‘मदिरा होटेल’ सुरक्षाको लागि चुनौती बन्दै

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । दशगजा क्षेत्रमा खुलेका मदिरा पसलहरू सुरक्षाको लागि चुनौती बन्ने भएका छन् । देश अहिले चुनावी माहोलमा रंगिएको छ । चुनावी माहोल तातिएसँगै पार्टी पार्टी बीचको देश र कलह पनि बढ्छ । यस्तोमा छिमेकी मुलुकबाट आएकाहरूले मदिरा सेवन गरी कुनै पनि बेला कुनै अप्रिय घटना घटाउन सक्ने प्रबल सम्भावना हुन्छ । मदिरा खाएर कुनै पनि बेला कुनै अप्रिय घटना घट्न सक्ने सम्भावना भएकाले मदिरा होटेलहरू सुरक्षाका लागि चुनौती बन्ने सम्भावना देखिएको हो ।

बाराको सदरमुकाम कलैयादेखि १० किलोमिटर दक्षिणमा रहेको मटिअर्वा भन्सारनजिकै आधा दर्जनभन्दा बढी मदिरा पसल सञ्चालमा रहेको कलैया उपमहानगरपालिका-२० का नागरिक समाज बाराका सदस्य तथा अधिवक्ता एकरामुल हकले बताउनुभयो । महिला बालबालिका र ज्येष्ठ नागरिक समेतको सुरक्षामा मदिरा होटेलहरू गम्भीर चासो र चुनौतीको विषय बन्दै गएको छ । सरोकारवाला पक्षले मूकदर्शक भई बसिदिँदा दिनानुदिन मानसिक यातना सर्वसाधारणले भोगिरहेको उहाँले बताउनुभयो ।

कलैया उपमहानगरपालिका-१० मटिअर्वामा दिउँसै २ बजेदेखि नै भारतको विहार राज्यका मानिसहरू मदिरा सेवन गर्न दशगजानजिकै खोलिएका मदिरा होटेलहरूमा आउँछन्, उहाँले भन्नुभयो, ‘त्यति मात्र होइन सीमा सुरक्षाको जिम्मा पाएका सशस्त्र प्रहरीको मूलगेटमै मदिरा होटेल सञ्चालनमा रहेको छ । आउँदा जाँदा हरेक क्षण उनीहरू त्यही बाटो भएर आउने जाने गरेका छन् तर पनि त्यो होटेल लामो समयदेखि निर्वाध रूपमा सञ्चालनमा रहेको छ । दशगजादेखि ५० मिटरभन्दा कम दूरीमा सञ्चालनमा रहेका ती होटेलहरूलाई बन्द गराउन कुनै पहल गरिएको छैन । दशगजासँगै टाँसिएर खुलेका मदिरा होटेलहरूमा विशेष गरी भारतको विहार राज्यबाट मदिरा सेवन गर्न आउनेहरूको दिउँसोदेखि लर्को लागेको हुन्छ । उनीहरू निर्वाध रूपमा भारत बिहारबाट आउने, रक्सी खाने र होहल्ला गर्ने गर्दछन् । तर, प्रहरी प्रशासनले हेर्न र समय भयो अब पसल बन्द गर भन्नेबाहेक केही गर्न नसकेको गुनासो गर्नुभयो ।’

विगत लामो समयदेखि मटिअर्वा भन्सारनजिकै आफूले खाजा तथा मदिरा होटेल सञ्चालन गर्दै आएको सञ्जय होटेलका सञ्चालक सञ्जय साहले बताउनुभयो । ‘मेरो जस्तै दर्जनौँ खाजा तथा मदिरा होटेल यहाँ सञ्चालनमा रहेका छन्’, उहाँले भन्नुभयो, ‘मटिअर्वामा मात्र होइन बारा पर्सा र रौतहटका अधिकांश बोर्डरहरूमा यसरी नै दशगजानजिकै मदिरा होटेल सञ्चालन हुँदै आएको छ । हाम्रो एक दिनको काम होइन ।

दिनहुँ र वर्षैभरि होटेल सञ्चालन गर्दै आएको छौँ । तर, कोही कसैले केही नभनेको र कुनै पनि गुनासो नआएको साहले बताउनुभयो । मेरो होटेल दशगजाभन्दा अलि पर छ तर अरू यहाँ सञ्चालित होटेलहरू दशगजासँगै टाँसिएर सञ्चालनमा रहेका छन् । आजसम्म कोही कसैले केही भन्न नआएको निर्वाध रूपमा मदिरा होटेलहरू सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।’

प्रशासन र पालिकाले सीमाभन्दा एक किलोमिटर वरपर होटल खोल्न नपाइने निर्णय गरे पनि व्यवसायीले अटेरी गरेर सञ्चालन गरिरहेका छन् । भारतको बिहार राज्य सरकारले ६ वर्षअघि मदिरा बिक्री वितरणमा रोक लगाएपछि सीमापारिका मानिस नेपाल तर्फको दशगजानजिकै खुलेका होटलहरूमा मदिरा सेवन गर्न आउँछन् । बाराको विश्रामपुर गाउँपालिकासँग सीमा जोडिएको मुसहर्वा, बरैनिया लगायतका क्षेत्रमा खुलेका मदिरा होटलका कारण साँझ पर्न नपाउँदै ठूलो संख्यामा विहारबाट भारतीय ग्राहकहरू आउने गरेको स्थानीयहरू बताउँछन् ।

बाराको सिम्रौनगढ, पचरौता, सुवर्ण, देवताल, कलैया, फेटा, विश्रामपुर लगायतका पालिकामा पर्ने दशगजा क्षेत्र तथा दशगजानजिकै झुपडीमा पसल थापेर खुलेयाम मदिरा बिक्री वितरण भईरहेको स्थानीयले जानकारी दिएका छन् । दशगजा क्षेत्रभन्दा पाँच सय मिटरभित्र कुनै पनि पसल राख्न नपाउने बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो । पाँच सय मिटरभित्र कुनै पनि पसल घर टहरा राखेको भए त्यसलाई खाली गराउने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?