जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 7 mins

जुम्ला ।आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी जुम्लामा तीब्र गतिमा भइरहेको छ । सो निर्वाचनका लागि जिल्लाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रगरी १३ जना प्रतिस्पर्धामा उत्रिएका छन् । एक निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रतिनिधिसभामा चार जना र दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा नौजना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा नेपाल मजदूर किसान पार्टी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराएका मध्ये प्रमुख दल सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गोमा गौतम कुवरँ,नेकपा एमालेबाट रतननाथ योगी, राप्रपाका ज्ञानेन्द्र शाही र नेपाल मजदूर किसान पार्टीबाट डिल्ली प्रसाद काफ्ले चुनावी प्रतिपर्धामा हुनुहुन्छ । यस्तै प्रदेशसभातर्फ क्षेत्र १ (क) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका ललितजंग शाही, एमालेका धिरेन्द्रराज गिरी, नेमकिपाबाट राजेश्वर देवकोटा र स्वतन्त्रबाट देवेन्द्र बहादुर शाही प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रदेशसभा क्षेत्र २ (ख) मा गठबन्धनबाट एकिकृत समाजवादीका पदम बहादुर रोकाया, नेकपा एमालेका टेकराज पछाई, नेमकिपाका विर्षबहादुर रावत, राप्रपाका देवप्रसाद न्यौपाने र स्वतन्त्रबाट धनबहादुर बस्नेत प्रतिस्पर्धामा हुनुहुन्छ । बाटो, पुल, सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी जस्ता विषयवस्तुलाई नै यहाँका उम्मेदवारले प्राय चुनावी एजेण्डा बनाउनु भएको छ ।

निर्वाचनका लागि जुम्लामा ८३ वटा मतदानस्थल र १०६ वटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएकोे जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा कुल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा निर्वाचन (क) मा ३६ हजार ७८३ र प्रदेशसभा (ख) मा ३१ हजार ८५५ मतदाता रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा निर्वाचन आचारसंहिताको बारेमा आफूहरुले सुक्ष्म ढङ्गले अनुगमन गरिरहेको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले बताउनुभयो । “अहिले सम्म आचारसंहिता उल्लंघनका घटना खासै जिल्लामा भएका छैनन”, निर्वाचन अधिकृत गौतमले भन्नुभयो,“ मतदना अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिने निर्वाचन सम्बन्धी तालिम संचालन भइरहेको छ ।

तालिम सकिए लगतै सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई कार्य क्षेत्रमा नियुक्ति दिएर खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा आठ सय ४८ कर्मचारी र एक हजार आठ सय सुरक्षाकर्मी सहित म्यादी प्रहरी निर्वाचनमा परिचालन हुने जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताउनुभयो ।

जिल्लाका आठवटै स्थानीय तहमा नमुना मतदान कार्यक्रम संचालन भइसकेको छ । यहाँका ६० वटै वडाका महिला स्वास्थ्य स्वयंमसेविकालाई मतदाता शिक्षाका लागि परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो । गते वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा काग्रेसले पाँच पालिको प्रमुख,तीन उपप्रमुख सहित २६ वडाध्यक्ष जितेको छ । माओवादी केन्द्रले दुईवटा पालिका प्रमुख, चार उपप्रमुख,१९ वडामा अध्यक्ष जितेको छ । एकिकृत समाजवादीले एक पालिकाको उपाध्यक्ष सहित ६ वडाध्यक्ष जितेको छ ।

नेकपा (एमाले) ले कुनैपनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हाँसिल गर्न सकेन । जिल्लाका ६० वडामध्ये ६ वडाध्यक्ष मात्रै एमाले जितेको छ । राप्रपाले कुनै वडाध्यक्ष जितेको छैन । गएको वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा जुम्लाको वडाध्यक्षले पाएको मतका आधारमा हेर्दा सत्ता गठबन्धन निकै बलियो र प्रभावशाली देखिएको छ । कांग्रेसको १६ हजार ७५ मत पाएर सबैभन्दा ठुलो र बलियो पार्टी भएको छ । नेकपा (माओवादी) केन्द्रले १४ हजार १७५ मत पाएको जिल्लामा दोस्रो ठुलो पार्टी बनेको छ । एकीकृत समाजवादीका उम्मेदवारले ६ हजार १९५ मत पाएका थिए । सत्ता गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा जुम्लाको प्रतिनिधि सभामा एमाले ३० हजार मतले पछि छ । एमालेले वडाध्यक्षमा ६ हजार ९६२ मत पाएको थियो । राप्रपाले ५४० मत मात्र वडाध्यक्षमा पाएको थियो । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?