युएईसँग नेपालको फराकिलो हार

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । युएईविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले ८४ रनको फराकिलो हार बेहोरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा युएईले एक-शून्यको अग्रता लिएको छ । जितका लागि २६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा नौ विकेट गुमाउँदै १७९ रनमात्रै बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्नुभयो । ८४ बलमा उहाँले ६ चौकासहित ५४ रन बनाउनुभयो । यस्तै, डेब्यु खेल खेल्नुभएका अर्जुन साउदले ७९ बलमा पाँच चौकासहित ५१ रन जोड्नुभयो ।

पाँचौँ विकेटका लागि दीपेन्द्र र अर्जुनले ६८ रनको साझेदारी गर्नुभएको थियो । अर्जुन ३१औँ ओभरको पहिलो बलमा रोहन मुस्तफाको बलमा बोल्ड हुनुभएको थियो ।

युएईका लागि १७ वर्षीय स्पिनर आयन अफ्जले डेब्यु ओडिआई खेल खेल्दै सानदार प्रदर्शन गर्दै चार विकेट लिएपछि युएईले सानदार जित हात पारेको हो । डेब्युको पहिलो बलमै आयनले आसिफ शेखलाई १२ रनमा एलबिडब्लु आउट पार्नुभएको थियो । त्यसको एक बलपछि ज्ञानेन्द्र मल्ल कभरमा एलिशान शराफुबाट शून्यमा क्याच हुन पुग्नुभयो ।

आयनले नै नवौँ ओभरको पहिलो बलमा कप्तान रोहित पौडेललाई एक रनमा बोल्ड पार्नुभयो । बासिल हामिदले हरिशंकर शाहलाई आठ रनमा आउट गरेपछि उहाँले ४१–४ को अवस्थामा पु¥याउनुभयो । सोमपाल कामी र करण केसीले तीन-तीन रन बनाउनुभयो । गुलझन झा ३४ बलमा एक चौका र एक छक्कासहित १९ रनमा अविजित रहनुभयो ।

युएईका आयन अफ्जल खानले १० ओभरमा चार मेडनसहित १४ रन खर्चेर चार विकेट लिनुभयो । बासिल हामिदले ६ ओभरमा एक मेडनसहित १८ रन खर्चेर २ विकेट लिनुभयो । युएईका जहुर खान, रोहन मुस्तफा र अहमेद राजाले एक-एक विकेट लिनुभयो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २६३ रन बनायो । युएईका रोहन मुस्तफाले ७३ बलमा सात चौकासहित ५३ रन बनाउनुभयो । मुस्तफाले नेपालविरुद्ध यो दोस्रो अर्धशतक प्रहार गर्नुभएको हो ।

यस्तै, मोहम्मद वासिम ४४ रनमा बोल्ड हुनुभयो । वासिमले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गर्नुभयो । युएईका कप्तान सिपी रिजवान दुई रनमा आउट हुनुभयो । वृत्य अरविन्दले ८२ बलमा ६ चौकासहित ४० रन बनाउनुभयो । तेस्रो विकेटका अरविन्द र रोहन मुस्तफाले ५२ रनको साझेदारी गर्दै युएईको इनिङ्स अघि बढाउनुभएको थियो ।

एलिशान शारिफ २९ रनमा पवेलियन फर्कनुभयो । उहाँले ३९ बलमा २ चौका प्रहार गर्नुभयो । त्यसबाहेक बासिल अहमदले १६ बलमा एक चौकासहित १४ रन, आयन खानले २८ बलमा एक चौका र एक छक्कासहित २६, मोहम्मद राजाले १६ बलमा एक चौका र दुई छक्कासहित २७ रन बनाउनुभयो ।
नेपालका तीव्र गतिका बलर गुलशन झाले ६ ओभरमा २६ रन खर्चेर दुई विकेट लिनुभयो । सोमपाल कामीले १० ओभरमा ६७ रन खर्चेर एक तथा दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा ३० रन खर्चेर एक विकेट लिनुभयो ।

यसै खेलमार्फत् युवा विकेटकिपर अर्जुन साउद र हरिशंकर शाहले नेपाली टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गर्नुभएको छ । राष्ट्रिय टोलीको औपचारिकरूपमा कप्तान घोषणा भएपछि रोहितको पनि यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

नेपाली प्लेइङ-११ मा आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), हरि शंकर, करण केसी, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी हुनुहुन्थ्यो । खेलमा मोहम्मद आदिल आलम, सागर ढकाल, भीम सार्की, कमलसिंह ऐरी र आरिफ शेखलाई भने बेन्चमै राखिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?