मतदातालाई रेखा थापाको प्रश्न- छोरा नातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने ?

हिमालय टाइम्स
Read Time = 4 mins

बेलबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाले ’पार्टी बचाउन कहिलेसम्म छोरा नातिलाई खाडी पठाउने’ भन्दै मतदातालाई प्रश्न गर्नुभएको छ ।

शुक्रवार थापाले घरदैलो कार्यक्रमको २५ औँ दिन बेलबारी २ पुगेर यस्तो प्रश्न गर्नुभएको हो । उहाँले भन्नुभयो, ’पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सति जानुहुन्छ रु आफ्नो घर बिग्रेको थाहा छैन, छोरा नातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो । आफ्नो सन्तान बचाउन नसक्ने तपाइको महान् पार्टी कहिलेसम्म जोगाइदिने रु कस्कोलागी जोगाइदिने ? अब पनि बुझ्नुभएन भने के राजनीति गर्नुहुन्छ ?’

थापाले युवा पुस्तालाई नेताको पछाडि नदौडिन आग्रह गर्नुभयो। भ्रष्ट नियत भएका नेताको पछि दौडिएर युवा पुस्ताले आफ्नो समय बर्बाद गर्न नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘म मेरा दाजुभाइहरूलाई अनुरोध गर्छु । कुनै नेताको पछाडि जिन्दाबाद र मुर्दावाद भन्दै नदौडिनुहोला । आज जुन नेताको पछि दौडनु हुन्छ त्यी नेता ठाउँमा पुग्लान् तर चुनाव सकिएको २÷४ दिन पनि बित्न नपाउँदै मेरा दाजुभाइ कुन खाडी मुलुक पुग्ने हो थाह छैन ।’

उहाँले युवाहरूलाई केही काम नभए घरमा आमा श्रीमतीलाई काम सघाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘काम सघाउँदा बरु आमा त खुसी हुन्छिन् । त्यो तपाइको मत किनेर गएको नेताले जितेको भोलिपल्ट तपाईँलाई चिन्दैन । के को लागि हिँड्ने जिन्दाबाद, जिन्दाबाद गर्दै ?’

थापाले आफू नेता बन्नको लागि राजनीतिमा नलागेको जिकीर गर्नुभयो । जनताले अनुमोदन गरे जनप्रतिनिधिको परिभाषा ५ वर्षमा परिवर्तन गरेर देखाउने बताउनु भयो । उहाँले भन्नुभयो ‘जनता र जनप्रतिनिधिबीचको खाडल भर्न आएकी हुँ । ५ वर्षमा मैले गरेको काम देखेर चित्त बुझ्यो भने त्यो बेला मलाई नेता मान्नु । अहिले म नितान्त तपाईँहरूको सेवक बन्न आएकी हुँ । ममाथि मत लगानी गरेर मलाई सेवा गर्ने अनुमति दिनुहोस् भन्न आएको हुँ ।’

नेपाली जनताले धेरै पटक पार्टी जोगाएको र अब परिवर्तनका लागि युवा पुस्ताको जोस–जाँगर जोगाउनेमा आफू विश्वस्त रहेको थापाले बताउनु भयो ।
उहाँले मोरङ ३ परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी समेत गर्नुभयो । थापालाई महिला, नयाँ मतदाता र सुकुम्वासीहरूको बलियो साथ रहेको छ । उहाँले आफूलाई यस क्षेत्रमा विकल्पको रूपमा प्रस्तुत गर्न सफल भएकाले थापाको सम्भावना बढ्दै गरेको पाउन सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?