पानी चुहावट हुँदा दिक्तेल बजारका उपभोक्ता हैरान

हिमालय टाइम्स
Read Time = 5 mins

खोटाङ । दिक्तेल बजारमा सञ्चालनमा ल्याइएको दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानी चुहावट हुँदा उपभोक्ता हैरान भएका छन् । ०७८ चैतदेखि सञ्चालनमा ल्याइएको खानेपानी आयोजनाको पाइपलाइनको इलेक्ट्रिकल फ्युजनको काममा त्रुटि हुँदा दिक्तेल बजारको रत्नपार्क क्षेत्रमा पानी चुहावटको समस्या निम्तिएको हो । ढलानले पुरिएको पाइपको कनेक्सन सकेटबाट पानी चुहिँदा कतिपय घरभित्र पानी निस्कने र घरै भासिने समस्या देखिएको हो । पानी चुहावटको समस्या दिक्तेल बजारको किरातचोक (रत्नपार्क) क्षेत्रमा बढी देखिएको छ ।

दिक्तेल शहरी खानेपानी तथा सरसफाइ योजनाको ६/६ मिटरको पाइपलाइनलाई फ्युजन गरेर जडान गरिएको छ । त्यही पाइप फ्युजनका क्रममा कमजोरी हुँदा हाल पानी चुहिने समस्या निम्तिएको हो । हाल चुहावट भएर पानी निस्कएको ठाउँमा सडकको ढलान काटेर टाल्ने गरिएको छ । चुहावट भएको पाइप जडानका क्रममा सडकको ढलान ठाउँठाउँका प्वाल पार्नुपर्ने बाध्यता छ । ठाउँ-ठाउँमा प्वाल बनाउँदै टाल्दै गर्दा सडक ढलान जीर्ण बन्दै गएको स्थानीय बताउँछन् ।

रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका एक हजार ४९ घर उपभोक्तालाई प्रशोधन गरिएको स्वच्छ र गुणस्तरीय पानी वितरण गरिएको छ । वर्षामा पानी परिरहेको बेला पाइपलाइनको इलेक्ट्रिकल फ्युजनको काम गरिएकाले हाल समस्या देखा परेको रम्बाखोला माझखोला सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव नवराज जोशीले बताउनुभयो । ‘वर्षाको बेलामा काम गरियो । इलेक्ट्रिकल फ्युजन राम्रो बनाउन करिब आधा घण्टा सेलाउनुपर्ने रहेछ । तर, पानी परिरहेकाले सेलाउन पाएन । तत्कालै पुरपार गर्ने काम गरियो,’ जोशीले भन्नुभयोे, ‘इलेक्ट्रिकल फ्युजनको काम राम्रो नहुँदा अहिले पानी चुहिने समस्या आएको हो । वर्षामा इलेक्ट्रिकल फ्युजनको काम गरिएको ठाउँमा मात्र यो समस्या छ । अरू ठाउँमा यो समस्या छैन ।’

पानी चुहावटको विषयमा अध्ययन गर्न समिति गठन
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानी चुहावटको समस्याका बारेमा अध्ययन गर्न जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । शुक्रबार गठन गरिएको समितिलाई हप्ता दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । ब्रेक प्रेसर ट्यांक (बिपिटी)बाट पानी वितरणको व्यवस्था मिलाउने र त्यसबाट पनि पानी चुहावट नरोकिए किराँत चोकदेखि मानव अधिकार चोकसम्म नयाँ पाइप जडानका लागि निर्माण व्यवसायीलाई आग्रह गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याटसहिट) रुपैयाँको लागतमा पूरा भएको आयोजनाअन्तर्गत दिक्तेल बजारका १० स्थानमा आगलागीका बेला उपयोग गर्नेगरी फायर हाइड्रेन्ट गेट भल्भ पनि राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?