मतदाता शिक्षाप्रति मतदाता नै अनिच्छुक

हिमालय टाइम्स
Read Time = 9 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदाता शिक्षा कार्यक्रममा म्याग्दीको सदरमुकाम बेनीका मतदाताले चासो देखाएका छैनन् । मतदाता शिक्षाका लागि खटिएका स्वयंमसेवकले टोल-टोलमा आयोजना गरिएको भेलामा कम संख्यामा अनुपस्थित र मतदाता शिक्षाका लागि घरदैलोमा पुगेको अवस्थामा समेत समय अभाव लगायतका कारण देखाउने गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकर्ता खटाइएकोमा सहर बजारमा चासो कम र ग्रामीण क्षेत्रका मतदाता खेतबारीमा व्यस्त भएकाले कार्यक्रमप्रति अनिच्छुक देखिएको पाइएको हो । गाउँभन्दा सहरमा शिक्षित जनसंख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी भएको अवस्थामा समेत कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएको छैन ।

मतदाता शिक्षाका लागि खटिएका सहजकर्ताले सार्वजनिक स्थानमा शिक्षा दिन सहज भए पनि टोलटोलमा कम सहभागिता भएको स्टाफ नर्स चन्द्रप्रभा भण्डारीले बताउनुभयो । ‘धेरैले आफूलाई जानकारी भएको बताउनुहुन्छ, ‘टोल-टोलमा पुगेर शिक्षा दिइरहेका छौँ’ बानियाँले भन्नुभयो । उहाँ जस्तै स्टाफ नर्स प्रियंका पौडेलले ज्येष्ठ नागरिकले चासो देखाउने गरे पनि युवा पुस्ताको रुचि कम रहेको बताउनुभयो ।

उहाँले घरदैलोमा समेत पुगेर मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायतका निर्वाचन प्रक्रियाको बारेमा मतदातालाई जानकारी दिने गरिएको छ । यता, मतदाता शिक्षाको लागि छनोट भएका महिला स्वास्थ्य स्वंयसेविकालाई मतदाता शिक्षा सहजीकरण तालिम लिएर कार्यक्षेत्रमा खटिएको जिल्ला निर्वाचन अधिकृत भीमप्रसाद घिमिरेले बताउनुभयो । ‘ग्रामीण क्षेत्रका मतदाता खेतबारीमा छन्, ‘जहाँ सहज हुन्छ त्यही पुगेर शिक्षा दिन अनुरोध गरेका छौँ’ घिमिरेले भन्नुभयो । उहाँले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन, साम्रगी उपलब्ध गराएको बताउनुभयो । बेनी नगरपालिकासहित पाँच गाउँपालिकामा रहेका ४५ वटै वडाका टोल-टोलमा सहजकर्ता पुगेको निर्वाचन अधिकृत घिमिरेको भनाइ छ ।

उहाँले राजनीतिक दलमा उम्मेदवारहरूले मत माग्न जाँदा मत हाल्ने तरिका सिकाउँदा मतदाता शिक्षा थप प्रभावकारी हुने बताउनुभयो । निर्वाचनमा मतदाता बढाउने र बदर मत खस्ने प्रतिशत न्यूनीकरण गर्न मतदाता शिक्षा कार्यक्रमको समन्वय गर्न जिल्लास्तरीय समिति, मतदाता शिक्षा समन्वय समिति (स्थानीय तहस्तर) र मतदाता शिक्षा सञ्चालन समिति (वडास्तर) को समितिसमेत बनाइएको छ । मतदाता शिक्षामा खटिएकाले धेरै मतदातालाई चारवटा मतपत्र हुन्छ भन्ने नै जानकारी नभए मतदान प्रक्रियामै अलमल पर्ने देखिएको बताएका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मतदाता शिक्षामा कमजोरी भएकै म्याग्दीमा गएको वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चार हजार ७९९ अर्थात् १.१६ प्रतिशत पूर्णरूपमा बदर मत बदर भयो । मतदानमा सहभागी मतदाताले सबै उम्मेदवारलाई मत हाल्न नजान्दा ३२ हजार ३८१ मत अर्थात ७.७९ मतलाई समेत शतप्रतिशत सदर हुन नसकेको अभिलेखले देखाउँछ ।

यसैबीच, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा बदर मतको संख्या घटाउन म्याग्दीका ६ वटै स्थानीय तहमा नमुना मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा जिल्लाको ६ वटै पालिकामा नमुना मतदानको अभ्यास गरिएको हो । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (१) अन्तर्गत बेनी नगरपालिकाको बेनी सामुदायिक मावि, रघुगंगा गाउँपालिकाको ज्ञानोदय मावि र अन्नपूर्णको पोखरे बगरमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । यसैगरी, प्रदेशसभा (२) अन्तर्गत धवलागिरि गाउँपालिकाको धारापानी, मालिकाको दरबाङ र मंगलाको बाबियाचौरमा नमुना मतदान गरिएको छ ।

नयाँ मतदाताहरूलाई मतदान गर्ने तरिकाबारे सिकाउन तथा बदर हुने मतको संख्या घटाउने उद्देश्यले नमुना मतदान गरिएको निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो । जिल्लाको सबै पालिकामा भएको नमुना मतदान अभ्यास कार्यक्रममा झण्डै चार सय जनाले सहभागिता जनाएका छन् । ‘नमुना मतदानले बदर न्यूनीकरणमा सघाउनेछ’ प्रमुख घिमिरेले भन्नुभयो । नमुना मतदान अभ्यासमा ज्येष्ठ नागरिक, शिक्षक, विद्यार्थी, स्थानीयवासी तथा सर्वसाधारणहरूको सहभागिता रहेको थियो ।
मतदाता शिक्षाको अवस्थाको पहिचान तथा निर्वाचन सामग्रीको प्रयोग र परीक्षणका लागि नमुना मतदान गरिएको जनाइएको छ । मंसिर ४ गते हुने यस पटकको चुनावमा मतदाताले प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत प्रत्यक्ष तथा समानुपातिक गरेर चारवटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्नेछ । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा म्याग्दी जिल्लामा कुल ५४ हजार ६७८ मत खसेकोमा ९२ दशमलव ४३ प्रतिशत मत सदर भएको थियो ।

२०७४ सालको प्रतिनिधि र प्रदेशसभाको चुनावमा ४७ हजार ४४९ मत खसेकोमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४ दशमलव ८१ प्रतिशत र प्रदेशसभातर्फ ३ दशमलव १२ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ । यसैगरी, प्रतिनिधिसभाको समानुपातिकतर्फ ९ दशमलव ८७ प्रतिशत र प्रदेशसभातर्फ १४ दशमलव २७ प्रतिशत मत बदर भएको थियो ।

यसपटक बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रमका लागि म्याग्दीमा मात्रै ४६१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरेर अहिले गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । कुल ६ वटा पालिका रहेको म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल र ११९ वटा मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा कुल ८६ हजार १२० जना मतदाता कायम भएका छन् । निर्वाचित हुने तीन पदका लागि विभिन्न दल र स्वतन्त्रसहित १९ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?