नेपालले पहिलोपटक विश्वकप क्रिकेट आयोजना गर्ने

Read Time = 4 mins

काठमाडौं । नेपालले पहिलोपटक आइसिसी उन्नाइस वर्षमुनि (यू-१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । नेपालले यो पहिलोपटक विश्वकप आयोजना गर्नेछ । यसअघि नेपालले कुनै पनि विश्वकप आयोजना गरेको छैन ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू-१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बंगलादेशलाई संयुक्तरूपमा दिएको हो । अब नेपाल र बंगलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् ।

आइसिसीले सार्वजनिक गरेको अन्य निर्णयमा सन् २०२४ को यू-१९ पुरुष विश्वकप प्रतियोगिताको आयोजना श्रीलंकाले गर्ने भएको छ । त्यसैगरी सन् २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डले संयुक्तरूपमा आयोजना गर्नेछन् ।

सन् २०२६ को यू-१९ पुरुष विश्वकप जिम्बाबे र नामिबियाले संयुक्तरूपमा आयोजनाको जिम्मा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आइसिसीको यस किसिमको निर्णयले नेपाली क्रिकेटको खेल पूर्वाधार र खेलस्तर माथि पुर्‍याउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले पहिलोपटक आयोजनाको मौका पाएको विश्वकप सफल बनाउन सके थप प्रतियोगिता आयोजनाको मौका पाउन सक्नेसमेत बताउँदै प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने बताउनुभयो । अध्यक्ष चन्दले प्रतियोगिता सञ्चालनका लागि करिब चार वर्षको लामो समय भएकाले अब पूर्वाधार विकासका लागि सरकारसँग कुरा गर्ने बताउनुभयो । ‘यो एकदमै ठूला खुशीको खबर हो । आयोजनाको अवसरलाई हामीले खेर फाल्न दिने छैनौँ । सक्दो राम्रो गर्ने प्रयास गर्नेछौँ,’ अध्यक्ष चन्दले भन्नुभयो, ‘यो नेपाली क्रिकेटकै एक ठूलो उपलब्धि पनि हो । हामीले निरन्तर प्रयास गर्दा सफल भएका छौँ ।’

विश्वकप आयोजनाका लागि क्यानले पाँचवटा मैदानको नाम आइसिसीमा पठाएको छ । त्यसमध्ये दुईवटा मैदानमा विश्वकप आयोजना हुने उहाँले बताउनुभयो । नेपालले अन्तिमपटक घरेलु मैदानमा आइसिसीको ठूलो प्रतियोगिताका रूपमा सन् २०१० मा डिभिजन फाइभ आयोजना गरेको थियो । नेपालले फाइनलमा अमेरिकालाई पाँच विकेटले हराउँदै पहिलो आइसिसी उपाधि जितेको थियो ।

पछिल्लोपटक टियु मैदानमा ठूलो प्रतियोगिताका रूपमा एसिसी टी-२० कप २०१३ आयोजना गरेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दै आएको छ । २०२० मा आइसिसी विश्वकप लिग २ अन्तर्गत नै नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक सिरिज आयोजना गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?