हिटा विशेष टिप्पणी : कति लोकप्रिय छन् दलका नेताहरू ?

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । आउँदो निर्वाचनपछि प्रधानमन्त्रीको दाबी गर्ने उम्मेदवारहरू र अहिले नेतृत्वमा रहेका दलका उम्मेदवारहरूको लोकप्रियताको मापन गर्नुपर्ने भएको छ । संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा राजनीतिक दलका प्रमुख नेताहरू मध्ये को कति पानीमा छ र उसको लोकप्रियता कति रहेछ भन्ने संकेत कात्तिक १७ यता देखिन लागेको छ ।

(क) पाँच वर्षसम्म जनतालाई बिर्सेको परिणाम :
०४८ देखिका संसदीय निर्वाचन र स्थानीय निर्वाचनका समयमा नेतृत्वमा बस्नेहरू विभिन्न निर्वाचन क्षेत्रमा प्रचारका लागि जाने गरेका थिए । तर, योपटक पार्टीका निकै मै हुँ भनेर दाबी गर्नेहरू पनि आफ्नै निर्वाचन क्षेत्रका मतदाता जनतालाई फकाउनमै व्यस्त हुनुपरेको देखिन्छ । पाँच वर्षसम्म नागरिकको घर दैलोमा नपुग्ने, सतही गफ हाँकेर हल्ला गर्नेहरू अहिले प्रत्येक मतदाताको घरमा खुट्टा खियाउँदै दिनरात कुदिरहेका छन् । निर्वाचन प्रचारका क्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली धेरै स्थानमा पुगेको देखिन्छ भने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही स्थानमा प्रचारमा पुग्नुभएको छ । तर, अरू आफूलाई देशका नेता घोषित गर्ने र प्रधानमन्त्रीको दाबी गर्नेहरू आफ्नै क्षेत्रमा नै बन्दी जस्तो हुन पुग्नुभएको छ ।

(ख) देउवा पाँचपल्ट किन डडेल्धुरा ?
देशको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री आफ्नो जिल्ला डडेल्धुराका पाँच ठाउँमा पुगेर सम्बोधन गर्नुभयो । पाँचपटक प्रधानमन्त्री र दुई पटकसम्म नेपाली कांग्रेसको सभापति देउवा ६ पटकसम्म संसदीय निर्वाचनमा विजयी गराउने आफ्नो जन्म जिल्लाका मतदातासँग विजयको याचना गर्दै किन जानुपर्‍यो ? यसअघि उहाँ कतिपटक डडेल्धुरा पुग्नुभएको थियो यी ३२ वर्षमा ? कि डडेल्धुराका जनतालाई बालुवाटारमा नै बोलाएर ‘खुलजा सिमसिम’को मन्त्र जान्नेहरूलाई मात्रै भेट गर्नुभएको थियो कि ? नत्र यो उचाइमा पुगेको मानिसले र यति धेरैपटक जनताका घरमा पुगेको मानिस अरू उम्मेदवारका प्रचारमा जाने कि आफ्नै क्षेत्रको परिक्रमा गरेर बस्ने ? लोकप्रिय भएको भए सायद डडेल्धुरा नपुगेरै पनि उहाँका पक्षमा मत आउने थियो । तर, उहाँ आफ्नै पुराना सहकर्मीहरूको विरोध र नयाँ युवाको प्रचारसामु निरीह देखिनुभएको छ । उहाँलाई पुराना विश्वासिला सहयोगी बिपी कांग्रेसका उम्मेदवार कर्णबहादुर मल्ल र युवा उम्मेदवार सागर ढकालले जनतालाई एकोहोर्‍याउने भय व्याप्त छ । चुनावमा मत दिएर जिताएमा अनेक ठाउँमा नियुक्ति दिनेदेखि फ्री भिसा फ्री टिकटको लालच दिनुपरेको छ । देउवा आफू कति पानीमा हुनुहुन्छ यसबाटै थाहा हुन्छ । उहाँ प्रचारका लागि निर्धारित १७ कात्तिकयता जम्माजम्मी पाँच जिल्लामा पुग्नुभएको छ ।

योपटक आश्चर्य लाग्दो के छ भने ठूला पार्टीका अध्यक्षहरूको लक्ष्य सुदूरपश्चिम मात्रै देखिन्छ । झापाको आफ्नो यौटा प्रचार सभा गरी नेकपा एमाले अध्यक्ष ओली पश्चिम लाग्नुभएको छ । उहाँले दार्चुलाबाट रणनीतिक रूपमा प्रचार अभियान थालेयता कैलालीका दुई ठाउँ, डडेल्धुरा, डोटी, बैैतडी र कर्णालीका सुर्खेत, कालीकोट र दैलेखमा पुग्नुभएको छ । चितवन एकपटक पुग्नुभयो । प्रचण्डको समय गोरखा, चितवन र बाँकी केही जिल्लामा देउवासँगको सहयात्रामा पूरा भइरहेको छ ।

(ग) निर्वाचन क्षेत्रमा नै बन्दी लोकप्रियता :
तर आफूलाई जनताका बीचमा असाध्यै लोकप्रिय दाबी गर्ने पदासीनहरू भने आफ्नै निर्वाचन क्षेत्रका मतदाता फकाउन सम्पूर्ण आफ्नो ऊर्जा क्षय गरिरहेका छन् । पाँच वर्ष मुख नदेखाएको र आफ्नै पार्टीका सदस्यहरूलाई समेट्न नसकेको, आम नागरिकका चासोलाई उचित रूपमा सम्बोधन गर्न नसकेको परिणाम हो भनेर बुझ्नुपर्ने भएको छ । नेपाली कांग्रेसका चर्चित र देशको नेतृत्व दाबी गर्नेहरूमध्ये महामन्त्री गगन थापा आफ्नै क्षेत्र काठमाडौं-४ मा मात्रै व्यस्त हुनुहुन्छ । उहाँलाई समर्थन गर्न चर्चित व्यक्तित्व डा. गोविन्द केसीसमेत घरदैलोमा पुग्न बाध्य हुनुभएको छ । कांग्रेसका अरू नेताहरू उपसभापति पूर्णबहादुर खड्का सुर्खेत-१ मा सीमित हुनुभएको छ भने महामन्त्री विश्वप्रकाश शर्मा झापाको १ मा नै अल्झिनुभएको छ । अर्का उपसभापति धनराज गुरुङले स्याङ्जा छाड्न सक्नुभएको छैन । देउवाको प्रतिस्पर्धी डा. शेखर कोइराला पनि मोरङमा घुमिरहनु भएको छ । डा. शशांकको पीडा नवलपुर-१ मा नै पोखिँदै छ । अनि राजधानीबाट देश हाँक्छु भन्ने प्रकाशमान सिंह गणेशमानको नाम लिँदै काठमाडौं–१ मा नै घुमिरहनु भएको देखिन्छ ।

यी सबैभन्दा पीडित देखिनुभएको छ रामचन्द्र पौडेल । उहाँलाई पुराना सहकर्मी स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले आच्छुआच्छु खेलाइरहनु भएको छ । सायद पौडेलका लागि यो निर्वाचन जीवनको अन्तिम परीक्षण हुनुपर्छ । त्यसैकारण उहाँ अन्यत्रका कुनै पनि उम्मेदवारका निम्ति पुग्नुभएको छैन ।

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटमा ‘फ्री टिकट र फ्री भिसा’को पाठ पढाउनमा नै आफ्नो समय व्यतित गरिरहनु भएको छ । अर्का शीर्ष नेता झलनाथ खनाल इलाममा पसिना काढिरहनु भएको छ । एमालेका नेता सुवास नेम्वाङ, हुन् कि विष्णु पौडेल, ईश्वर पोख्रेल अथवा शंकर पोख्रेलले पार्टीका अर्को कुनै उम्मेदवारका पक्षमा उभिने सामथ्र्य देखाउनुभएको छैन । उपेन्द्र यादव, महन्त ठाकुरहरू पनि आफ्नै मतदाताको घरदैलोमा हात जोडिरहनु भएको छ । उहाँहरू भन्दा निकै चलायमान त राप्रपाका राजेन्द्र लिङ््देन देखिनुभएको छ । उहाँले झापादेखि काठमाडौंसम्म आएर उम्मेदवारसँग मत माग्नुभएको छ ।

(घ) आफ्ना मतदाताप्रति विश्वासको अभाव :
यो अवस्थाले के देखाउँछ भने हिजो लामो समयदेखि नेतृत्वमा रहेका वा पुगेका कसैमा पनि आफ्ना मतदाताप्रति विश्वास छैन । सबैजना निर्वाचनमा सम्भावित पराजयको आशंकाबाट त्रस्त भएका छन् र सतहमा देखिए जस्तो न शीर्ष छन् न लोकप्रिय नै । समयको संक्षिप्तता र निर्वाचन आयोगले तोकेको खर्चको सीमाको निहुँ बनाएर अन्यत्र पुग्न नसकेको वहानाको कुनै अर्थ छैन । किनकि निर्वाचन खर्चको सीमा प्रत्यक्षतः आयोगको सूचनामा सीमित छ र आचारसंहिता प्रतिदिन स्पष्टीकरण सोध्नमा व्यस्त छ । निर्वाचन क्षेत्रमा उम्मेदवारहरूबाट पालना नभएको आचारसंहिता भविष्यका लागि उदाहरणीय दस्तावेज मात्रै हुनेमा कुनै सन्देह छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?