बागलुङमा ५२ कैदीबन्दीसहित दुई हजार ४८ जना अस्थायी मतदाताले मतदान गर्न पाउने

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङले अस्थायी मतदाता संख्या संकलन गरेको छ । बागलुङमा दुई हजार ४८ जना अस्थायी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । उनीहरुले प्रतिनिधि सभा सदस्य तर्फ समानुपातिक मतदान गर्न पाउने भएका हुन् ।

जिल्ला कारागारमा रहेका ५२ जना कैदी बन्दी र निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी गरी दुई हजार ४८ जना अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो । निर्वाचन आयोगले निर्णय गरे अनुसार नै बागलुङमा अस्थायी मतदाताहरुले मतदान गर्न पाउन व्यवस्था गरेको उहाँको भनाइ छ ।

रिजालका अनुसार अस्थायी मतदाताले मतदान गर्नका लागि अस्थायी मतदान केन्द्रसमेत बनाइने छ । कैदीबन्दी र जिल्ला सदरमुकाम रहेका कर्मचारी तथा सुरक्षाकर्मीले जिल्ला समन्वय समितिको कार्यालय र कारागारमा निर्माण गरिने मतदान स्थलमा मतदान गर्ने पाउने उहाँको भनाई छ । सदरमुकामभन्दा बाहिर खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले पायक पर्ने मतदान केन्द्रमा मतदान गर्न पाउने व्यवस्था गरेको रिजालले बताउनुभयो ।

“यस पटक निर्वाचन आयोगले नै अस्थायी मतदाताका लागि मतदान गर्न पाउने व्यवस्था गरेको छ, सोही अनुसार हामीहरुले बागलुङमा पनि त्यो व्यवस्था मिलाएका छौँ, अस्थायी मतदाताले प्रतिनिधि सभा तर्फ समानुपातिक मतदान गर्न पाउनुहुने छ,” प्रमुख रिजालले भन्नुभयो–“त्यसका लागि जिल्ला निर्वाचन कार्यालयले दुई वटा अस्थायी मतदान स्थलसमेत निर्माण गर्ने भएको छ, एउटा जिल्ला समन्वय समितिको भव र अर्को कारागारमा हुने छ, यहाँ वरपर भएका कर्मचारी तथा सुरक्षाकर्मीले यही मतदान गर्नु हुने छ भने अन्यले पायक पर्ने स्थानमा मतदान गर्न पाउने व्यवस्था मिलाएका छौँ ।”

उहाँले निर्वाचन तयारीलाई अन्तिम चरणमा पु¥याएको बताउनुभयो । निर्वाचन आयोगले पठाएका निर्वाचन सामग्रीलाई रुजु गर्ने, प्याकेजिकङ गर्ने र मतदान स्थलसम्म पठाउनको लागि व्यवस्थापन गर्ने कार्यलाई तीव्र बनाएको बनाएको उहाँको भनाई छ । अघिल्लो पटक ठूलो संख्यामा म तबदर भएको हुँदा यसपाली गाउँ–गाउँमा स्वएमसेविका खटाएर मतदाता शिक्षा दिन थालेको रिजालले जानकारी दिनुभयो । उहाँले केही दिनदेखि जिल्लाका १० वटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षालाई तीव्र बनाएको बताउनुभयो । जिल्लामा निर्वाचन सम्बन्धि अधिकांश सामग्रीहरु आइसकेको उहाँको भनाई छ ।

प्रमुख रिजालले भन्नुभयो–“निर्वाचनका लागि समानुपातिक तथा प्रत्येक्ष तर्फको मतपत्र लगायतका निर्वाचन सम्बन्धी सामाग्रीहरु आईसकेका छन्, केन्द्रबाट आएका ति सामग्रीहरुलाई हामीहरुले रुजु गर्ने, प्याकिङ गर्ने र सम्बन्धित पालिकासम्म पु¥याउनका लागि तयारी गरि रहेका छौँ, गाउँ–गाउँमा मतदाता शिक्षा पनि संचालन भइरहेको छ ।”

रिजालले निर्वाचन प्रभावकारी रुपमा सम्पन्न गर्न सबै पालिकाहरुमा नमुना मतदान गर्न गर्न थालेको भन्दै अहिलेसम्म धेरै पालिकाले गरि सकेको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा नदिएको हुँदा मतदाताहरुलाई केही समस्या परेको भन्दै यसपाली ढिलै भए पनि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको उहाँको भनाइ छ ।

स्थानीय तहको निवर्जाचन पश्चात मतदाताको सुविधालाई ध्यानमा राखेर बागलुङमा तीन मतदान स्थल परिवर्तन र तीन मतदानस्थल थप गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–६, ढोरपाटन नगरपालिका–२ र गलकोट नगरपालिका–१० मा एक/एक वटा मतदान स्थल थप गरिएको छ । बागलुङ नगरपालिका–३ बौद्ध बिहारबाट, कालिका कन्या मावि, बागलुङ नगरपालिका–६ को वडा कार्यालयदेखि लहरेपिपल मावि र बडिगाड गाउँपालिका–८ सिद्धबारी प्राविबाट भृकुटी माविमा मतदान स्थल स्थानान्तरणको गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

बागलुङका ३५ प्रतिशत मतदान केन्द्र सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति बागलुङले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ ।

विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुन सक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थल वर्गीकरण गरिएको हो । अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्थस्थापन गरेको प्रजिअ ढकालले बताउनुभयो । सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन हुनेछन् ।

बागलुङमा स्थानीय तह निर्वाचनपछि जिल्लामा दुई हजार आठ सय नयाँ मतदाता थपिएका छन् । नयाँ थप भएका मतदाताले आगामी मङ्सिरमा हुने संघ र प्रदेश निर्वाचनमा मताधिकार हुनेछ । स्थानीय तहको निर्वाचनमा एक लाख ९३ हजार ६२४ मतदाता रहेकोमा अहिले एक लाख ९६ हजार २९७ जना मतदाता पुगेका छन् । जसमध्ये एक लाख नौ हजार ४० महिला र ९५ हजार पाँच सय १७ महिला मतदाता छन् ।

यो २०७४ को चुनावमाभन्दा २४ हजार ९४५ ले बढी हो । २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ लाख ६७ हजार २८२ मतदाता थिए । यस पटक महिला ९८ हजार ६४३ र पुरुष ९३ हजार ५८४ जना छन् । सबैभन्दा धेरै मतदाता निर्वाचन क्षेत्र नम्बर १ मा छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार क्षेत्र नम्बर १ मा ९६ हजार ६ सय ६६ र क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ जना मतदाता छन् ।

प्रदेश तर्फ बागलुङ क्षेत्र नम्बर १ को (क)मा ५० हजार ५ सय ८० जना र (ख) मा ४६ हजार ८६ जना मतदाता रहेका छन्भने क्षेत्र नम्बर २ को (क)मा ५४ हजार ३ सय ३४ र (ख)मा ४१ हजार २ सय २७ जना मतदाता रहेको सूचना अधिकारी शर्माले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?