छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित सडकमा हाल नम्बर नखुलेको गाडीले लु.४९ प ४१८१ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बाणगंगा नगरपालिका-५ कोपवा बस्ने २६ वर्षीय प्रदिप चौधरी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्करमा संलग्न गाडी तथा चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-११ मुग्लाहास्थित सडकमा तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको लु.३४ प ७७२२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका मुग्लाहा बस्ने ६५ वर्षीया कपुर निशा छन् । उनको आइतबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाराको निजगढ नगरपालिका-१ चौबाटोस्थित सडकमा ना.६० प ८६६७ नम्बरको स्कुटर आइतबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने २७ वर्षीया रितिका गुरोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि वीरगन्ज नेशनल हस्पिटल पर्सा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार उनको श्रीमान र छोराको सोही अस्पतालमा उपचार भइरहेको छ ।

झापाको दमक नगरपालिका-५ स्थित सडकमा प्र.१-०२-०४५ प १८५३ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने ३० वर्षीय दिनेश राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई लाईफ लाईन अस्पताल दमक हुँदै थप उपचारको लागि बिर्तासिटि बिर्तामोड रिफर गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?