राष्ट्र राष्ट्रियताको बहसको सान्दर्भिकता

A A- A+

✍️ श्रीमन्नारायण

राज्यका लागि सार्वभौमसत्ता आवश्यक छ तर राष्ट्र मनोभावना हो । यस्तो भावना धर्म, भाषा, भौगोलिक एवं सांस्कृतिक एकताद्वारा विकसित हुन्छ । राज्य बन्नका लागि सरकार आवश्यक छ, तर राष्ट्र भनेको सरकार र राज्यभन्दा माथिको विषय हो । राष्ट्रियताको अवधारणामा निर्जीव वस्तुहरूको महत्व ठान्नेहरू तानाशाह प्रवृत्तिका हुन्छन् । मानिसको विकाससँगै सजीव तथा मानवीय पक्षहरूलाई राष्ट्रियताको बलियो आधार मान्ने अवधारणा निकै अघि नै विकसित भइसकेको हो । विविधतालाई राष्ट्रिय एकतामा रूपान्तरण गर्न सकिएमा मात्रै राष्ट्रनिर्माण कार्यले मूर्त रूप लिन सक्दछ ।

नेपालको संविधान, २०७२ मा जसरी राष्ट्रको परिभाषा गरिएको छ, त्यही अनुसार नै यदि राज्यको निर्माण हुन्छ भने नेपाली राष्ट्रियता पनि बलियो र विश्वकै निम्ति उदाहरणीय बन्ने निश्चित छ । अहिलेसम्म हामीले राष्ट्रवादलाई व्यक्तिगत, समूहगत वा दलगत लाभको आधारमा प्रयोग गरेका छौँ तर यसलाई बलियो बनाउने काम गरेनौँ । माओवादीहरूको एक दशकको सशस्त्र संघर्षले राष्ट्रवादको परिभाषामा केही परिवर्तन ल्याएको छ र सावित गर्ने प्रयास गरेको छ कि नेपालमा जातीय राष्ट्रवाद अर्थात् सामुदायिक राष्ट्रवादको निम्ति नेपाली जनता संघर्ष गर्न तयार छ । जातीय राष्ट्रवाद आफ्नो पहिचान भाषा, संस्कृति, भौगोलिक एवं ऐतिहासिक विशिष्टतामा तथा समान मनोविज्ञानका कारण राष्ट्र तथा परम्परा एवं परिस्थितीजन्य भावनात्मक रूपबाट बाँधिएको हुन्छ ।

अतीत र वर्तमानको वास्तविकता तथा भविष्यको आकांक्षाका लागि सर्वनिष्ठ सरकार, सदस्यहरूमा परस्पर सम्पर्क, साझा स्वार्थ राष्ट्रको छविको बारेमा सदस्यहरूको मनमा समवेत भाव नै राष्ट्रवाद हो । घृणा, द्वेष, पूर्वाग्रह एवं प्रतिशोधमा आधारित नकारात्मक भाव कमजोर राष्ट्रवादको परिचायक हो ।

राष्ट्र सर्वोपरि निष्ठा हो । जनताको सामूहिक अनुभूति हो । यस अनुभूतिको मूलाधार मातृभूमि र आपसी प्रेम, सद्भाव, सहिष्णुता र परस्पर सहयोगको भावना एवं धर्म तथा संस्कृति हो । यस सहज अनुभूतिको अभिव्यक्ति नै राष्ट्रवाद हो । राष्ट्रियता एक संवेदनशील निजी र सामूहिक भावना हो । जसले निश्चित भूभागमा रहेका विभिन्न समुदायको देशप्रति एकीकृत सद्भावना र गौरव व्यक्त गर्दछ । राष्ट्रवाद नै राष्ट्रियता भएकाले हाम्रो जस्तो विविधताले भरिएको देशमा राष्ट्रवादको परिभाषा पनि सोही अनुरूपको हुनु आवश्यक छ ।

अतीत र वर्तमानको वास्तविकता तथा भविष्यको आकांक्षाका लागि सर्वनिष्ठ सरकार, सदस्यहरूमा परस्पर सम्पर्क, साझा स्वार्थ राष्ट्रको छविको बारेमा सदस्यहरूको मनमा समवेत भाव नै राष्ट्रवाद हो । घृणा, द्वेष, पूर्वाग्रह एवं प्रतिशोधमा आधारित नकारात्मक भाव कमजोर राष्ट्रवादको परिचायक हो । राष्ट्रियता बलियो हुन राष्ट्र बलियो हुनु आवश्यक छ । राज्य बलियो भएमा राष्ट्र पनि बलियो हुन्छ भन्ने तर्क अब अप्रसांगिक भएको छ । एक्काइसौं शताब्दीमा मात्रै होइन, त्यसभन्दा निकै अघिदेखि नै राष्ट्रको परिभाषामा परिवर्तन आइसकेको छ ।

स्व.बीपी कोइरालाले भनेका थिए, ‘राष्ट्र भनेको कुनै भूगोलको ढुंगा, माटो, खोलानाला र साँध-सिमानामात्रै होइन, त्यहाँ बस्ने जनताको सभ्यता, संस्कृति र मनोभाव पनि हो । नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको परिभाषा राजनीतिक विज्ञानसम्मत नहुन्जेलसम्म यसको मनोगत विश्लेषण तथा राजनीतिक दलहरूले आप्mनो पार्टी कार्यालयबाट राष्ट्रवादी र राष्ट्रघातीको प्रमाणपत्र बाँड्ने काम भइरहनेछ । राष्ट्रवाद र राष्ट्रभक्तिमा भिन्नता छ । भक्ति आस्तिक भावना हो । राष्ट्रभक्ति आस्तिक भावना हो । जबकि ‘वाद’ वैचारिक निष्ठा हो । राष्ट्र सर्वोपरिताको निष्ठा नै राष्ट्रभक्ति हो ।’

डा.राममनोहर लोहियाले सगुण-निर्गुणको विश्लेषण गरेका थिए । आफ्नो देशलाई आमाको रूपमा हेर्नु सगुण हो, जबकि आप्mनो देशलाई निराकार अनुभूति गर्नु निर्गुण हो । दुवैको केन्द्र निष्ठा हो । सकारात्मक राष्ट्रियता सहयोग र समझदारीमा आधारित हुने भएकाले यसमा अतिरञ्जना कम हुने गर्दछ । यसमा आपसी विश्वासको सम्भावना बढी रहन्छ । सकारात्मक राष्ट्रियताको प्रवद्र्धनका लागि राष्ट्र बलियो हुने आधार खोजिनु आवश्यक छ । त्यो भनेको देशको चौतर्फी विकास हो, जुन समावेशी हुन्छ । यसमा आर्थिक पूर्वाधारका सबै पक्ष मानवीय विकास जसअन्तर्गत गुणात्मक शिक्षामा सबै वर्ग र जातिको समान पहुँच, आधारभूत आवश्यकता, गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा समाहित हुन्छ ।

यस्ता आवश्यकताको न्यायपूर्ण वितरण र उपभोगका लागि राज्यका विभिन्न संरचनामा त्यहीअनुसारको समानुपातिक प्रतिनिधित्व गराइनुपर्दछ । यदि जनता नै राष्ट्र हो भने लोकतन्त्रको सन्दर्भ पनि जनतासितै जोडिनुपर्दछ । नकारात्मक राष्ट्रियताले अरूप्रति घृणा र द्वेषको भावना जगाउँदा सधैँ लघुताभाषले ग्रसित भएको पाइन्छ । हामीले हाम्रा छिमेकीप्रति व्यक्त विचार, पूर्वाग्रह र अतिरञ्जना यसका लक्षण हुन् । नकारात्मक राष्ट्रियताले अरूको सबै कुरामा अनिष्टमात्रै हेर्ने मानसिकता विकसित गर्दछ र अन्ततः आफ्नै हानि हुने गर्दछ ।

माक्र्स र एन्जेलले कामदारहरूको कुनै देश हुँदैन, हामी तिनीहरूबाट त्यो कुरा लिन सक्दैनौँ, जुन कुरा उनीहरूले प्राप्त नै गरेका छैनन्, भनेका छन् । उनीहरूले सर्वहारा वर्गलाई राष्ट्रको रूपमा उभ्याउन अपिल गरेका थिए । लेनिनले पनि यसैसित मिल्दोजुल्दो रूपमा राष्ट्रको परिभाषा गरेका छन् । नेपालमा पञ्चायती शासनदेखि लिएर आजसम्म व्यक्तिगत, समूहगत वा दलगत लाभका आधारमा राष्ट्रवादको नारालाई परिभाषित गर्ने काम हुँदै आएको छ ।

सनातन धर्ममा विश्वास राख्नेहरूको ‘राष्ट्रवाद’ व्यापक, सहिष्णु र उदार भएको पाइन्छ । हाम्रा धर्मशास्त्रमा वर्णित गाथा यसका उदाहरण हुन् । सनातन धर्ममा विश्वास राख्नेहरूको राष्ट्रवाद र युरोपेली राष्ट्रवादमा फरक रहेको पाइन्छ । युरोपका देशहरू आधुनिककालमा ‘नेसन’ कहलिन थाले । भारतवर्षमा मध्यमकालभन्दा पनि निकै अघि इशापूर्व २९८-३२१ चन्द्रगुप्त मौर्यको समयमा एउटा विशाल केन्द्रीय सत्तामा राष्ट्रको चर्चा छ । सम्राट अशोकको शासनकालमा राष्ट्र अझ विस्तृत हुन गयो ।

युरोपेली राष्ट्रवादको उदय नवौं-दशौं शताब्दीमा भएको थियो । इंग्ल्याण्ड एकीकरणको प्रक्रिया किंग एडवर्डले (८०२-८३९) देखि किंग अल्पे्रmड (८७१-९१६) सम्म जारी रहृयो । फ्रान्स र जर्मनीमा पनि यही अवस्था थियो । युरोपेली राष्ट्रवादको विकास सत्ताधारी दलहरूले गरेका थिए । मध्यकालमा इटलीका जनताले तत्कालीन समयलाई ‘ला रिना स्विता’ (पुनर्जागरण) भन्यो । अठाह्रौं शताब्दीमा फ्रान्सका विद्वान्हरूले यसलाई ‘रिनेसो’ भनेका थिए । भारतका माक्र्सवादी विचारका डा. रामविलास शर्माले यसलाई वास्तवमा यो इटाली, फ्रान्स र इंग्ल्याण्डको निम्ति ‘जाति निर्माण’ र ‘जातीय निर्माण’ को युगको संज्ञा दिएका थिए । युरोपेली देशमा सत्ताधारी दलहरूले विस्तारवादको नीति अवलम्बन गरे ।

जर्मनीका शासक हिटलरले राष्ट्रवादकै नाममा व्यापक हिंसा गरे । युरोपका प्रायः सबैजसो शासकहरूले हिंसाकै सहारा लिए । फ्रान्स रोमन साम्राज्यवादबाट पीडित थियो । भाषा र सभ्यताको आधारमा एउटा सम्झौता भयो । त्यतिबेलादेखि नै फ्रान्स राष्ट्र भयो । युरोपमा राष्ट्रवादको निम्ति युद्ध भयो तर यस्तो हिंसा भारतवर्षमा भएको पाइँदैन ।

महात्मा गान्धीले आफ्नो पुस्तक ‘हिन्द स्वराज’ मा टिप्पणी गरेका छन् कि ‘जतिबेला अंग्रेज भारतमा आएका थिएनन्, त्यतिबेला पनि भारत एउटा राष्ट्र नै थियो । हाम्रा विचार एक थिए । त्यही भएर अंग्रेजहरूले राज्य कायम गरे । माक्र्सवादी विद्वान् डी.डी.कौशाम्बीले मोहम्मद बिन कासिम भारतमा आउनुभन्दा पूर्व नै भारत एउटा राष्ट्र थियो, होइन भने भारतको इतिहासमा पनि विजेताहरूकै गाथा र शासन सत्ताको वर्णन गरिएको हुने थियो । प्राचीन भारतको संस्कृति र सभ्यतामा विविधता पनि थियो तर राष्ट्रप्रेम पनि गज्जबको थियो । भारतीय राष्ट्रवादको इतिहासमा बल प्रयोग नभएको उनले उल्लेख गरेका हुन् ।

कौशाम्बीले यस तथ्यको बारेमा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै लेखेका छन्-‘चीनको उन्नति त्यतिबेलामात्रै भयो, जब पूरा देशमा हान जातिको प्रभुत्व स्थापित भयो । एक समृद्ध साम्राज्यको बिजारोपण भयो । स्पेनिस विजयपश्चात् मात्रै ईंकार अर्जंटेकोहरूको लोप भयो । मेक्सिको, पेरू र ल्याटिन अमेरिकीहरूको संस्कृति सर्वसाधारण युरोपेली हो । तिनीहरूको विशुद्ध आफ्नो होइन । भूमध्य सागर क्षेत्रमा विजय हासिल गरेपछि मात्रै रोमनहरूले विश्व संस्कृतिमाथि आप्mनो छाप छोडेका हुन् । युरोपेली राष्ट्रवादको इतिहास अवश्य नै आक्रामकताले भरिएको छ । सम्भवतः यसैबाट रिसाएर प्रख्यात विद्वान् सैमुअल जोनसनले राष्ट्रवाद तथा राष्ट्रभक्तिलाई अपराधी तथा मूर्खहरूको अन्तिम शरणस्थलीको संज्ञा दिएका थिए ।

सनातन धर्मको मान्यता अनुसार पृथ्वीदेखि लिएर अन्तरिक्षसम्म शान्तिको चाहना र कामना नै राष्ट्रवाद हो । सनातन धर्मका अनुयायीहरूले कहिल्यै आफ्नो राज्य क्षेत्रको अथवा धर्म संस्कृतिको विस्तारको निम्ति हत्या, हिंसा तथा आक्रामकताको सहारा लिएनन् ।

विश्वकै प्राचीनतम ग्रन्थ वेदमा इन्द्रले वरुणलाई भनेका छन्, यो विशाल इन्द्रलोक रूपी राष्ट्रले सबैलाई प्रसन्नता दिने गर्दछ ‘बृहत् राष्ट्र देऊ इन्वति ।’ वरुण राष्ट्रका राजा हुन् । इन्द्रले वरुणलाई भनेका छन्, तिमीले मेरो राष्ट्रको अधिपत्य स्वीकार गर्नुपर्दछ । एउटा स्तुति नै छ- ‘राष्ट्रं ध्रुवं धारयतां ।’ इन्द्र र अग्नि देवताले राष्ट्र स्थिरता धारण गरून् । यहाँ इन्द्र, वरुण आदि देव नाम हुन् । तर ‘राष्ट्र’ प्राचीनताको धारणा सत्य हो । लोककल्याणको भावना लिएर ऋषिमुनिहरूले तपस्या गरे । त्यसबाट राष्ट्रको जन्म भयो ।

यस राष्ट्रवादले सम्पूर्ण विश्वलाई नै एउटा परिवार ठान्दछ । सनातन धर्मको मान्यता अनुसार पृथ्वीदेखि लिएर अन्तरिक्षसम्म शान्तिको चाहना र कामना नै राष्ट्रवाद हो । सनातन धर्मका अनुयायीहरूले कहिल्यै आप्mनो राज्य क्षेत्रको अथवा धर्म संस्कृतिको विस्तारको निम्ति हत्या, हिंसा तथा आक्रामकताको सहारा लिएनन् । हिन्दू, धर्म-संस्कृतिमा संकीर्णता छैन । यसमा उदारता र व्यापकता छ । शायद त्यही भएर होला भारतमा सैयौं वर्षसम्म मुगल र अंग्रेजहरूको शासनका बाबजुद हिन्दू धर्म-संस्कृति आज पनि विश्वव्यापी चर्चा र आकर्षणको केन्द्र बनेको छ ।

राष्ट्रवादको नारा दिने नेता अथवा शासकहरूले सधैँ यसको निम्ति आफ्नो शत्रु राष्ट्र अथवा विरोधीको पहिचान पनि गरेका हुन्छन् । किनभने कुनै विरोधी नै नभई यो नारा फलीभूत हुनै सक्दैन । नेपालमा बहुल-राष्ट्र राज्यको कुरा गर्ने र घृणा एवं द्वेषमा आधारित राष्ट्रवादको चर्को नारा लगाउने दुवै थरि अतिवादी सोचका प्रतिनिधि पात्र हुन् र यसको निन्दा हुनुपर्दछ । राष्ट्रियताको परिभाषा समय सापेक्ष हुनु आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?