मर्जर प्रक्रिया छ महिनाभित्र पूरा नगरे कारबाही

Read Time = 3 mins

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ । नयाँ निर्देशिकाअनुसार अबदेखि प्रारम्भिक सम्झौता गरेको मितिले छ महिनाभित्रै मर्जर प्रक्रिया सम्पन्न गरिसक्नुपर्नेछ । सो समयावधिभित्र गाभ्ने/गाभिने तथा प्राप्ति कार्य सम्पन्न नभएमा सम्बन्धित संगठित संस्थाको सञ्चालक समिति जवाफदेही हुनेछ ।
संस्थाको आन्तरिक कमजोरीका कारण लगानीकर्तालाई समस्या नहोस् भनेर नयाँ व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

आवश्यक काम समयमै गर्ने हो भने जुनसुकै क्षेत्रका संस्थाले मर्जर प्रक्रिया छ महिनाभित्रै सम्पन्न गर्न सक्ने भएकाले सञ्चालक समितिलाई नै त्यसको जवाफदेही बनाइएको बोर्डको भनाइ छ । तोकिएको समयमा मर्जर नगर्ने संस्था र सञ्चालकलाई कारबाही हुने पनि बोर्डले चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति प्रक्रिया सम्पन्न गर्न कम्तीमा आठ महिनाको समय दिँदै आएकोमा बोर्डले भने छ महिनाभित्रै मर्जर सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरेको हो ।

त्यसैगरी बोर्डले मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर रोक्का हुने व्यवस्था खारेज गरेको छ । अबदेखि मर्जर तथा प्राप्ति कार्यमा सहभागी हुने कम्पनीको आधारभूत सेयरबाहेक अन्य सेयर कारोबार एकीकृत कारोबार हुने समयमा मात्रै रोक्का हुनेछ । बोर्डले आधारभूत सेयरधनीबाहेकका सेयर एकीकृत कारोबार हुँदा अधिकतम् १५ दिनमात्रै रोक्का हुनेछ ।

बोर्डद्वारा जारी निर्देशिकाअनुसार यसअघि मर्जर तथा प्राप्तिकै कारण सेयर रोक्का रहेका कम्पनीको कारोबार फुकुवा गर्नुपर्नेछ । सम्बन्धित कम्पनीले आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको कारोबार फुकुवा गर्न आधारभूत सेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थामा निवेदन दिनुपर्नेछ । निवेदनका आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनीबाहेकको कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?