अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई व्यक्ति पक्राउ

रासस
Read Time = 2 mins

काठमाडौँ । अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमारलाई पनि पक्राउ गरिएको छ ।

यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।

यसैबीच ब्यूरोले ग्रिन टीको नाममा नियन्त्रित लागुऔषध खात कारोबार गर्ने दुई जनालाई पनि पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धादिङका रामकुमार श्रेष्ठ र ललितपुरका कविराज खड्का रहेका छन् । उनीहरुको साथबाट चार सय ४० किलो खात, एउटा बोलेरो गाडी र डिजिटल तौल मेसिनसमेत बरामद गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?