गोरखा जानुको अर्थ चितवन छोडेको रुपमा नबुझ्न अध्यक्ष प्रचण्डको आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा जानुको अर्थ चितवन छोडेको रुपमा नबुझ्न आग्रह गर्नुभएको छ ।

सत्तारुढ गठबन्धनले शनिबार भरतपुरमा आयोजना गरेको आमसभामा बोल्दै उहाँले भन्नुभयो, ‘चितवनसँगको सम्बन्ध रहिरहनेछ, हिजो पनि थियो, भोलि पनि रहनेछ ।’ उहाँले सत्तारुढ गठबन्धनमा रहेका दलका कार्यकर्तालाई कसैको बहकाउ र भ्रममा नपर्न पनि आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले यो चुनावमा गोरखा गए पनि चितवनमा सुरु भएका विकास योजना पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।विगतमा रोल्पा, काठमाडौं, सर्लाही र चितवन हुँदै अहिले गोरखा पुग्नुको पनि अर्थ भएको उल्लेख गर्दै उहाँले आफू जहाँ भए पनि चितवनको विकासमा निरन्तरता दिने बताउनु भयो ।

चितवन ३ क्षेत्रका जनताप्रति आभार व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘मलाई विजयी गरेर चितवनको विकास र समृद्धिको खाका कोर्ने अवसर दिनुभयो । यसमा मलाई गर्व छ । अहिले म चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि मेरो घर चितवन नै हो । त्यसैले मेरो चासो, चिन्ता यहाँ हुन्छ नै । अहिले प्रधानमन्त्रीलाई साक्षी राखेर भन्न चाहन्छु यहाँको विकासका लागि भोलिपनि कुनै कसर बाँकी राख्ने छैन ।’

प्रचण्डले चुनाव लड्न गोरखा गए पनि आफ्नो घर चितवन नै भएको स्मरण गराउनु भयो ।

साथै उहाँले चितवन ३ का उम्मेदवारलाई आफ्नो उत्तराधिकारी रहेको बताउँदै कसैको आँखामा राख्दा पनि नबिझाउने, निकै नजिकबाट दुख कष्ट देखेर आएको मान्छे भएका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

उक्त सभामा प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताको उपस्थिति रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?