जुम्लामा अठार मेट्रिक टन स्याउ उत्पादन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लामा यो वर्ष अठार मेट्रिकटन स्याउ उत्पादन भएको छ ।

स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको भएको छ । गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । जिल्लामा स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित बनेका छन । हाल उत्पादित १८ हजार मेट्रिकटनमध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्ज लगायतका बजारमा पठाइएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । ”

स्याउ यो वर्ष राम्रो उपादन भएपनि उचित मूल्य नपाएको यहाँका किसानहरुको भनाइ रहेको छ । व्यवसायीहरुले मौसममा प्रतिकेजी रु ५० देखि ५५ मा स्याउ खरिद गरी प्रतिकेजी रु ६७ देखि ७० मा बिक्री गर्दै आएका थिए । तर अहिले किसानहरु त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन । चन्दननाथ नगरपालिका– ८ का स्थानीय स्याउ व्यापारी धर्मसिंह कठायतले जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, नारायणगढ र काठमाडौंसम्म पुर्‍याए पनि उचित बजार मूल्य नपाएको गुनासो गर्नुभयो ।

“मैले प्रतिकेजी रु ५० मा स्याउ किनेर ढुवानी खर्चसहित प्रतिकेजी रु ६० मा नेपालगञ्ज पु-याएँ, तर प्रतिकेजी रु ३० मा बिक्री गर्न बाध्य भएँ ।” उहाँले भन्नुभयो । कोहलपुरमा शीतभण्डार नहुँदा स्याउको सुरक्षा हुन नसकेको र कुहिन दिनुभन्दा सस्तो भए पनि बेच्नैपर्ने बाध्यता आइलागेको उहाँको भनाइ छ । नाम चलेको जुम्लाको अर्गानिक स्याउ शीत भण्डारबाटै ल्याउँदा पनि मूल्य नपाउँदा आफू समस्यामा परेको कठायतले बताउनुभयो । जुम्लामा साउन, भदौ र असोजमा स्याउ टिप्न सुरु हुन्छ । तर कात्तिकपछि सिजन सकिन्छ ।

यो बेमौसमी बेलामा समेत यसले राम्रो मूल्य पाउन नसकेको र उपभोक्तले पनि जुम्लामा उत्पादन हुने अर्गानिक स्याउको महत्व नबुझेको तातोपानी गाउँपालिका–२ जुम्लाका बीरेन्द्र डाँगीले जानकारी दिनुभयो । मण्डीवालाले नै प्रतिकेजी ३० मा नदिए स्याउ नलिने भनेपछि अहिले फुटपाथमै बसेर फुटकर बेचिरहेको डाँगीको भनाइ छ । सिंजा गाउँपालिका–१ जुम्लाका कमल खत्रीको व्यथा पनि त्यस्तै छ । तीनै जनाले नेपालगञ्ज पु¥याएको १२ मेट्रिकटन स्याउले मूल्य नपाउँदा समस्यामा परिएको खत्रीले बताउनुभयो । जिल्लाका आठवटै स्थानीय तहका स्थानीयवासि स्याउ खेतीमा निर्भर रहेकाछन् । पछिल्लो समयमा जिल्लाका स्याउ किसान स्थानीय स्याउ भन्दा विदेशी फुजी स्याउ प्रति आकर्षण हुने गरेको छ । विरुवा लगाएको केही समय पछि फुजी स्याउले छिट्टै प्रतिफल दिने गरेपछि जिल्लाका स्याउ किसान फुजी स्याउ खेतीमा लागी परेको स्याउ सुपरजोन कार्यालय जुम्लाले जनाएको छ ।

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?