विकर्ण बन्ने कि युयुत्सु विचार जनताको

Read Time = 17 mins

मणि शर्मा

जब नेताहरूलाई आफ्नो मुलुकको गौरवशाली अतीतको ज्ञान हुँदैन, जब उनीहरू आफ्नो गौरवशाली अतीतलाई घृणा गर्दै त्यसको अस्तित्व मेटेन चाहन्छन्, आफ्नो इतिहास र इतिहास पुरुषहरूको गौरवगाथाहरूको अपमान गर्न थाल्दछन् तब त्यो मुलकको अस्तित्व अवसानको दिशातिर जान्छ । यही अवसानको दिशालाई उनीहरूले अहिले अग्रगमन र आफ्नो गौरवशाली इतिहासको रक्षा गने चाहनेहरूको कार्यलाई प्रतिगमन भन्ने गर्छन् । आफ्नो इतिहास, आफ्नो धर्म र संस्कृतिको रक्षा गर्न निस्केकाहरू जिउँदा मान्छे हुन् र जो आफ्नो इतिहासलाई मेट्न चाहन्छ तिनीहरू मृत पुरुष हुन् । जिउँदा माछामात्रै पानीमा उल्टो र सुल्टो पौडिन सक्छन्, मरेका माछाहरू पानीले जता लग्छ उतै बग्छन् ।

आज चुनावको मुखमा आफूलाई अग्रगमन शक्ति भन्ने गठबन्धन मिलेर चुनाव लड्दा पराजयको मानसिकताले ग्रस्त छन् । यहाँ कुनै एकजनामात्र होइन प्रत्येक कांगे्रस उम्मेदवार पराजयको डरले कम्पित छन् । उनीहरूसँग रेडिमेड मुद्दाबाहेक अरू कुनै मुद्दा नै छैन । उनीहरूको गठबन्धनले संसद्बाट गठबन्धनको सर्वसम्मतिबाट पारित गरेका एमसिसी तथा नागरिकता विधेयकका फाइदाहरू के के हुन् भनेर जनता माझ जान सकेका छैनन् । पुष्पकमल दाहाल र शेरबहादुर देउवाले केन्द्रमा बसेर गठबन्धनका लागि भोट मागिरहे पनि जिल्लाहरूमा माओवादी नेता तथा कार्यकर्ताले कांग्रेस उम्मेदवारलाई जिताउन सौदाबाजी गरिरहेको चर्चा व्यापक छ । चुनावअगाडिको दुई रात प्रलयको रातको रूपमा चिनिन्छ ।

एउटा टिभी कार्यक्रमको प्रस्तुतकर्ताको आर्थिक हैसियत केही वर्षयता कसरी यतिमाथि चुलियो ? पत्रकार रातारात धनाढ्य हुने भए सबै पत्रकारहरू हुनुपर्ने हो । रवि लामिछानेको आर्थिक फड्कोको रहस्य के हो ? उनीसँग भ्रष्टाचार रोक्छु भन्नेबाहेक अरू कुनै मुद्दै छैनन् ।

यही प्रलय रात्रिका लागि करोडौं रुपैयाँ बाँड्न उम्मेदवारहरूले छुट्याएका छन् । गठबन्धन मिल्दा पनि करोडौं खर्च गर्नु पने यो कस्तो गठबन्धन हो ? एकीकृत समाजवादीको अवस्था त ज्यादै नाजुक छ । जहाँ जहाँ एकीकृत समाजवादीको गठबन्धन छैन त्यहाँ त्यहाँ उनीहरूले उठाएको उम्मेदवार जित्नका लागि नभएर आफ्ना मतदाताहरूको मत थोकमा बेच्न उठेका छन् । स्थानीय चुनावमा पनि यो खेला भएकै थियो ।

अहिले भारत, अमेरिका र पश्चिमा मुलुकहरू पनि गठबन्धनलाई जिताउन आफ्नो तर्फबाट भित्री प्रयास गरिरहेका छन् । चीन पनि आफ्नो सुरक्षाप्रति संवेदनशील भएर यो चुनावमा आफ्नो भूमिका खोज्न चीनका सहायक मन्त्रीको नेपाल भ्रमण भएको हो । मिडियाले चीनका मन्त्रीको भ्रमणलाई मात्र भँगेरा अक्षरले लेख्यो तर राष्ट्रिय स्वयं सेवक संघका मर्यादाक्रममा दोस्रो व्यक्ति सुटुक्क गोप्यरूपमा नेपालगञ्ज आएर गए । यो खबर कुनै मिडियाले लेखेनन् । उनको गोप्य भ्रमणलाई किन उजागर नगरेर गोप्य राखियो ? उनी किन नेपालगञ्ज आएर गए यो चुनावको मुखमा ? आफ्ना भरपर्दो अनुचरहरू कमजोर हुँदै गएको देखेर पश्चिमा शक्तिले रवि लामिछानेलाई प्रयोगका लागि अगाडि बढाएको छ ।

एउटा टिभी कार्यक्रमको प्रस्तुतकर्ताको आर्थिक हैसियत केही वर्षयता कसरी यतिमाथि चुलियो ? पत्रकार रातारात धनाढ्य हुने भए सबै पत्रकारहरू हुनुपर्ने हो । तर, रवि लामिछानेको आर्थिक फड्कोको रहस्य के हो ? उनीसँग भ्रष्टाचार रोक्नेबाहेक अरू कुनै मुद्दा नै छैन । भारतले मिचेको भूमिका बारेमा उनी बोल्दैनन् न त धर्म निरपेक्षता र गणतन्त्रको विरोधमा बोल्छन् । उनी वाक्पटु छन् । राजनीतिक कलाकारिताको ठूला कलाकार हुन् । त्यसैले पनि उनीप्रति आकर्षण बढेको छ । उनले उठाएका उम्मेदवारहरू युवा छन्, शिक्षित छन्, दूरदृष्टि भएका छन् र स्वच्छ छविका छन् । तर, के गर्ने ? रवि लामिछाने नै विदेशी शक्तिको कठपुतली भएपछि ।

उनको डोरी विदेशी शक्तिकेन्द्रको हातमा छ, उनीहरूले जसरी नचाउँछन् उनी त्यसरी नै नाच्ने हुन् । त्यसमाथि निर्वाचन आयोगको भूमिका नकरात्मक भए पनि रवि लामिछानेको पार्टीलाई सहयोग गर्ने खालको छ । सुरुमा तोसिमा कार्कीको उम्मेदवारी खारेज गरियो । अदालतले उनलाई जिताएपछि उनीमाथि घण्टी बजाउन प्रतिबन्ध लगाए । घण्टी बजाउँदा प्रदुषण फैलाउँछ भनेर यसरी तोसिमा कार्कीलाई झन् लोकप्रिय बनाइदिए । निर्वाचन आयोगलाई घण्टी बजाउँदा प्रदुषण फैलिँदैन बरू यसले फाइदा गर्छ भन्ने थाहा नभएरै हो र ? कि घण्टीको प्रचार गर्न प्रतिबन्ध लगाएका हुन् ?

कन्द पुराणअनुसार घण्टी बजाउँदा मानिसको पाप नष्ट भएर जान्छ । जब पृथ्वीको सृष्टि भयो तब जुन नाद (आवाज) थियो त्यो त्यही घण्टी वा घण्टाको ध्वनिबाटै त्यो निस्किएकौ हो । यही नाद ओमाकारको उच्चारणबाट पनि आउँछ । घण्टी वा घण्टालाई कालका प्रतीक पनि मानिन्छ । शास्त्रअनुसार जब प्रलयको बेला आउनेछ तब यस्तै प्रकारको नाद प्रकट हुनेछ । मन्दिरमा घण्टी बजाउनुको वैज्ञानिक कारण छ । वैज्ञानिकहरूको भनाइ छ कि जब मन्दिरमा घण्टी बजाइन्छ तब वातावरणमा कम्पन उत्पन्न हुन्छ, जुन वायुमण्डलको कारणले धेरै टाढासम्म जान्छ । यसले यस क्षेत्रमा आउने सम्पूर्ण जीवाणु, किटाणु र सूक्ष्म जीव आदिलाई नष्ट गर्छ । जसले गर्दा मन्दिरको चारैतिरको वातावरण शुद्ध गर्छ ।

नियमितरूपमा घण्टी बजाउने ठाउँ शुद्ध र पवित्र रहन्छ र यसले नकरात्मक शक्तिहरूलाई हटाएर समृद्धिको द्वार खोल्छ । पूजादि गर्दा पहिला घण्टी बजाएर आफू ईश्वरसमक्ष आएको उपस्थिति जनाउनु हो । अर्को, मन्दिर वा पूजाकोठामा भएका देवी देउताहरू मूर्तिहरूमा चेतना जगाउनु हो । घण्टीको मनमोहक एवं कर्णप्रिय ध्वनिले मनमा शान्तिको अनुभव हुन्छ । मन्दिरमा बज्ने घण्टीले मस्तिष्कलाई आध्यात्मतिर तान्छ, मनलाई शान्ति प्रदान गर्छ र पापहरूको नष्ट गर्छ । तर, के सनातन धर्म सापेक्ष राष्ट्र र यसको अभिभावक राजाको विरोधी रवि लामिछाने धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले आफ्नो दलको चुनाव चिहृन घण्टी राखेका हुन् ? कदापि होइन । घण्टीले सनातन धर्मावलम्बीको भावनाको मोलमोलाई गर्न घण्टी चिहृन राखेका हुन् । किनकि घण्टीसँग सनातन धर्मावलम्बी जनताको हृदयदेखिको सम्बन्ध छ ।

निर्वाचन आयोग र स्थानीय प्रशासन आफैँ स्वतन्त्र र नयाँ दलहरूको प्रचार गरिरहेका छन् । सागर ढकाललाई स्थानीय प्रशासनले माइकिङ गर्न रोक लगाएर उनकै प्रचार गरिदियो । निर्वाचन आयोगको गतिविधि शंकास्पद छ । आवश्यकता भन्दा अस्सी लाखभन्दा बढी मतपत्र किन छापियो ? प्रशासन र प्रहरी सत्तापक्षकै ताबेदार छन् । हिजो पनि थिए आज पनि छन् । त्यसमाथि भारतीय मिडिया जि टिभीले ओलीले दार्चुलामा गएर आफ्नो नेतृत्वको सरकार बनेपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता लिन्छु के भनेका थिए यसैलाई हाइलाइट गरेर ओलीलाई नेपाली जनतामाझ देशभक्त नेता भनेर परिचय गराइयो । हुन त सक्कली देशभक्तहरूलाई इण्डिया, अमेरिकाले कहाँ छोड्छ र ?

सनातन धर्मविरोधी तथा गणतन्त्रवादी नेताहरूमध्ये ओली सबैभन्दा योग्य छन् । सनातन धर्मका धेरै कुराहरू, श्लोकहरू उनलाई कण्ठस्थ छ र ज्ञान पनि छ । खेलकुद, गायन, बाद्य आदिमा पनि उनी सिपालु नै छन्, श्रोतालाई हँसाउन उनी कुनै कमेडियनभन्दा कम छैनन्, विदेशी मिडियालाई दिने अन्तर्वार्तामा पनि उनीबाट राष्ट्रियताको कुरा झल्किने गर्छ । भूगोलको हैसियतमा दुई देशको सम्बन्ध दाइ र भाइको हुँदैन, प्रधानमन्त्री र राष्ट्रपति ठूला देश वा साना देशको बराबर हैसियतका हुन्छन् आदि कुराले उनमा राष्ट्रवाद भएको झल्किन्छ । राम मन्दिर स्थापना गरेर र चुचे नक्सा निकाल्ने हिम्मत गरेर उनले भारतसँग पंगा लिएकै हुन ।

यसै कारण भारतले पार्टी फुटाएर भए पनि उनको नेतृत्वको सरकार ढाल्यो तर यी सबै काम उनको मौसमी हो । राष्ट्रवाद मौसमी हो, सनातन धर्मी हुनु मौसमी हो । ऋतुअनुसार आफ्नो र एमालेको हितका लागि उनको विचार ऋतु अनुसार बदली रहन्छ । ज्ञान तथा वाक्कलामा नेपालका अरू नेताहरू उनको एक अंश पनि छैनन् । उनी मौसमी राष्ट्रवादी तथा सनातन धर्मावलम्बी हुन् । पुष्पकमल दाहाल एउटा अस्थिर नेता हुन् । नेपालमा अस्थिरताको जड नै उनी हुन् । उनको व्यवस्थापनको लागि उनलाई राजनीतिबाट बिदा गर्दै उनको दललाई दुई तीन सिटमा सीमित गर्नु पर्छ । गोरखावासीले पृथ्वीनारायण शाहलाई सम्झिँदै उनलाई अपमान गर्ने पुष्पकमललाई राजनीतिबाट विदा गर्नुपर्छ । पुष्पकमलको बाध्यता भारत र अमेरिका हो । अमेरिकाले उनलाई आतंककारीको सूचीबाट हटाएको छैन । उनी यस्तो भीडमा छन् एकातिर इनार अर्कोतिर भीडबाट लडे सोझै अतल गहिराइमा पुगिने डर छ । उनी यो बाध्यताबाट जीवनभरि उम्किन नसक्ने भएका छन् ।

मुलुकलाई स्थिर तथा उन्नत बनाउन सनातन धर्मसापेक्ष प्रणाली आवश्यक छ । कौरवका सय भाइमध्ये युयुत्सुले मात्र कुरुक्षेत्रको युद्धमा पाण्डवलाई साथ दिएका थिए । उनी नैतिकता तथा धर्मको पक्षमा भएकोले पाण्डवको पक्षबाट युद्ध लडेका थिए ।

भारतको भावना स्वीकारेको नेपाली कांग्रेस अहिले अमेरिकन लबीमा छ । देउवा प्रधानमन्त्री भए पनि अमेरिकाले स्थापित गराइदिएकी आरजूले पर्दापछाडि पार्टी र सरकार चलाइरहेकी छिन् । कांग्रेसलगायत दलहरूभित्र धेरै नेताहरू इण्डो अमेरिकन लबीका छन् । दिगो आर्थिक विकासविना प्रजातन्त्र एउटा अस्थिर, अराजक र भ्रष्ट शासन प्रणाली बन्छ । हावादारी गफबाहेक कुनै दलसँग मुलुकलाई समृद्ध बनाउने योजना नै छैन, उही पुराना दल, उही पुराना अनुहारले देश समृद्ध हुन सक्दैन । हाम्रो निर्वाचन प्रणाली पनि प्रजातान्त्रिक छैन । धनबल तथा बाहुबल र धाँधली नै निर्वाचन जित्ने आधार भएको छ । गरिबीको मारमा परेका मतदाता केही रुपैयाँ, एकजोड लुगा र एकछाक भतेरको सट्टामा मतदान गर्ने गर्छन् ।

अधिकांश मतदाता अशिक्षित छन्, राजनीतिक चेतना छैन । जाति, धर्म र भाषामा बाँडेका छन् मतदाताहरूलाई दलहरूले । मतदातालाई नचलाइकन स्वतन्त्ररूपमा मत खसाल्न दलहरूले दिँदैनन् । नाना प्रलोभन तथा सपनाको व्यापार गरेर मतदातालाई दिग्भ्रमित पारिरहेका छन् । यो निर्वाचन प्रणाली नै अप्रजातान्त्रिक छ । त्यसैले शासन व्यवस्था पारदर्शी छैन । राजनीतिमा विचार तथा सिद्धान्तको बलमा राजनीतिक उकालो उक्लिने मनोविज्ञान नेताहरूमा नभएकाले कुनै न कुनै विदेशी शक्तिकेन्द्रको भर नपरी आफ्नो स्वार्थ सिद्ध गर्ने अधिकांश नेताहरू भएकाले मुलुक अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको खेलमैदान भएको छ र आगामी दिन झन् भयावह छ । त्यसैले यसको विकल्प चाहिन्छ ।

मुलुकलाई स्थिर तथा उन्नत बनाउन सनातन धर्मसापेक्ष प्रणाली आवश्यक छ । कौरवका सय भाइमध्ये युयुत्सुले मात्र कुरुक्षेत्रको युद्धमा पाण्डवलाई साथ दिएका थिए । गान्धारी गर्भवती हुँदा धृतराष्ट्रले वैश्य वर्णकी दासी सुघडाबाट युयुत्सुलाई जन्माएका थिए । उनी नैतिकता तथा धर्मको पक्षमा भएकाले पाण्डवको पक्षबाट युद्ध लडेका थिए । हुन त कौरवमध्ये एक भाइ विकर्ण पनि दुर्योधनको षड्यन्त्र, पापकर्म र गलत योजनाहरूको विरोधी थिए । उनी पनि धर्मको पक्षमा थिए तर परिवारप्रति बफादार भएकोले कौरवतिर लागे र युद्धमा मारिए तर युयुत्सु बाँच्न सफल भए र पाण्डवहरूले सन्यास लिएर हिमालयतिर प्रस्थान गर्नुपूर्व युधिष्ठिरले उनलाई नाति परीक्षितको अभिभावक भएर राजकाज चलाउने जिम्मेवारी दिएका थिए । अब जनता विकर्ण बन्ने कि युयुत्सु आफैंले निर्णय गर्ने बेला यही हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?