राप्रपा सत्तामा आएपछि भ्रष्टाचारीहरुमाथि डोजर चलाउँछौं : अध्यक्ष लिङदेन

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरु माथि डोजर चलाउने इच्छा रहेको बताउनु भयो ।

उहाँले एक नागरिक आयोग गठन गरी वि.सं.२०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्चपदस्थहरुको सम्पती छानबिन गरी अवैध सम्पती जफत गर्ने बताउनु भयो । अध्यक्ष लिङदेनले भ्रष्टाचारको बिरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गर्नुभयो ।

उहाँले आफू संसदमा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह गर्नुभयो । आफूले पाँच वर्ष संसदमा खेलेको भुमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारहरुलाई पनि जिताउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘बालेनले काठमाडौंको अवैध संरचनाहरुमाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारिहरुमाथि डोजर चलाउने इच्छा छ । हामीले निरन्तर भनेर आएका छौँ, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्छौं भनेर । फागुनसम्म अस्तिका सबै सांसदहरुले तलवभत्ता पाइराख्ने दशैँ पेस्की पाइराख्ने विधेयक ल्याए । एउटा राजेन्द्र लिङदेन मैले भने अनुचित मात्रै होइन घोर अनैतिक काम भयो । यो भन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन । म आज संसदमा एक्लै छु मैले तपाईहरुलाई रोक्न सक्दिनँ । तर मलाई यो भत्ता, तलव खाने मन छैन । आजबाट यो सांसद पद पनि मैले त्यागे । आजबाट मेरो नाममा कुनै प्रकारको तलव, भत्ता नहाल्दिनु । मैले तपाईहरुलाई एक्लो भएकाले रोक्न सक्दिनँ । चुनाव आउँदैछ । म जनताको बीचमा गएर आगामी दिनमा यस प्रकारका अनुचित, अनैतिक र देश बिरोधी क्रियाकलापहरु रोक्नसक्ने तागतका साथ साथीहरु लिएर आउँछु भनेर हिडेको छु । फिर्ता लिएछन् पछि । राज्यकोषको २ अर्ब पैसा बच्यो भनेर पत्रकार साथीहरुले भनिराख्नुभएको छ । आज म देशभर आम मतदातासँग यही कुरा भन्न आएको छु यो संसदमा मलाई साथीहरु चाहियो । म एक्लै भएँ । म साथी माग्न आएको छु । तपाईहरुले मलाई पाँच वर्ष हेर्नुभयो । मैले पाँच वर्ष गरेको काम, त्यहाँ मैले उठाएको आवाजहरु तपाईलाई ठिक लागेको छ कि छैन ? मैले ठिक गरेको छु भन्ने तपाईले ठान्नुभएको छ भने मैले देशलाई भनिराखेको छु, म एक्लो भएँ । म साथीहरु मागिरहेको छु साथीहरु दिनुस् ।’

अध्यक्ष लिङदेनले पुराना दलहरुलाई फेरीपनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गर्नुभयो । उहाँले काँग्रेस र कम्युनिष्ट मतदाताहरुलाई आफ्नो पार्टी नछाडेपनि मत भने राप्रपालाई दिनका लागि आग्रह गर्नुभयो । उहाँले काठमाडौं र धरानको स्थानीय तहको मत परिणामजस्तै गरी राप्रपाको पक्षमा परिणाम आउनुपर्ने बताउनु भयो । उहाँले बाकस खोल्दामात्रै थाहा हुनेगरी हलो चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कतिचोटी तपाईले उसलाई भोट दियो भने, कति वर्ष मौका दियो भने यो देश बन्छ ? बन्नेवाला छैन । गर्नेवाला छैन भन्ने कुरा तपाईहरुलाई थाहा छ, थाहा पाइ पाइकन देशको भविष्य, देशको समय बर्बाद गर्ने काममा सहभागि नहुनुहोस् । सक्नुहुन्छ, सोझै राप्रपामा आउनुहोस् । राप्रपामा अहिले आउन सक्नुहुन्न, कोही बात छैन । काँग्रेस, कम्युनिष्ट नै भइराख्नुस् । तर यो चोटी हलोमा भोट हाल्नुस् । धरान र काठमाडौं नेपालको राजनीतिमा एक कदम अगाडी बढिसकेको छ । यहाँको चेतनास्तर उठेको छ भन्ने देखिएको छ । नेताहरु, ठूला पार्टीहरु हामीबाहेक यहाँ कसले जित्छ भन्दैथिए । तर जब बाकस खोलियो, जनताको अभिमत के रहेछ भन्नेकुरा देखियो । योचोटी राप्रपाको पक्षमा त्यही परिणाम आउनुपर्छ । बाकस खोल्दामात्रै थाहा पाउनेगरी यो चोटी हलोमा मतदान गरिदिनुस् ।’

उहाँले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेकाले व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने बताउनु भयो । ठूला राजनीतिक दलहरुको विकल्पको रुपमा राप्रपा रहेको उहाँको भनाई छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?