काठमाडौं । त्रिभुवन आर्मीले क्लबले पाँचांैपटक प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । नेपाल पुलिस क्लबमाथि तीन विकेटको जित निकाल्दै आर्मी फाइनलमा पुगेको हो । रोमाञ्चक बनेको सेमिफाइनलमा अन्तिम दुई बलमा दुई चाहिँएको बेला आर्मीका राजेश पुलामी मगरले छक्का प्रहार गर्दै जित दिलाउनुभयो । जितका लागि ३०५ रनको विशाल विजयी लक्ष्य पछ्याएका आर्मीले ४९.५ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
आर्मीका युवा ब्याटर रोहित पौडेलले ८७ बलमा नौ चौकासहित सर्वाधिक ८९ रन बनाउनुभयो । रोहित तीव्र गतिका बलर राशिद खानको बलमा मिड विकेटमा करण केसीबाट सहज क्याच आउट हुन पुगेपछि घरेलु क्रिकेटमा पहिलो शतक हान्न ११ रनले चुक्नुभएको थियो । यस्तै, ओपनर हरि चौहान ९२ बलमा आठ चौका र एक छक्कासहित ७५ रन बनाउनुभयो । तेस्रो विकेटका लागि हरि चौहान र रोहित पौडेलले १३५ रनको शतकीय साझेदारी गर्नुभएको थियो ।
कप्तान विनोद भण्डारीलाई करण केसीले ३२ रनमा एलबीडब्लू आउट गर्नुभयो । विनोदले ३० बलमा तीन चौका र दुई छक्का प्रहार गर्नुभयो । तल्लोक्रमका विक्रम सोबले १८ बलमा तीन चौका र दुई छक्कासहित ३० रन बनाउनुभयो । राजेश पुलामी मगर ३७ बलमा तीन चौका र दुई छक्कासहित ४३ रनमा अविजित रहनुभयो । पुलिसका तीव्र गतिका बलर करण केसीले १० ओभरमा ५२ रन खर्चेर ६ विकेट लिनुभयो भने राशिद खान र ललितले एक-एक विकेट लिनुभयो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३०४ रन बनाएको थियो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले १२५ बलमा ११ चौका र पाँच छक्कासहित सर्वाधिक १४० रनको इनिङ खेल्नुभयो ।
योसँगै दीपेन्द्र प्रधानमन्त्री कपमा एकै प्रतियोगितामा दुई शतक हान्ने पहिलो खेलाडी बन्नुभयो । दीपेन्द्रले ४३औं ओभरको अन्तिम बलमा हरि चौहानलाई काउकर्नरमा चौका हान्दै १०७ बलमा शतक पूरा गर्नुभयो । यसअघि उहाँले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध ८२ बलमा ११ चौका र चार छक्कासहित १०८ रनको शतकीय इनिङ खेल्नुभएको थियो । चौथो विकेटका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले २०४ रनको दोहोरो शतकीय साझेदारी गर्नुभएको थियो । प्रधानमन्त्री कपमा यो दोस्रोपटक दोहोरो शतकीय साझेदारी हो ।
यसअघि प्रदीप ऐरी र सुवास खकुरेलले दोस्रो विकेटका लागि २०१८ मा मधेसविरुद्ध २३१ रनको शतकीय साझेदारी गर्नुभएको थियो । आरिफ शेख १०९ बलमा आठ चौका र दुई छक्कासहित ९१ रनमा अविजित रहनुभयो । ओपनर कुशल भुर्तेल ३२ बलमा पाँच चौका र एक छक्कासहित ३१, सुनिल धमला १३ र अमित श्रेष्ठ १० रनमा आउट हुनुभयो । आर्मीका विक्रम सोब १० ओभरमा ६६ रन खर्चेर तीन विकेट लिनुभयो । सुशन भारीले एक विकेट लिनुभयो । फाइनल खेल शनिबार हुनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका