केपी ओलीको प्रश्न : एउटा साझा घोषणापत्र दिन नसक्ने गठबन्धनले साझा काम कसरी गर्छ ?

हिमालय टाइम्स
Read Time = 3 mins

कालिकोट । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साझा घोषणापत्र बनाउन नसकेको सत्तारुढ गठबन्धनले साझा काम कसरी गर्छ भनेर प्रश्न गर्नुभएको छ ।

आइतबार कालिकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘ गठबन्धनले के कार्यान्वयन गर्छ, उहाँहरुको आ–आफ्नो घोषणापत्र छ ? एउटै घोषणापत्र छैन । एउटा साझा घोषणापत्र दिन नसक्नेले साझा काम कसरी गर्छ ? कुन घोषणापत्र लागु हुन्छ, उनीहरु भन्न सक्दैनन् ।’

तर, एमाले र एमालेका उम्मेदवारले इमान्दारीपूर्वक काम गर्ने अध्यक्ष ओलीको दाबी छ । ‘हामी हाम्रो उम्मेदवारको जिम्मेवारी लिन्छौँ,’ ओली भन्नुभयो, ‘हामीले कर्मठ र सक्षम उम्मेदवार उठाएका छौँ, उहाँहरुले इमान्दारीपूर्वक काम गर्नुहुन्छ ।’

यसैगरी अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झुट बोल्दै जनता ढाट्दै हिँडेको आरोप लगाउनु भयो । हरेर क्षेत्रमा एमालेले गरेको विकास देखाउँदै आफूले गरेको भनेर प्रचण्डले झुट कुरा गरेको ओलीको भनाइ थियो । उहाँले प्रचण्डले जापान भ्रमणका बेला नेपाल आउँदै नआएका जापानका पूर्वप्रधानमन्त्रीलाई आफूले नेपाल ३ पटक भेटेको भनेर विश्वलाई ढाँटेको बताउनु भयो ।

अध्यक्ष ओलीले एमालेले गरेको विकास देखेर विरोधीहरु आत्तिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले ज्येष्ठ नागरिकलाई सम्झिएर वृद्धभत्ता बाँड्यौँ । विरोधीहरू आत्तिए । उनीहरूले भ्रम फैलाइरहेका थिए । हामीलाई गाली गरिरहेका थिए । ६० वर्षमाथिकालाई गोली हानेर मार्छ भन्ने भ्रम फैलाइएको थियो । तर, हामीले घरघरमा पैसा पुर्‍याउने काम गरेपछि आत्तिए । महिनाको सय रूपैयाँबाट सुरू गरेको भत्ता अहिले ४ हजार पुर्‍याएका छौँ ।’

सडकमा फालिएका बालबालिकलाई समेत एमालेले संरक्षण गरेको उहाँले बताउनु भयो । उहाँले एमालेले पूर्व-पश्चिम राजमार्ग र रेल निर्माण सुरू गरेको उल्लेख गर्नुभयो ।

ओली आज कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्न कर्णाली पुग्नु भएको छ ।

अध्यक्ष ओलीले आजै दैलेखको जम्मुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?