गुल्मीका सबै पालिकामा नमुना मतदान

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 6 mins

रमेश विश्वकर्मा/हिटा
गुल्मी । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढ्दै गएको छ । दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा पनि निर्वाचनको सरगर्मी बढ्दै गएको हो । कात्तिक ५ गतेदेखि १७ गतेसम्म यस जिल्लाका सबै पालिकामा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो । मतदाता शिक्षा दिने उद्देश्यका साथ १२ वटा पालिका रहेको यस जिल्लाका सबै पालिकामा गरिएको नमुना मतदानमा ९३० जनाले मतदान गर्नुभएको थियो । नमुना मतदानमा देखिएका कमी-कमजोरी सच्याउन साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप लगाउने तरिका, मतपत्र पट्याउने तरिका, मतपेटिकामा मतपत्र खसाल्ने तरिकालगायतका विषयहरूमा अभ्यास गराइएको उहाँले बताउनुभयो ।

सूचना अधिकारी पाण्डेका अनुसार रेसुंगा नगरपालिका-१४ को जनविकास माध्यमिक विद्यालय, मुसिकोट नगरपालिकाको रुद्रावती बहुमुखी क्याम्पस, कालीगण्डकी गाउँपालिकाको जीवनोद्धार माध्यमिक विद्यालय, छत्रकोट गाउँपालिका-२ पल्लीकोट, गुल्मी दरबार गाउँपालिकाको गंगा आधारभूत विद्यालयमा नमुना मतदान गरिएको थियो ।

त्यस्तै, रुरुक्षेत्र गाउँपालिकाको चन्द्रकोट क्याम्पस, सत्यवती गाउँ कार्यपालिकाको कार्यालय, इस्मा गाउँपालिकाको इस्मा मैदान, मालिका गाउँपालिकाको भानुपोखरा माध्यमिक विद्यालय, धुर्कोट गाउँपालिकाको न्यूनिखर्क माध्यमिक विद्यालय, मदाने गाउँपालिकाको पृथ्वी माध्यमिक विद्यालयमा नमुना मतदान गरिएको थियो ।

मतदाता शिक्षा सञ्चालन
गुल्मीमा अहिले स्वास्थ्य स्वयंसेविकाहरूमार्फत् सबै वडाहरूमा मतदाता शिक्षा सञ्चालन भइरहेको छ । मतदाता शिक्षाका लागि यस जिल्लामा ९८ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । कात्तिक २६ र २७ गते जिल्लामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ ।

सूचना अधिकारी मेघलाल पाण्डेका अनुसार एउटा मतदान केन्द्रमा ५०० बढी मतदाता भएमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, पाँचजना सहायक कर्मचारी र एकजना सहयोगी रहनेछन् । ४०० भन्दा कम मतदाता भएका मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चारजना सहायक कर्मचारी र एकजना सहयोगी रहनेछन् । निर्वाचनमा दुई हजार २२७ जना कर्मचारी खटिनेछन् ।

सबै मतपत्र आइपुग्यो
यस जिल्लामा हुने निर्वाचनका लागि आवश्यक सबै मतपत्र आइपुगेको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनमा प्रयोग हुने प्रत्यक्ष तथा समानुपातिकतर्फको सबै मतपत्र आइपुगेको हो । यस जिल्लाको क्षेत्र नं. १ प्रतिनिधिसभाका लागि एक लाख ३२ हजार मतपत्र आएको छ । सोही क्षेत्रको प्रदेश सभा (क) का लागि ६६ हजार र (ख) का लागि ७० हजार मतपत्र आएको छ । त्यस्तै, क्षेत्र नं. २ प्रतिनिधिसभाका लागि एक लाख १५ हजार मतपत्र आएको छ । सोही क्षेत्रको प्रदेश (क) का लागि ५९ हजार तथा प्रदेश (ख) का लागि ६० हजार मतपत्र आएको छ ।

यस जिल्लामा कुल दुई लाख २३ हजार ६१५ मतदाता रहेका छन् । क्षेत्र नं. १ मा एक लाख १९ हजार २८८ मतदाता रहेका छन् । सोही क्षेत्रको प्रदेश (क) मा ५७ हजार ५७९ र प्रदेश (ख) मा ६१ हजार ७०९ मतदाता रहेका छन् । क्षेत्र नं. २ मा एक लाख ४ हजार ३२७ मतदाता रहेका छन् । सोही क्षेत्रको प्रदेश (क) मा ५१ हजार ९०४ र प्रदेशसभा (ख) मा ५२ हजार ४२३ जना मतदाता रहेका छन् । यस जिल्लामा १४२ मतदानस्थल र २७८ मतदान केन्द्र रहेका छन् ।

दुई हजार ५०० बढी सुरक्षाकर्मी खटिने
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गुल्मीमा दुई हजार ५०० बढी सुरक्षाकर्मी खटिनेछन् । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा एक हजार ४६८ म्यादी प्रहरी, ७०० बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी, नेपाली सेना गरेर २५ सय बढी सुरक्षाकर्मी खटिने गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडलले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?