सिन्धुपाल्चोक-२ मा तामाङ र बस्नेतबीच प्रतिस्पर्धा, विपद् व्यवस्थापन मुख्य चुनावी एजेण्डा

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन निकै रोचक बनेको छ । मुलुकको राष्ट्रिय राजनीतिमा परिचित र आ-आफ्नो पार्टीमा प्रभावशाली रहनुभएका गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत र नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङको उम्मेदवारीले सिन्धुपाल्चोक-२ को निर्वाचन रोचक बनेको हो । क्षेत्र नम्बर २ बाट २०७० सालको दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र यसपटकको चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ छोडेर आउनुभएका नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तामाङ यसअघिको जितलाई कायम राख्ने दाउमा हुनुहुन्छ भने बस्नेत यो क्षेत्रमा खाता खोल्ने तयारीमा लाग्नुभएको छ । नेकपा एमालेको तर्फबाट तामाङ एक्लै चुनावी मैदानमा उत्रिनुभएको छ भने बस्नेतलाई सत्तारूढ पाँच दलीय गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा समूहको साथ छ ।

कांग्रेस नेता बस्नेतले २०४८ को आमनिर्वाचनबाट सिन्धुपाल्चोक-१ बाट पहिलोपटक संसदीय चुनावी प्रतिस्पर्धा सुरु गर्नुभएको हो । विसं २०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजित हुनुभएका बस्नेतले २०५६ मा बोहरालाई नै हराएर सांसद बन्न सफल हुनुभयो । विसं २०६४ मा हार ब्यहोर्नुभएका बस्नेत २०७० मा भने जित हात पार्न सफल हुनुभयो । अघिल्लो संसदीय चुनावमा माओवादी नेता अग्नि सापकोटासँग पराजित भए पनि बस्नेतलाई यसपटक माओवादीको बलियो साथ छ । एमाले उम्मेदवार शेरबहादुर तामाङले सुरुका दुई चुनाव हारे पनि पछिल्ला दुवै चुनाव जित्न सफल हुनुभएको छ । पहिलोपटक २०५६ मा नेकपा मालेबाट सिन्धुपाल्चोक-३ मा उम्मेदवार बन्नुभएका तामाङले २०६४ सालमा एमालेबाट उम्मेदवार बने पनि पराजय भोग्नुभएको थियो । विसं २०७० मा सिन्धुल्पाल्चोक-३ बाटै पहिलोपटक चुनाव जित्नुभएका तामाङले अहिले दुईवटामा झरेपछि २०७४ सालमा क्षेत्र नं २ बाट जित हासिल गर्नुभएको थियो ।

चुनावी एजेण्डा साझा
भूकम्प र बाढी–पहिरोबाट थिलथिलिएका सिन्धुपाल्चोकका मतदातालाई आफूतिर आकर्षित गर्न प्रमुख दलका उम्मेदवारहरूले विपद् व्यवस्थापन र नियन्त्रणलाई मुख्य एजेण्डा बनाएका छन् । उम्मेदवारहरूको भाषणमा होस् वा प्रतिबद्धता पत्र, दलहरूले बाढीपहिरो तथा भूकम्पपीडित जनताको उद्धार, प्रकोप नियन्त्रण तथा बाढी पहिरोले पुर्‍याएकोे क्षतिको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । आसन्न निर्वाचनमा मतदाताको चासो पनि विपद् व्यवस्थापनमै छ । विगत केही वर्षयता सिन्धुपाल्चोकमा बर्सेनी विपद्का घटना निम्तिरहेका छन् । खासगरी बाढीपहिरो, भूकम्प, आगलागी, चट्याङ, हावाहुरीलगायत विपद् जिल्लावासीले हरेक वर्ष भोग्दै आइरहेका छन् । घरदैलो, कार्यकर्ता भेटघाट, शुभकामना आदानप्रदान, चाहे कोणसभा होस्, सबै कार्यक्रममा उम्मेदवारहरूको प्रतिबद्धता र एजेण्डा विपद् व्यवस्थापनमै केन्द्रित हुने गरेको छ ।

यस्तो छ स्थानीय तह निर्वाचनको हिसाब
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा सिन्धुपाल्चोक-२ मा नेकपा एमाले पहिलो दल बनेको थियो । गत स्थानीय तहको निर्वाचनमा एमालेले दुई पालिका इन्द्रवती र पाँचपोखरी गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो भने मेलम्ची नगरपालिकामा उप्रमुख जितेको थियो ।

यस्तै, कांग्रेसले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा कांग्रेस विजयी भएको थियो । त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको थियो । क्षेत्र नम्बर २ मा चौतारा साँगाचोकगढीका १, ५, ६, ७, ८, ११, १२, १३ र १४ वडाहरू पर्छन् ।
एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार सात सय ७६ मत पाउँदा दोस्रो बनेको दल नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २९ हजार तीन सय दुई मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रले १६ हजार ७९ मत पाउँदा राप्रपाले पाँच हजार ९३२ र नेकपा एकीकृत समाजवादीले एक हजार ६६३ मत पाएको थियो । गठबन्धनको मत जोड्दा कांग्रेसका उम्मेदवार बस्नेतको पक्षमा ४६ हजार मत छ । यो मत एमालेका उम्मेद्वारको भन्दा १६ हजार ७०० बढी हो । राप्रपाको आफ्नै उम्मेदवार भए पनि केही मत कांग्रेस र एमालेलाई जाने पक्का छ । तर, गठबन्धनका दलहरूबीच तथा नेकपा एमाले दुवैतर्फ पार्टी र कार्यकर्तामा असन्तुष्टि छ । गठबन्धनका नेताहरूले भने टिकट वितरण र विगतको राजनीतिमा जेजस्ता अनुभव भए पनि अब टिकट पाउनेलाई जिताउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् । एमालेका नेताले पनि सिन्धुपाल्चोक-२ को चुनावी नतिजा पार्टीकै प्रतिष्ठासँग जोडिएको बताउँदै आएका छन् । मुख्य प्रतिस्पर्धी दुवै उम्मेदवारले आफूले जित्ने दाबी गर्दै आइरहेका छन् ।

लोकप्रिय मत ल्याएर जित्छु : बस्नेत
निर्वाचन क्षेत्र परिवर्तन गर्नुपर्दा केही निराश देखिनुभएका बस्नेत पछिल्ला दिनहरूमा चुनावी प्रचारप्रसार र घरदैलोका क्रममा भने उत्साही देखिनुभएको छ । एमालेका उम्मेदवार शेरबहादुर तामाङ आफ्नो प्रतिस्पर्धी नै नभएको जिकिर गर्दै बस्नेतले भन्नुभयो, ‘अहिले म सिन्धुपाल्चोक-१ बाट २ मा आएको छु । काम गर्ने मानिस हो भनेर चिनिएको छु । यो क्षेत्रबाट दुईपटक चुनाव जितेका व्यक्तिले केही काम गर्नुभएन । त्यसैले, मलाई कुनै चुनौती छैन । उहाँ त जे पनि बोल्नुहुन्छ । बंगलादेशमा पढिरहेका हाम्रा चेलिबेटी विद्यार्थीलाई पनि मुख छाड्नुभयो । जथाभावी बोलेको कारणले मन्त्रीबाट राजीनामा दिने बाध्यता आइलाग्यो । जथाभावी बोल्ने र परिणाम थेग्न नसक्ने मानिस हो उहाँ । मंसिर ४ गते यहाँका मतदाताले १० वर्ष चुनाव जिताएर पनि सिन्को नभाँचेको बदला लिन्छन् । म कुनै पनि हिसाबले उहाँलाई प्रतिस्पर्धी ठान्दिनँ । आठदेखि १० हजार बढी पपुलर मत ल्याएर जित्छु ।’

मेरो प्रतिस्पर्धी कोही पनि छैन : तामाङ
नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले पनि आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । गठबन्धनका उम्मेदवार आफ्नो लागि कुनै चुनौती नभएको दाबी गर्दै तामाङले भन्नुभयो, ‘मैले उहाँलाई प्रतिस्पर्धी नै ठान्दिनँ । म असफल भएँ वा राम्रो एजेण्डा बोक्न सकिनँ भने मेरो प्रतिस्पर्धी म आफैँ हो । उहाँलाई किन प्रतिस्पर्धी ठान्ने ? मैले राम्रो काम गरेँ भने कोही प्रतिस्पर्धी हुँदैन । आफैँले राम्रो काम गर्न सक्नुपर्छ । जनतासँग भिज्न सक्नुपर्छ । अहिलेको व्यवस्थाको हिसाबले उहाँ उठ्न पाउनुभयो । उहाँ गठबन्धनको एउटा उम्मेदवार भएर आउनुभएको छ । उहाँ कुन क्षेत्रको, के भनेर म किन टिप्पणी गर्नु । मेरो एजेण्डा एमालेको एजेण्डा हो । जनताले एमाले रुचाए भने उहाँ प्रतिस्पर्धी होइन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?