दुबईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

Read Time = 5 mins

काठमाडौं । नेपाल युएई उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले हालै दुबईमा विभिन्न कार्यक्रम गरी नेपालमा लगानी र पर्यटन प्रवद्र्धनका लागि त्यहाँका व्यवसायीलाई आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार अग्रवालको अध्यक्षताको १३ सदस्यीय प्रतिनिधिमण्डलले दुबई चेम्बर, र्‍याक चेम्बर, नेपाली दूतावास दुबई तथा फेडरेसन अफ दुबई चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीसँग छलफल तथा अन्तरक्रिया गर्दै व्यापार र पर्यटन अभिवृद्धिका लागि पहल गरेको हो ।

नेपाल युएई उद्योग वाणिज्य संघ गठनपछिको पहिलो दुबई भ्रमण ऐतिहासिकरूपमा सफल भएको र भ्रमणले द्विपक्षीय सम्बन्ध विस्तार तथा नेपालको आर्थिक विकासमा सकारात्मक परिणाम ल्याउने संघका अध्यक्ष अग्रवालले दाबी गर्नुभएको छ । संघको उद्देश्य द्विपक्षीय व्यापार सम्बन्ध प्रवद्र्धन गर्नु र युएईमा नेपाली व्यापार तथा पर्यटन प्रवद्र्धनका अवसर खोजी गर्नुका साथै नेपालमा युएईको लगानी आकर्षित गर्नु रहेकोमा सफल भएको उहाँको जिकिर छ ।

अध्यक्ष अग्रवालले भन्नुभयो, ‘हामीले नेपालमा व्यापारका अवसरबारेमा त्यहाँका व्यवसायीलाई जानकारी गरायौँ, उहाँहरू सकारात्मक देखिनुभएको छ, नेपालमा कुनै पनि व्यापारिक लगानीका लागि सहयोगी संस्थाका रूपमा हाम्रो संघ तयार छ भनेर जानकारी दिएका छौँ र यसले दुबईको लगानी यहाँँ ल्याउन सहयोग पुग्नेछ ।’

संघले दुबई चेम्बर्समा उमर अब्दुल्लालिज अल खान नेतृत्वको टोलीसँग फलदायी भेट भएको जनाएको छ । उमरले नेपालसँग गरेको पहिलो व्यापारिक प्रतिनिधिमण्डलको भेट भएको र पहिलो बैठक भए पनि दुबई चेम्बरले अन्य सरकारी संस्थासँग जोड्न र युएईमा रहेका नेपाली कामदारको सीप विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । सो अवसरमा युएईमा फलफूल तथा तरकारी निर्यात सम्बन्धमा नियमावलीमा स्पष्टता दिन सहयोग गर्ने सहमति भएको संघलको भनाइ छ । भ्रमणका क्रममा संघले आरएके चेम्बरसँग विस्तृत व्यापारिक छलफल गरेको छ । जुन रास अल खैमाह र नेपालबीचको व्यापारिक सम्बन्ध बढाउने उद्देश्यसाथ समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

संघका अनुसार आरएके चेम्बरले नेपाललाई मार्चमा हुने प्रदर्शनीमा नेपाली व्यवसायीलाई स्टल उपलब्ध गराउने भएको छ । उनीहरूले र्‍याक र नेपालबीच व्यावसायिक उडान पुनः सुरु गर्न इच्छुक रहेको र कृषि अवसरमा निकै चासो देखाएको छ । प्रतिनिधिमण्डलले युएईस्थित नेपाली दूतावासबीचको घनिष्ठ सहकार्यबाट दुई देशबीचको व्यापार कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छ । साथै संघले दुबईस्थित नेपाली राजदूतलाई दुई देशबीचको व्यापारिक सम्बन्ध बढाउन जिम्मेवार दूतावासमा समर्पित व्यक्ति उपलब्ध गराउन आग्रह गरेकोमा दूतावासले पूर्ण सहयोगको आश्वासन दिएको संघले जनाएको छ ।

संघले फेडरेसन अफ युएई चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजसँग पनि छलफल गरेको थियो । फेडरेसनका महासचिव हमिद बीन सलेम र इकोनोमिक डेभलपमेन्ट निर्देशक अहमद जमाह अल गाइजीसँग भएको भेट दुवै देशबीचको व्यापारिक सम्बन्ध बढाउन फलदायी भएको संघका अध्यक्ष अग्रवालले बताउनुभएको छ । चारदिने भ्रमण टोलीमा संघका अध्यक्ष अग्रवालसहित उपाध्यक्ष जीवन भण्डारी, कार्यसमिति सदस्य निशान राजभण्डारी, अनोज रिमाल र समिर थापा, सदस्यहरू शिवप्रसाद घिमिरे, सुदीप घिमिरे, विमलकुमार सवार्थिया, रमिन्द्र न्यौपाने, अञ्जन भण्डारी, विनय उपाध्याय, विजयकुमार चौधरी र सुनिलभक्त श्रेष्ठ रहनुभएको संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?