पुरण्य दलित बस्तीका मतदाता भन्छन् : ‘पानी दिनेलाई भोट दिन्छौँ’

हिमालय टाइम्स
Read Time = 6 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनी नगरपालिका-५ मा पर्ने पुरण्य गाउँ । वडा नं. ५ को मुख्य गाउँ पुलाचौरदेखि छुट्टै केवल दलितहरूको मात्र बसोबास रहेको यो बस्तीमा १०५ घरपरिवारको बसोबास छ । यहाँ करिब पाँच सय जनसंख्या र २६० मतदाता छन् ।

अघिपछि राजनीतिक दलका नेताहरूको पाइला नपर्ने यो गाउँमा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीका प्रायः सबै राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारहरूको लर्को लाग्ने गरेको छ । यहाँ पुग्ने सबै राजनीतिक दल र तिनका उम्मेदवारहरूले विगतका निर्वाचनमा झैं मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पनि यहाँको खानेपानीको समस्या समाधान गरिदिने प्रतिबद्धता जनाउने गरेका छन् । तर, स्थानीय भने नेताहरूको वर्षौंदेखिको यो प्रतिबद्धता पूरा नभएको भन्दै यसपटकको निर्वाचनमा गाउँमा जसले पानी ल्याइदिने ग्यारेन्टी दिन्छ उसैलाई मात्र मत दिने निर्णयमा पुगेका छन् ।

चुनावको मुखमा दैनिकजसो विभिन्न दलहरू भोट माग्न आउने गरेका छन् । अभावै अभावमा गुज्रिएको पुरण्यका समस्या समाधान गर्ने प्रतिबद्धतासहित ढोका-ढोकामा आएर नमस्कार गरेका नेताहरूलाई गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि पहिलोपटक गाउँमा देख्न पाएका छन् यहाँका नागरिकले ।

स्थानीय तहमा भोट माग्न गाउँमा आएका उम्मेदवारले दिएको एउटा आश्वासन पूरा नभएको भन्दै ६४ वर्षीय पूर्णबहादुर दर्जीले आश्वासनमात्रै दिन नेताहरू घरदैलोमा आएको बताउनुभयो । ‘गाउँमा खानेपानीको चरम अभाव छ, विद्यालय बनाउँदा लागेको ऋण तिर्न सकेका छैनौँ, घर-घरमा पानी ल्याइदिन्छौँ भन्ने स्थानीय नेताकै अनुहार बल्ल ६ महिनापछि देखेका छौँ, नेताहरूको बोलीमा विश्वास नै लाग्न छोडिसक्यो,’ दर्जीले भन्नुभयो ।

एक घण्टाको यात्रा गरी खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको भन्दै नेताहरूले दलितलाई सधैँ भोट माग्ने मतदाताका रूपमा मात्रै प्रयोग गरेको स्थानीयको गुनासो छ । सदरमुकाम नजिकै रहेको यो बस्तीमा न खानेपानी छ न त सबै घरमा शौचालय नै छ । विगतमा जितेका जनप्रतिनिधिका आश्वासनबाट आजित भएका स्थानीयले उल्टै आश्वासन यसपटक स्थानीयले नै प्रहार गर्न थालेपछि उम्मेदवार नै चकित परेका छन् । एक गाग्री पानी लिनका लागि एक घण्टाको समय खर्चिनुपर्ने समस्यामा यहाँका नागरिक छन् ।

दिसापिसाब गर्नका लागि पाखो वा अर्कैको शौचालयमा पालो पर्खनुपर्ने बाध्यतामा छन् । स्थानीय बुद्ध दमाई गाउँमा हामीलाई भोट दिनुहोस् तपाईंका समस्या हामी समाधान गर्छाैँ भन्दै गएको स्थानीय तहको पहिलो निर्वाचनमा भोट माग्न आएका स्थानीय जनप्रतिनिधिले समेत समस्या समाधानमा चासो नदेखाएको गुनासो गर्नुभयो । ‘भोट बटुल्नमात्रै आउँछन्, चुनावमा मात्र नेताहरू हाम्रो बस्तीलाई सम्झन्छन्,’ उहाँले भन्नुभयोे । उहाँले गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्लगायतका सुविधाले छुन नसकेको बताउँदै मत दिएर पठाउनेहरूबाटै वर्षौंदेखि गाउँलाई धोका भएको गुनासो गर्नुभयोे ।

बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरूबाट खुब मिठामिठा आश्वासन मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा हिराबहादुर परियारले बताउनुभयो । ‘हामीलाई त जुन जोगी आए पनि कानै चिरेको जस्तै भएको छ,’ उहाँले भन्नुभयोे ।

राजनीतिक दलहरूका लागि भोट बैंकका रूपमा प्रयोग भइरहेको भन्दै यसपटक लिखित र समय तोकेर प्रतिबद्धता दिनेलाई नै भोट दिने यहाँका दलित समुदायले निर्णय नै गरेका छन् । म्याग्दीमा दलित, विपन्न समुदायलाई आफ्नो पक्षमा पार्न दलहरूले झुटा आश्वासन दिने गरेको भन्दै यसपटक मतदाता नै आक्रोशित भएपछि दलका उम्मेदवार र प्रचारप्रसारमा गएका कार्यकर्तालाई समेत हम्मे-हम्मे परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?