काठमाडौं-३, राईविरुद्ध चालिसे भारी

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । काठमाडौं जिल्लाका १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच देशभर चुनावी तामेल भए पनि सुरुमा क्षेत्र नम्बर ३ मा विवाद देखियो । यो क्षेत्र गठबन्धनको सिट बाँडफाँटअनुसार नेपाली कांग्रेसको भागमा परे पनि स्थानीय नेताहरूबीच विवाद हुँदा गठबन्धनको घटक नेकपा माओवादी केन्द्रको तर्फबाट बद्रीप्रसाद बजगाईंले पनि उम्मेदवारी दिनुभयो । तर, लामो विवाद र प्रयासपछि माओवादी केन्द्रले बजगाईंको उम्मेद्वारी फिर्ता लिन लगाएको छ ।

प्रतिनिधिसभा क्षेत्रतर्फ काठमाडौं ३ मा राजनीतिक दल र आठजना स्वतन्त्र गरी झण्डै दुई दर्जन उम्मेदवार चुनावी मैदानमा खडा छन् । तर, मुख्य प्रतिस्पर्धा भने नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच नै हुने देखिन्छ । नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्तोष चालिसे र नेकपा एमालेको तर्फबाट कृष्णबहादुर राई हुनुहुन्छ । मुलुकका ठूला दुई दलका उम्मेदवारका कारण त छँदै छ फरक-फरक विशेषताका कारण पनि यो क्षेत्रको प्रतिस्पर्धा निकै पेचिलो बनेको छ ।

निवर्तमान सांसद भर्सेस पूर्वमेयर
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर हुनुहुन्छ । नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राई निवर्तमान प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । यो क्षेत्रमा कांग्रेस र एमालेको आफ्नै पकड भएको कारण परिणाम पनि मिश्रित आउने गरेको छ । २०७४ सालको निर्वाचनमा पाएको सफलता र गत स्थानीय तह निर्वाचनमा पनि धेरै वडा आफ्नै दलका उम्मेदवारले जितेको आधारमा एमालेले आसन्न निर्वाचनमा पनि आफूले जित्ने उम्मेदवार राईको दाबी छ । गत संसदीय निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार राईले जित हात पारे पनि यसपटक चुनाव जित्न भने त्यति सहज छैन । यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार चालिसे राईको जित दोहो¥याउने यात्रामा तगारो बन्ने परिस्थिति बनेको छ ।

चालिसे यो क्षेत्रमा स्थानीय जनतामाझ निकै लोकप्रिय मानिनुहुन्छ । चालिसे पञ्चायतको समयदेखि बहुदल र गणतान्त्रिक शासन व्यवस्थासम्म जनप्रतिनिधि भएर विकास निर्माणका काममा संलग्न रहँदै आउनुभएको छ । चार दशक लामो राजनीतिक–सामाजिक र व्यावसायिक अनुभव भए पनि प्रतिनिधिसभाका लागि भने चालिसे नयाँ हुनुहुन्छ । आर्थिक रूपमा सबल चालिसे राजनीति गर्न कसैसँग चन्दा लिनुपर्ने वा पदको दुरुपयोग गर्नुपर्ने अवस्थामा आफू नरहेको बताउँदै भन्नुहुन्छ, ‘राजनीतिमा इमान पनि हुन्छ भनेर देखाउन कोसिस जारी राखेकै छु । अब पनि त्यही इमानका साथ जनताको हितमा काम गर्नेछु ।’

एमालेले काठमाडौं-३ मा कृष्णबहादुर राईलाई नै दोहो¥याए पनि स्थानीय तहको चुनावी नतिजा भने चालिसेको पक्षमा छ । गठबन्धन दलहरूको मत एकमुष्ट गर्नसके अघिल्लो पटकका विजयी राईलाई सजिलै रोक्न सक्ने देखिन्छ । निर्वाचन क्षेत्रमा रहेको तीनमध्ये दुई स्थानीय तहको मेयर आफ्नो पार्टीले जितेको, आफू धेरै मतदाता रहेको पालिकाको मेयर भइसकेको र मेयर हुँदाको कार्यकालमा यो क्षेत्रमा गरेको विकास तथा सामाजिक कामको आधार आफ्नो जितको लागि काफी भएको कांग्रेसका उम्मेदवार चालिसेको दाबी छ । साथै, सत्ता गठबन्धनका दलहरूको साथ र समर्थन रहेकाले मंसिर ४ गते प्रक्रिया मात्र रहेको चालिसेको दाबी छ ।

२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धन थियो । नेकपा एमालेका राई वाम गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो । उक्त निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार राईले १९ हजार १६९ मत ल्याएर जित हासिल गर्नुभएको थियो । उक्त निर्वाचनमा वाम गठबन्धनसँग एक्लै लडेको नेपाली कांग्रेसका उम्मेदवार अम्बिका बस्नेतले १४ हजार ८८४ मत प्राप्त गर्नुभएको थियो । अर्थात् राईले चार हजार २८५ मतान्तरले कांग्रेसका बस्नेतलाई पराजित गर्नुभएको थियो । त्यतिबेला माओवादीको साथ पाउनुभएका राईलाई गत स्थानीय तहको मत परिणामले पनि यस पटकको निर्वाचनमा चुनौती थपिदिएको छ । अर्कोतिर जसको सहयोगमा राई निर्वाचित हुनुभएको थियो त्यो पक्षको सहयोग अहिले मुख्य प्रतिस्पर्धी चालिसेलाई छ ।

चुनावी एजेण्डा
नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले काठमाडौं उपत्यका तथा आफ्नो क्षेत्रमा भएको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधानका लागि आवश्यक पहल गर्ने मुख्य चुनावी एजेण्डा बनाउनुभएको छ । विकास निर्माणसँग जोडिएका सडक, ढल र खानेपानीको निकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने पनि उहाँको प्रतिबद्धता छ । आफू गोकर्णेश्वर नगरपालिकाको प्रमुख हुँदा विकास निर्माण र जन पक्षीय काम गरेकाले पनि आफ्नो जित निश्चित भएको उहाँको जिकिर छ ।

नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राई ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारासहित चुनावी मैदानमा होमिनुभएको छ । तर, स्थानीय समस्या एजेण्डा बनाउन सक्नुभएको छैन । सामाजिक र सांस्कृतिक परिवर्तन सहितको समाज बनाउने राईको मुख्य चुनावी एजेण्डा छ । एमालेको योजनाअनुसार गोकर्णेश्वरलाई सुविधा सम्पन्न नगरपालिका बनाएर जनताको जीवनस्तर उच्च बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको राईको भनाइ छ ।

स्थानीय तहको अंकगणित
प्रतिनिधिसभा निर्वाचन काठमाडौं क्षेत्र नं ३ मा काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिकाका गरी कुल १३ वडा समेटिएका छन् । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को ठूलो हिस्सा गोकर्णेश्वर नगरपालिकाले ओगटेको छ । अहिले पनि यहाँका मेयर कांग्रेसकै दीपककुमार रिसाल हुनुहुन्छ । गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका दीपककुमार रिसाल नौ हजार ६९२ मतसहित मेयर विजयी हुनुभएको थियो । गोकर्णेश्वरका नौ वडामध्ये पाँच वडामा एमाले, ३ वडामा कांग्रेस र एउटा वडामा स्वतन्त्र विजयी भएका थिए । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १, २ र ३ वडा पनि क्षेत्र नम्बर ३ मा पर्छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा १ र ३ मा एमाले तथा २ मा कांग्रेसले जितेको थियो । काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ पनि यस क्षेत्रमा पर्छ । उक्त वडामा नेपाली कांग्रेसले जितेको छ । वडागत मत परिणामअनुसार गत स्थानीय तह निर्वाचनमा कूल मतका आधारमा भने कांग्रेस अगाडि छ । वडाध्यक्षले पाएको मतलाई हेर्दा कांग्रेसले १५ हजार ७९५ मत ल्याएको छ । नेकपा एमालेले १४ हजार ८७६ मत ल्याएको छ । माओवादीको मत एक हजार ७३० छ ।

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा ५८ हजार ८८९ मतदाता छन् । तीमध्ये २८ हजार ८०५ पुरुष र ३० हजार ८४ महिला मतदाता छन् । उक्त क्षेत्रमा २९ मतदान स्थल र ६८ मतदान केन्द्र निर्धारण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?