काठमाडौंमा राप्रपाको चुनावी सभा, मतदानका लागि सामूहिक अपिल

‘बालेन्द्रले अवैध संरचनामा डोजर चलाएझैँ भ्रष्टाचारीमाथि डोजर चलाउँछौँ’

डिबी शर्मा
Read Time = 12 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा चुनावी सभा गरेको छ । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावलाई लक्षित गर्दै राप्रपाले शुक्रबार काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गरेको हो । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नुभएको थियो । आमसभामा चर्चित अभिनेत्री मनीषा कोइराला पनि सहभागी हुनुहुन्थ्यो ।

बलिउडमा समेत ख्याति कमाउनुभएकी अभिनेत्री कोइराला कार्यक्रममा सहभागी हुनुभएको हो । नेपाली कांग्रेसका संस्थापक एवं नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी अभिनेत्री कोइरालालाई कार्यक्रममा सहभागी हुँदा ताली बजाएर भव्य स्वागत गरिएको थियो । उहाँले सभालाई सम्बोधनसमेत गर्नुभएको थियो । शुक्रबार नै उहाँले राप्रपाको पोखरामा आयोजित सभालाई समेत सम्बोधन गर्नुभएको थियो ।

आमसभामा उपत्यकाका तीन जिल्लाअन्तर्गत प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३० उम्मेदवार गरी ४५ जना उम्मेदवारले मतदानका लागि सामूहिक अपिल गरेका थिए । राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ ।

सिंहदरबारदेखि वडासम्म भ्रष्टाचार मौलायो : लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पुराना नेताहरूलाई फेरि पनि प्रधानमन्त्री बनाए मुलुक बन्न नसक्ने दाबी गर्नुभएको छ । शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यसअघि पटक-पटक प्रधानमन्त्री बन्दा देश बनाउन नसक्नेहरू पुनः निर्वाचित भए देश बन्न नसक्ने बताउनुभयो । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंमा अवैध संरचनामा डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा रहेको उहाँको भनाइ थियो ।

लिङ्देनले देशमा सुशासन कायम गर्न भ्रष्टाचारीलाई कुनै पनि ढंगले उन्मुक्ति नमिल्ने व्यवस्था बनाउनुपर्ने बताउनुभयो । ‘भ्रष्टाचार गर्ने मन्त्री, प्रधानमन्त्री सबैलाई कानुनको दायराभित्र ल्याएर कारबाही गर्न सक्ने व्यवस्था बनाउनुपर्छ । हामीले मौका पायौँ भने नागरिक आयोग गठन गरेर ०४५ साल पछिका सबै नेताको सम्पत्ति छानबिन गर्छौं,’ उहाँले भन्नुभयो, ‘अहिले सिंहदरबारदेखि वडासम्म भ्रष्टाचार मौलाएको छ । बालेनले काठमाडौंमा अवैध संरचनामा डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा छ ।’ उहाँले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेकाले व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने जिकिर गर्नुभयो ।

सत्तामा रहेका दलहरू नव सामन्तवादका प्रेतात्मा : लोहनी
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व-अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तामा रहेका दलहरूलाई नव सामन्तवादका प्रेतात्माको संज्ञा दिनुभएको छ । शुक्रबार काठमाडौंमा भएको राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व-अध्यक्ष लोहनीले सत्तारूढ दलहरूलाई नव सामन्तवादको प्रेतात्माको संज्ञा दिनुभएको हो । सत्तारूढ पार्टीहरूले खाने काम गरिरहेको भन्दै भ्रष्टाचारको दुर्गन्ध देशभर फैलिएको बताउनुभयो । देशको स्थिति लथालिंग भएकाले स्थितिलाई बदल्न परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो । ‘अहिले लथालिंग देशको भत्ताभुंग चाला, जुन पार्टीले सक्ला त्यही पार्टीले खाला’ भएको छ । सत्तामा बसेका जति पार्टी छन् उनीहरूले खाने काम गरेका छन्,’ उहाँले भन्नुभयो, ‘अग्रगामीहरूले भ्रष्टाचार गर्दा त्यसको दुर्गन्ध देशव्यापी भएको छ । यी नव सामन्तवादका प्रेतात्माहरू जहाँतहीँ देखिन लागेका छन् ।’ उहाँले देशमा राष्ट्रवादी र देशभक्त शक्ति आवश्यक रहेको उल्लेख गर्दै त्यो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र भएको बताउनुभयो ।

एमाले-कांग्रेस एउटै कित्ताका दुई पार्टी, माओवादी पेण्डुलम भएर विलय हुन्छ : मिश्र
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)लाई पेण्डुलम पार्टी भएको आरोप लगाउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै उपाध्यक्ष मिश्रले माओवादी केन्द्र अबको केही वर्षभित्र पेण्डुलम बनेर एक अर्काको पछि लाग्ने वा विलय हुने दाबी गर्नुभयो । अबको केही वर्षमा नेपालमा तीन पार्टी मात्रै बाँकी रहने उहाँको दाबी थियो । मिश्रले अब नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली कांग्रेस पार्टी मात्रै रहने बताउनुभयो । एमाले र कांग्रेस एउटै कित्तामा रहेका दुई नामका पार्टी मात्रै भएको बताउनुभयो । यी दुवै पार्टी लगभग प्रचण्डीकरण भइसकेको उहाँको आरोप थियो । ‘यो देशमा अबको केही वर्षमा जम्मा तीनवटा पार्टी रहन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली कांग्रेस । माओवादी पेण्डुलम जस्तो यता र उती गर्छ, कि त्यो विलय हुन्छ, कि त्यो साँघुरिएर बस्छ,’ उहाँले भन्नुभयो, ‘तीन वटामा दुईवटा पार्टी एमाले र कांग्रेस एउटै कित्तामा भएका दुई नामका पार्टी मात्रै हुन् । किनभने यी दुवै पार्टीको लगभग प्रचण्डीकरण भइसक्यो । निरन्तरता सहितको गतिशील राजनीति भनेर राप्रपाले भन्दै आएको छ । त्यो भनेको देशको धर्म जोगाउने, संस्कृति, अस्तित्व, स्वाभिमान, भूगोल जोगाउनु हो । देशलाई रूपान्तरण गर्नुप¥यो भन्ने धार राप्रपाले जुन बोकेको छ, त्यो धार कहिल्यै पनि मर्दैन ।’ काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनुभएका मिश्रले कांग्रेस नेता स्व.गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दाबीसमेत गर्नुभयो ।

बिपी र महेन्द्र एक आपसमा आदर राख्नुहुन्थ्यो तर, कहिल्यै पनि सहकार्य गर्न पाउनुभएन : कोइराला
चर्चित अभिनेत्री मनीषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आ≈वान गर्नुभएको छ । शुक्रबार राप्रपाको चुनावी सभामा बोल्दै उहाँले जनताको आवाज संसद्मा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरूले जित्नुपर्ने तर्क गर्नुभयो । राजेन्द्र लिङ्देनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि उहाँले स्पष्ट पार्नुभयो । भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह रहेको कुरा लिङ्देनले भनेपछि आफू त्यसको पक्षमा उभिएको उहाँको भनाइ थियो । कोइरालाले बिपीको विचारलाई पनि लिङ्देनले आत्मसाथ गरेकोमा आफूलाई गर्व बोध भएको उहाँले बताउनुभयोे । ‘राजेन्द्रजीले जब ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो’ भन्नुभयो । त्यो कुरा सुनेर मलाई लाग्यो कि नेपालले असल नेतृत्व पायो । त्यसैले म आज यहाँ उभिएको छु,’ उहाँले भन्नुभयो, ‘अरूले बिर्सेर होला । राजेन्द्रले बिपी बालाई बिर्सनुभएको छैन । धेरै पहिला बिपी र महेन्द्र सरकार दुईजना एक आपसमा आदर राख्नुहुन्थ्यो । तर, उहाँहरूले कहिल्यै पनि सहकार्य गर्न पाउनुभएको थिएन । त्यतिखेर मुलुकले एउटा ठूलो मौका गुमाएको थियो । अहिले त्यस्तै मौका हाम्रो ढोकामा आएको छ । अब गुमाउनु हुँदैन ।’

माओवादीले एमाले सिध्यायो, अब कांग्रेसभित्र छिरेको छ, सिध्याएर निस्किन्छ : पोखरेल
राप्रपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार कुन्ती पोखरेलले अझै पनि गठबन्धन र एमाले जस्ता पुराना पार्टीहरूलाई मत दिनु भनेको नेपाल आमालाई बेच्नुसरह हुने टिप्पणी गर्नुभएको छ । राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै नेत्री पोखरेलले अझै पनि नेपाल आमालाई बेच्न ठूला पार्टीलाई मत दिन नहुने जिकिर गर्नुभयो । माओवादीले एमालेभित्र छिरेर एमालेलाई भत्ताभुंग पारेको भन्दै अब कांग्रेसमा छिरेर कांग्रेस सिध्याउने मिसनमा रहेको आरोप लगाउनुभयो । ‘अरू दललाई गाली नगरौँ भन्छु । तर, नगरी हुन्न । माओवादी छिरेर एमाले सिध्यायो । अब कांग्रेसभित्र छिरेको छ । कांग्रेसलाई पनि सिध्याएर निस्किन्छ,’ उहाँले भन्नुभयो, ‘यिनीहरूले नेपाल आमालाई बेच्दै छन् त्यसमा सजग हुनुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?