनतामा पुनः मत माग्न जाँदा लज्जाबोध गर्नुपर्ने अवस्था हो । तथापि लज्जा नै लजाउने अवस्थामा पनि पार्टीहरू आफ्नो निहित स्वार्थ पूर्ति गर्न टसमस नहुने कार्यले राम्रो संकेत गरिरहेको छैन ।

आफ्नो सावाँ ब्याज उठाउन पाउनुपर्छ भन्ने पुरानो पुस्ता :
२००७ सालपछिका आन्दोलनमा सहभागी भएको पुस्ताका सीमित व्यक्तिहरू ती आन्दोलनमा सहभागी भएबापत र नेतृत्व गरेबापत आर्यघाट नपुगेसम्म आफैँले अवसर पाउनुपर्ने ठान्दछन् । परम्धाम भएपछि पनि आफ्नै शाखा सन्तानको हालिमुहाली रहोस् भन्ने चाहना राख्दछ । यो पुस्तामा न त मुलुक बनाउने कुनै दूरदृष्टि छ न त गर्नुपर्छ भन्ने इच्छाशक्ति र गर्न सकिन्छ भन्ने दृढविश्वास । यो पुस्ताका समर्पणभाव भएका नेताहरू पनि सत्ताराजनीतिमा असफल भएर ब्रहृमलीन भइसकेका छन् भने कतिपय राजनीतिबाट किनारा लागिसकेका छन् । अहिलेका सत्ता कब्जा गरेकाहरू उनीहरूलाई सम्झनु पनि नपरेजस्तो भाव राख्दछन् । जीवित कोही कसैलाई कतै भेट भयो भने खिसिटिउरीको भाव राख्दछन् ।

अहिलेको परिदृश्यमा देखिएका नेपाली कांग्रेस, एमालेका प्रमुख नेताहरूको सोच सत्तादेखि सत्तासम्मको मात्र हो । मुलुकको अवस्था परिवर्तन र जनताको दैनिकी सहज बनाउने होइन । यति वर्ष जेल बसेको, शारीरिक प्रताडना सहेको, राजनीतिमा लागेर दुःख पाएको भन्ने जस्ता योग्यतालाई भजाएर पार्टी सत्ता र राज्यसत्तामा कब्जा जमाएर बसेको अहिलेको नेतृत्व मौका पर्‍यो कि मलाई अवसर पुगेन भनेर गनगन गर्न पछि पर्दैन । अहिलेका नेताहरूको अवस्था र सोचाइ हेर्दा उनीहरूले भन्ने गरेको जेलनेल र यातना जनताको गरिबी निवारणका लागि नभएर उनीहरूकै गरिबी निवारणका लागि पो थियो कि ? भनेर जनताले नै प्रश्न गर्न थालेका छन् ।

अब पुरानो पुस्ता होइन नयाँ पुस्ता :
किन पुस्तान्तरण ? यो प्रश्न कुनै पनि किसिमको आग्रह राखेर उठाइएको होइन । विसं २०४६ को साढे तीन दशकको समय मुलुकको कायापलट गर्ने अवसर थियो । हाम्रो वरिपरिका छिमेकीहरू विश्वकै आर्थिक शक्ति बनिसकेका छन् । उत्तर छिमेकी चीन नागरिक स्वतन्त्रताको मूल्यमै भए पनि संयुक्त राज्य अमेरिकालाई टक्कर दिने महाशक्ति बनिसकेको छ । त्यहाँका जनताको गरिबी निवारणमा उल्लेख्य प्रगति भइसकेको छ । दक्षिण छिमेकी भारतको अर्थतन्त्र विश्वकै ठूलो अर्थतन्त्र बनिसकेको छ । भुटानका जनताको जीवनस्तरमा उल्लेख्य सुधार भएको छ । भुटानको प्रतिव्यक्ति आय सन् २०२२ मा ३५ सय अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

पछिल्ला दिनहरूमा बंगलादेशले पनि प्रगतिको लय समातेको छ । श्रीलंकामा पछिल्लो नेतृत्व राजापाक्षे दाजुभाइको मनमौजीको कारण मुलुक टाट पल्टेको छ । तर, सही नेतृत्व आएर छिमेकीहरू र विश्वशक्तिराष्ट्रसँग सन्तुलित सम्बन्ध बनाएर अघि बढेको अवस्थामा त्यहाँका बनेका पूर्वाधार र जनताको चेतनाको स्तरका कारण लयमा फर्कन खासै कठिन छैन । असल नेतृत्वका कारण सिंगापुर विकासको नमुना बनिसकेको छ भने थाइल्याण्ड, मलेशिया, इण्डोनेशियाको प्रगति पनि सन्तोषजनक छ ।

प्राकृतिक स्रोतसाधनको कुरा गर्दा दुनियाँको विरलै देशमा पाइने अनुकूल मौसम, प्राकृतिक विविधता हाम्रो देशमा रहेको छ । विश्वका हेर्नै पर्ने दश गन्तव्यमा नेपाल पनि पर्नेगरेको छ । पर्यटनको अपार सम्भावना हाम्रो देशमा रहेको छ । पहाडै पहाडको हाम्रो देशका हरेक डाँडाहरू पर्यटकीय स्थल बन्न सक्दछन् । एकै दिनमा फरक-फरक प्राकृतिक वातावरणको रमाइलो अनुभव गर्न सकिन्छ । कृषिमा आधुनिक प्रविधिको प्रयोग गरेर खेती गर्ने हो भने हामी खाद्यान्नमा आत्मनिर्भर बनेर निर्यात गर्न सक्दछौँ ।

विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने प्रचुर सम्भावना रहेको छ । विद्युत् निर्यातमा भारतीय रवैया त्यति सहयोगी रहेको छैन । तथापि सही र भरपर्दो नेतृत्व आएको अवस्थामा भारतसँग सन्तुलित सम्बन्ध विकसित गर्न सकेको अवस्थामा र उसका पूरा गर्न सकिने चासो सम्बोधन गरेको अवस्थामा भारतले विनाशर्त विद्युत् खरिद गर्ने अवस्थालाई इन्कार गर्न सकिँदैन ।

भारतमा ऊर्जाको अभाव छ । भारतलाई मात्र होइन विश्वव्यापी रूपमा नै ऊर्जा अभाव छ । भारत अनुकूल भएको अवस्थामा बंगलादेशजस्ता छिमेकी देशमा पनि विद्युत् निर्यात गर्ने सम्भावना रहेको छ । सम्भावनामात्र होइन । प्रक्रिया नै अगाडि बढेको अवस्था छ । खालि नेपालमा भरपर्दो नेतृत्वको खाँचो छ । भारतीय नेताहरू र त्यहाँको कर्मचारीतन्त्र नेपाली नेताहरू, मुलुकको विकास र सामूहिक स्वार्थ, देशको भविष्यमा भन्दा आफ्नो भविष्यबारे चिन्तित छन् भन्ने विश्वास गर्दछन् । भारतीय पक्षसँग भेटघाट हुँदा गरिने समर्पणवादी र कमजोर प्रस्तुतिका कारण भारतीय पक्षले यस्तो धारणा बनाएको हो । अहिलेको नेतृत्वमा देखिएका नेपाली नेताहरूको आँत भेउ पाइसकेको भारतीय पक्ष अहिलेको नेतृत्वसँग गम्भीर रूपमा प्रस्तुत हुने सम्भावना कम छ । यस्तै सन्दर्भ चिनियाँ पक्षमा पनि लागू हुन्छ । नेपाली नेताहरूको व्यक्तिकेन्द्रित सोच र कमजोर व्यक्तित्वका कारण नेपालको विकासमा बाधा परिरहेको छ । यसैकारण पनि राजनीतिमा पुस्तान्तरण अनिवार्य बनिसकेको छ ।

नयाँ पुस्ताबाट देखिएको सम्भावना :
यो आलेखमा गगन थापा व्यक्तिको बारेमा मात्र कुरा गर्न खोजिएको होइन । यो पुस्ताको कुरा गर्न खोजिएको हो । अरूको नाम नलिई गगनको नाम लिएर नै पुस्ता परिवर्तनको प्रसंग किन आयो भन्ने प्रश्न पनि उठ्न सक्दछ । नेपाली राजनीतिमा पुस्तान्तरण अनिवार्य भइसकेकोमा धेरैको सहमति रहेको छ । अब पुस्तान्तरण कसरी गर्ने ? परिणाम दिन नसक्ने र सत्तामात्र आलोपालो ओगट्ने पुस्तालाई कसरी विस्थापित गर्ने भन्ने सम्बन्धमा सम्भावित परिदृश्यबारे चर्चा गरौँ । पहिलो विकल्प भनेको पार्टी पद्धतिबाट ठूला पार्टीको युवापुस्ता वा पछिल्लो पुस्ता उपयुक्त विकल्प हो । पार्टीको देशव्यापी संगठन, उक्त संगठनका कारण संसद्मा बहुमत प्रतिनिधि जिताउन सक्ने सम्भावनाको कारण यो राम्रो विकल्प हो ।

अहिलेको हाम्रो राजनीतिक परिपाटीमा एक व्यक्तिलाई जिताएर परिवर्तन सम्भव छैन । त्यसकारण पनि पार्टीभित्रकै तल्लो पुस्ताका नेताहरू विकल्प हुन् । दोस्रो विकल्प भनेको चर्चा गर्ने गरिएको वैकल्पिक राजनीतिक शक्ति हो । विवेकशील पार्टीले सुरु गरेको वैकल्पिक शक्तिको विषय विवेकशील साझा हुँदै विघटनको संघारमा पुगिसकेको छ । वैकल्पिक शक्तिका कल्पनाकार नै राजालाई नेता मान्ने र राजनीतिलाई धर्मसँग जोडेर फाइदा लिने शक्तिको शरणमा पुगेका छन् ।

अहिलेको हाम्रो राजनीतिक परिपाटीमा एक व्यक्तिलाई जिताएर परिवर्तन सम्भव छैन । त्यसकारण पनि पार्टीभित्रकै तल्लो पुस्ताका नेताहरू विकल्प हुन् । दोस्रो विकल्प भनेको चर्चा गर्ने गरिएको वैकल्पिक राजनीतिक शक्ति हो ।

पत्रकार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी जनताको कठघरामा उभिएको छ । अबको केही समयमै यस्को परीक्षण हुनेछ । तर, यस पार्टीले जित्ने केही सिटको कारण देशको राजनीतिमा ठूलो परिवर्तन आउने होइन । संसद्मा आवाज घन्काउनसम्म नयाँ पार्टीका प्रतिनिधिहरू सफल हुनेछन् । अन्य स्वतन्त्रले केही सीमित संख्यामा जितेर खासै परिवर्तन हुनेछैन । यीबाहेक अरू कसैका परिवर्तन गर्छु भन्ने आवाज पनि मुलुक रूपान्तरणका लागि कामयाव हुने छैनन् ।

एमाले, माओवादी केन्द्रलगायत मूलधारका पार्टीहरूभित्र कसैले मूल नेतृत्वलाई चुनौती दिने हिम्मतसम्म गर्न सकेको अवस्था छैन । एमालेभित्र ओलीका अनगिन्ती गल्तीहरूलाई गल्ती भयोभन्दा नै कारबाहीको भागीदार हुने अवस्था छ । माथिको सन्दर्भलाई आत्मसात गर्दा मंसिर ४ को चुनावबाट बन्ने ठूलो शक्ति नेपाली कांग्रेस हो भन्नलाई हतारो गरियो नभनियोस् । चुनावी माहौलमा ठूलै परिवर्तन भएन भने दोस्रो शक्तिसँग राम्रै मतान्तरले कांग्रेस अगाडि हुने संकेत देखिँदैछ ।

गगन-विश्वप्रकाश लगायतको पुस्ताले नेतृत्वलाई चुनौती पनि दिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी प्रचारको सिलसिलामा संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न पहिले प्रतिनिधिसभाको चुनाव जित्नुपर्ने बताइसकेका छन् । क्षमता, सोच, उमेरका हिसाबले पनि गगन-विश्वप्रकाशहरू अब्बल देखिएका छन् । यो सबै सन्दर्भ केलाउँदा अबको पुस्तान्तरणको सर्वोत्तम विकल्प भनेको नयाँ पुस्तालाई देशभरबाट विजयी बनाउनु हो । अकर्मण्य र आत्मकेन्द्रित पुरानो पुस्ताले मुलुकलाई झन् खोक्रो बनाउने निश्चित छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?