रमेश लेखक जसले महाकालीमा पुल बनाए, दोधारा चाँदनीवासीलाई नेपाली भएको अनुभूति दिलाए

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 7 mins

देवेन्द्र खड्का/हिटा
महेन्द्रनगर । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-६ का दलजित पुन अहिले ८३ वर्षको हुनुभयो । यद्यपि उहाँले नेपाली भएको अनुभूति गरेको भने १७ वर्षमात्रै भयो । झण्डै दुई दशकअघि नेपालपारिको क्षेत्र भनेर समेत चिनिने दोधारा-चाँदनी जिल्ला सदरमुकाम महेन्द्रनगरसँग समेत जोडिएको थिएन । भौगोलिकरूपले विकट महाकाली नदीपारिका दोधारा-चादँनीवासी त्यो बेला सम्पूर्णरूपले भारतसँग निर्भर थिए । दोधारा-चाँदनीवासीलाई जिल्ला सदरमुकाम महेन्द्रनगर आउनजान भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो  । यस्तै, सो क्षेत्रमा प्रायः भारतीय मुद्राको कारोबार हुने गथ्र्यो । २०५८ सालमा तत्कालीन जनप्रतिनिधि रमेश लेखकको विशेष पहलमा दोधारा-चादँनी जोड्ने झोलुंगे पुल बनेपछि दोधारा-चाँदनी सदरमुकाम महेन्द्रनगर एवं मूलधारसँग जोडियो । ‘म अहिले ८३ वर्षको भएँ,’ दलजितले भन्नुभयो, ‘आजभन्दा १७/१८ वर्षपहिला हामी दोधारा–चादाँनीवासीलाई नेपाली भएको अनुभूति हुन्थेन ।’ उहाँले अगाडि भन्नुभयो, ‘जब २०६१ सालमा महाकाली नदीमा तत्कालीन जनप्रतिनिधि रमेश लेखकको सक्रियताले झोलुंगे पुल निर्माण भयो र जिल्ला सदरमुकामसँग जोडियौँ तब हामीलाई नेपाली भएको अनुभूति भयो ।’

महाकाली नदीमा झोलुंगे पुल बनेपछि मात्रै दोधारा-चाँदनीवासीका सुखका दिन आएको दोधारा–चाँदनी नगरपालिकाका नगर उप-प्रमुख गंगा जोशीले बताउनुभयो । ‘महाकाली नदीमा झोलुंगे पुल निर्माण हुनुपूर्व यहाँका जनता भारतसँग निर्भर थिए ।’ उपमेयर जोशीले भन्नुभयो, ‘हामी दोधारा-चाँदनीवासी जिल्ला सदरमुकाम महेन्द्रनगर जान पनि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । सदरमुकाम जाँदाआउँदा दोधारा-चाँदनीवासीले भारतीय सुरक्षाकर्मीको अनावश्यक तनाव झेल्नुपर्ने, गुण्डा लाग्ने, लुटिने, महिलामाथि विभिन्न शोषण हुने गर्दथ्यो ।’ उहाँले अगाडि भन्नुभयो, ‘जब महाकालीमा झोलुंगे पुल निर्माण भयो हामी जिल्ला सदरमुकामसँग जोडियौँ र हाम्रा अधिकांश दुःख हराए ।’

महाकालीमा झोलुंगे पुल निर्माण भएपश्चात् पैदलयात्रु र दुईपांगे्रे सवारीसाधनको आवागमन सहज भए पनि चारपांगे्रे सवारीसाधन दोधारा-चाँदनी ल्याउनलैजान अझै भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो । यद्यपि २०७० सालको संविधानसभा निर्वाचनमा रमेश लेखक पुनः निर्वाचित भएलगत्तै भौतिक पूर्वाधार विकासमन्त्री हँुदा उहाँको सक्रियताले महाकाली नदीमा चार लेनको पक्की पुलको टेण्डर आ≈वान भयो । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको उक्त चार लेनको पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । सो पुलको उद्घाटन नभए पनि अहिले अस्थायीरूपमा दोधारा-चाँदनी ढुक्कसँग आवतजावत भइरहेको छ ।

‘महाकालीमा झोलुंगे पुल निर्माण भएपछि हामीलाई पैदल र दुईपांग्रे्रे सवारीसाधनमार्फत् सदरमुकाम आवागमनमा सजिलो भयो र मूलधारसँग जोडिँदा हामीलाई नेपाली भएको अनुभूतिसमेत भयो ।’ दोधारा-चाँदनी नगरपालिका-६ का बुद्धिलाल श्रेष्ठले भन्नुभयो, ‘तर, चारपांग्रे्रे सवारीसाधन आवागमनका लागि अझै भारतको भर पर्नुपर्ने अवस्था थियो । यहाँबाट एम्बुलेन्समा बिरामी लैजान, विभिन्न सर-सामान ल्याउन, लैजान भारतको शारदा ब्यारेजको बाटो प्रयोग गर्नुपर्ने बाध्यता भने यथावत् नै थियो ।’ उहाँले अगाडि भन्नुभयो, ‘तर, अहिले महाकालीमा चार लेनको पक्की पुल बनेपछि हामीले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यतासमेत हटेको छ ।’

दोधारा-चाँदनी-१० की झुपु सुनारले महाकालीमा पुल निर्माणपछि धेरै सहज भएको बताउनुभयो । ‘यो महाकालीमा पुल नहुँदा हामीलाई हामी नेपाली होइन कि के हो ? जस्तो लाग्थ्यो,’ उहाँले भन्नुभयो, ‘जब महाकालीमा झोलुंगे पुल बन्यो तब हामीलाई नेपाली भएको अनुभूति भयो र अहिले झन् चार लेनको ठूलो पक्की पुल बनेपछि त हामीहरूले भारतको बाटो हिँड्नुपर्ने बाध्यता हटेको छ ।’ पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका नेता लेखकले महाकाली नदीमा निर्माण गरिएको उक्त चार लेनको पक्की पुल दोधारा-चाँदनी आउनजानमात्र नभएर सुक्खा बन्दरगाह निर्माण गरी दोधारा-चाँदनीलाई विकाससँग जोड्ने उद्देश्यले निर्माण गरिएको बताउनुभयो ।

‘महाकाली नदीमा निर्माण गरिएको चार लेनको पक्की पुलको उद्देश्य दोधारा-चाँदनी आउनजानमात्र होइन,’ नेता लेखकले भन्नुभयो, ‘दोधारा–चाँदनीका जनतालाई सदरमुकाम आउनेजाने उद्देश्यले मात्र त्यो पुल निर्माण गरिएको भए सानो वान लेनको बनाए पनि हुन्थ्यो ।’ उहाँले अगाडि भन्नुभयो, ‘त्यसैले दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गरी दोधारा-चाँदनी एवं कञ्चनपुरलाई विकाससँग जोड्ने उद्देश्यले त्यो पुल त्यति ठूलो बनाइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?