गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निधिको आहृवान

हिमालय टाइम्स
Read Time = 3 mins

कलैया । नेपाली कांग्रेसका पूर्व-उपसभापति विमलेन्द्र निधिले सत्ता गठबन्धन अहिलेको आवश्यकता भएको भन्दै गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आहृवान गर्नुभएको छ । नेपाली कांग्रेस बाराद्वारा पार्टी कार्यालय कलैयामा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले गठबन्धनका उम्मेदवारहरूलाई भोट हालेर सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको हो ।

४ मंसिरको चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यही सरकारले नागरिकता विधेयक अघि बढाएर नागरिकता समस्याको सधंैका लागि हल गर्ने उहाँको भनाइ थियो । नेता निधिले चुनावमा एमाले नेतृत्वको गठबन्धन बलियो भएमा नागरिकता समस्या कहिल्यै पनि हल नहुने जिकिर गर्नुभयो ।

कांग्रेस जिल्ला सभापति राजेश यादवको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलामा पूर्व–राज्यमन्त्री कलावती पासवान, पूर्व-सांसद डा. शोभाकर पराजुलीलगायतले पार्टीभित्रका सानातिना विवादलाई भुलेर गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।

वाग्लेलाई कारबाही
नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्य इच्छाबहादुर वाग्लेलाई कारबाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै वाग्लेलाई कारबाही गरेको हो ।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि पार्टीको सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।
कांग्रेस पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेका नेता तथा कार्यकर्ताको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरेको छ ।

यसअघि मंगलबार केन्द्रीय अनुशासन समितिले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध रहेका उम्मेदवार, प्रस्तावक वा समर्थक भएका ७४ जनालाई पाँच वर्षका लागि निष्कासन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?