Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

रुपन्देही-३ मा बहालवाला र पूर्व-मन्त्रीबीचको भिडन्त रोचक

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 11 mins
A A- A+

बुटवल । बहालवाला गृहमन्त्री एवं पाँच दलीय गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र तीन दलीय गठबन्धनबाट राप्रपा नेता एवं पूर्वमन्त्री दीपक बोहरा चुनावी मैदानमा उत्रिएपछि रुपन्देही क्षेत्र नम्बर ३ मुलुकभर चर्चामा छ । पटक-पटक निर्वाचन जित्दै आएका यी दुई नेताबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै नेता अहिले गठबन्धनको आडमा निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न दौडधुप गरिरहेका छन् । ‘हेभिवेट’का दुई नेताको प्रतिस्पर्धाले यहाँको निर्वाचन रोचक हुने देखिन्छ । खाँण र बोहरा दुवै नेता सहजै मतदातासँग घुलमिल गर्न सक्नेमा पर्नुहुन्छ । मतदातालाई प्रभावित पार्न सक्ने खुबी भएका यी नेता चुनावी मैदानमा उत्रिँदा क्षेत्र नम्बर ३ रुपन्देहीकै मुख्य केन्द्रमा छ ।

खाँण केन्द्रीयस्तरमा राम्रो पहुँच राख्ने नेतामा पर्नुहुन्छ । बहालवाला गृहमन्त्री र प्रभावशाली नेता भएकाले खाँणसँग मतदाता प्रभावित भइरहेका छन् । यसले उहाँ हौसिनुभएको छ । बोहराले भैरहवा क्षेत्र सामान्य प्रभाव राख्ने भए पनि घाँटीमा समस्या हुँदा बोल्न सक्नुभएको छैन । उहाँले आफ्ना कुरा अन्य नेताहरू मार्फत मतदातासमक्ष पुर्‍याइरहनु भएको छ । यसले गर्दा उहाँलाई मतदाता प्रभावित पार्न समस्या भइरहेको बताइन्छ ।

खाँणलाई पाँच दलीय गठबन्धन र जनमुक्ति पार्टीको समर्थन छ भने बोहरालाई एमाले र जसपाको साथ छ । अहिले खाँण आफ्ना विगतका कामलाई देखाएर र आगामी योजनाबारे बेलिविस्तार गर्दै मतदातासमक्ष पुगिरहनु भएको छ । ‘रुपन्देहीलाई मुलुककै विकासको केन्द्र बनाउने मेरो र गठबन्धनको लक्ष्य छ’, गृहमन्त्री खाँणले भन्नुभयोे, ‘यसका लागि निर्वाचनपछि सिद्धार्थ रिङरोड, सेमलारमा अत्याधुनिक कृषि थोक बजार लगायतका योजनाबाट पहिलो चरणको काम सुरुवात हुनेछ । अरू योजना पनि जिल्लामा ल्याइनेछ ।’

निर्वाचनको मिति नजिकिँदै जाँदा क्षेत्र नम्बर ३ मा स्वतन्त्रदेखि दलगत उम्मेदवारहरूले पनि चुनावी अभियानलाई आक्रामक बनाउँदै लगेका छन् । दलहरूमा हारजितको जोडघटाउ भइरहेको छ । गत वैैशाखमा सम्पन्न स्थानीय तहको मत परिणामअनुसार सत्ता गठबन्धनसँग ४० हजार १८५ मत छ भने राप्रपा सहितको एमाले गठबन्धनको ४८ हजार ६२८ मत छ । यस हिसाबले सत्ता गठबन्धनका खाँणभन्दा तीन दलीय गठबन्धनका बोहरा आठ हजार ४४३ मतले अगाडि हुनुहुन्छ ।

तर, पछिल्ला दिनमा स्थानीय तहको मत परिणामको समीकरण फेरिएको छ । निर्वाचन माहोल तात्दै जाँदा भने गणितीय हिसाबमा बोहराभन्दा खाँण अगाडि देखिन थालेको गठबन्धनको दाबी छ । ‘धेरै कारणबाट हामी अघि देखिएका छौँ, न्युटल मतदाता हाम्रो पक्षमा लागिसक्नु भएको छ’, कांग्रेस क्षेत्रीय सभापति सुशील गुरुङले भन्नुभयोे ।

गठबन्धन दलहरूका अनुसार घनश्याम भुसाल एमाले त्यागेर रुपन्देही-१ मा स्वतन्त्र उम्मेदवार बन्दा रुपन्देही ३ मा एमालेका कम्तीमा चार हजार मत प्रभावित भएको बताइन्छ । क्षेत्र नम्बर १ मा भुसाललाई सत्ता गठबन्धनले सहयोग गरेका कारण पनि उहाँ पक्षीयहरूले क्षेत्र नम्बर ३ मा खाँणलाई सहयोग गर्ने भएका छन् । ‘हाम्रा चार हजार बढी मत दायाँ बायाँ हुँदैनन्, सबै सत्ता गठबन्धनलाई जानेछन्’, भुसालका सहयोगी मनोजकुमार रिजालले भन्नुभयो, ‘यस हिसाबले पनि खाँणजी अझै बलियो बन्दै जानुभएको छ ।’

उक्त चार हजार मत खाँणलाई आउँदा बोहराको चार हजार मत घट्ने र यही मतका आधारमा खाँण र बोहरा बराबर अवस्थामा आउने हिसाब गठबन्धनको छ । यसबाहेक खाँणलाई राष्ट्रिय जनमुक्ति पार्टीको पनि समर्थन मिलेको छ ।

जनमुक्तिको यस क्षेत्रमा तीन हजार बढी मत छ । अर्कातर्फ चुनावी अभियानकै क्रममा राप्रपा, एमाले, जसपालगायत अन्य पार्टी र स्वतन्त्र गरी करिब तीन हजार पाँच सय कार्यकर्ता कांग्रेस प्रवेश गरेको बताइन्छ । यसले पनि खाँणलाई सहज हुँदै गएको दाबी गरिएको छ । ‘हामी अहिले साढे ६ हजार मतले अघि छौँ’, गुरुङ भन्नुहुन्छ, ‘अन्तिम दिनसम्म यो संख्या दोब्बरले बढ्नेछ । गठबन्धनप्रति आकर्षण छ ।’ एमाले, राप्रपा र जसपा गठबन्धनले भने बोहराले यस क्षेत्रको विकासमा योगदान दिएकाले जित सहज भएको दाबी गरेको छ । ‘त्यसै त हामी आठ हजार मतले अघि थियौँ, त्यसैमा पार्टी प्रवेश गर्नेक्रम पनि बढिरहेको छ,’, राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले भन्नुभयो, ‘विगतमा बोहराजीले यस क्षेत्रमा गरेको विकास निर्माणले गर्दा पनि हामी सहज जित्छौँ ।’

राप्रपाका नेताहरूले अहिले विभिन्न ठाउँमा आयोजना गरिने कोणसभाहरूमा आफ्नो मत जोगाए जित निकाल्न कुनै अप्ठ्यारो नभएको बताउँछन् । दुवै गठबन्धनका उम्मेदवारले आ-आफ्नो जितको दाबी गरिरहँदा अहिलेसम्मको आँकडाअनुसार राजनीतिक रूपमा चतुर खेलाडी मानिनुभएका खाँण र बोहरा नै मुख्य प्रतिस्पर्धी देखिनुभएको छ । उहाँहरूमध्ये कसले बाजी मार्छ ? त्यो भने मंसिर ४ पछि नै थाहा हुनेछ । तर, ‘हेभिवेट’का यी दुई नेताको प्रतिस्पर्धा भने कडा हुने देखिन्छ । यसमा केही स्वतन्त्र उम्मेदवार र अन्य राजनीतिक दलहरूले ल्याउने मतले पनि खाँण र बोहराको हारजितमा प्रभाव पार्न सक्ने बताइन्छ ।

बोहरा अहिलेसम्म नौपटक मन्त्री भइसक्नु भएको छ । पञ्चायतदेखि गणतन्त्रसम्म सत्ताको स्वाद लिनुभएका बोहरालाई अहिले खाँण चुनौती बन्नुभएको छ । कतिपय मतदाताले बोहराले सत्ताका लागि पार्टी फुटाउने र मन्त्री बन्न मरिहत्ते गर्ने आरोपसमेत लगाउँछन् । मतदाताको यस्तो आरोपले खाँणलाई सहजता दिएको छ । खाँण पनि पटकपटक मन्त्री भएका नेता हुनुहुन्छ । बोहरालाई नौपटक मन्त्री हुँदा क्षेत्र र जिल्लाको विकासमा खासै काम नगरेको आरोप छ । तर, बोहराले भैलोभुजलगायत खानेपानीको योजना ल्याएको बताउँदै आउनुभएको छ ।

खाँणले गौतमबुद्ध विमानस्थल, विशेष आर्थिक क्षेत्र, भैरहवा-बुटवल व्यापारिक मार्ग, तिनाउ र दानव नदीमा दजैनौँ पुल निर्माण, जनताको तटबन्ध कार्यक्रम, खानेपानी र सिँचाइ योजना जिल्लामा ल्याउन भूमिका खेलेको बताउँदै आउनुभएको छ । बोहरालाई अहिले एमाले र जसपाको मत पूरै आफूतिर आउँछ कि आउँदैन भन्ने चिन्ता छ । खाँण भने एमाले र जसपाकै मत चोरेर जित्ने दाउमा हुनुहुन्छ ।

खाँण २०७४ मा समानुपातिक सांसद हुँदा तत्कालीन एमाले नेता भुसालले बोहरालाई फराकिलो अन्तरले पराजित गर्दै प्रत्यक्ष निर्वाचन जित्नुभएको थियो । भुसाल वाम गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो भने बोहरालाई कांग्रेसको समर्थन थियो । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाउनुभएको थियो । २०७० मा भने खाँणले भुसाललाई ८६ मतले पराजित गर्नुभएको थियो । यस क्षेत्रबाट २०६४ सालमा पनि खाँण नै वियजी हुनुभएको थियो ।

क्षेत्र नम्बर ३ मा बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् । गत वैैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा पर्ने सबै पालिका कांग्रेसले जितेको थियो । एक लाख ३२ हजार ७९१ मतदाता रहेको क्षेत्र नम्बर ३ मा दलगत र स्वतन्त्र गरी २२ जना प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?