रुपन्देही-१ मा घनश्यामलाई गठबन्धनको भर, छविलाललाई एमालेहरूकै डर

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 11 mins

बुटवल । एउटै पार्टीमा बसेर तीन दशक बढी सहकार्य गर्नुभएका नेता हुनुहुन्छ, घनश्याम भुसाल र छविलाल विश्वकर्मा । विद्यार्थी कालदेखि राजनीतिमा होमिनुभएका भुसाल एमालेको उपमहासचिवसम्म चुनिनुभएको थियो । एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित हुँदा विश्वकर्मा भने केन्द्रीय सचिवमा निर्वाचित हुनुभएको थियो ।

यी दुई नेताको सम्बन्ध सुमधुर छ । अहिलेसम्म एक अर्कालाई आक्षेपमा उत्रिनुभएको छैन । विश्वकर्मा खेलाडी पृष्ठभूमिबाट राजनीतिमा आउनुभएको नेता हो । उहाँ भलिबलका पूर्व-खेलाडी हुनुहुन्छ । तीक्ष्ण क्षमता हुनुभएका भुसाल वामपन्थी वैचारिक नेता मानिनुहुन्छ । यसअघि एमालेको महाधिवेशनले उहाँकैै अगुवाईमा स्थापित नीतिसमेत पारित गरेको थियो । ‘दुर्भाग्य नीति एउटाको नेतृत्व अर्कैको हुँदा लामो इतिहास बोकेको राम्रो र वामपन्थी पार्टी नीतिबिनाको हुँदै गयो’, निर्वाचनको क्रममा रुपन्देहीको रोहिणीमा घरदैलोमा भेटिनुभएका भुसालले भन्नुभयो ।

उहाँले झलनाथ खनाल पार्टी अध्यक्ष हुँदासम्म एमालेमा नीति र नेतृत्व ठिक भए पनि केपी ओली पार्टी अध्यक्ष भएपछि नीतिभन्दा नेतृत्व हाबी हुँदा एमाले सही ट्र्याकमा हिँड्न नसकेको बताउनुभयो । एमाले परित्याग गर्नुभएका एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँलाई सत्ताघटक दलहरूले समर्थन गरेका छन् । भुसाल त्रिभुज चुनाव चिन्ह लिएर मैदानमा आउनुभएको छ ।

यही निर्वाचन क्षेत्रबाट उहाँ भुसालसँग एमालेमा रहँदा तीन दशक बढी सहकार्य गर्नुभएका एमाले सचिव विश्वकर्माले पनि उम्मेदवारी दिनुभएको छ । तीन दशक लामो मित्रता उहाँहरूबीच प्रतिस्पर्धीका रूपमा देखिएको छ । वैैचारिक एवं माक्र्सवादका व्याख्याता नेता भुसाल र विश्वकर्मा आमनेसामने हुँदा कसले निर्वाचन जित्ला भन्ने विभिन्न अड्कलबाजी सुरु भएका छन् । तर, भुसालले पछिल्लो समयमा राम्रो जनसमर्थन पाउनुभएका कारण उत्साहित देखिनुभएको स्थानीय बताउँछन् ।

भुसाल रुपन्देहीको तिलोत्तमा निवासी हुनुहुन्छ भने विश्वकर्मा बुटवल उपमहानगरपालिका निवासी हुनुहुन्छ । २०७४ को निर्वाचनमा भुसाल क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित हुँदा विश्वकर्मा क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । त्यतिबेला वाम गठबन्धन भएकाले उहाँहरू दुवैले सहज जित निकाल्नुभएको थियो । २०३८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका भुसाल पूर्व- कृषिमन्त्रीसमेत हुनुहुन्छ । विश्वकर्मा खेलाडी जीवनबाट २०४६ पछि एमालेमा लाग्नुभएको थियो । उहाँ पनि पूर्व-कृषिमन्त्री भइसक्नु भएका नेता हुनुहुन्छ । विश्वकर्मा एमाले राजनीतिमा आएपछि भुसाल र उहाँकोे सम्बन्ध राम्रो रहेको छ ।

२०५३ मा एमालेका तत्कालीन सांसद धनपति उपाध्यायको निधनपछि भएको उपनिर्वाचनमा भुसाल भैरहवा क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । भुसाल विश्वकर्माभन्दा एक दशक पहिलाबाट नै राजनीतिमा सक्रिय रहँदै आउनुभएका नेता हुनुहुन्छ । भुसालले विभिन्न आन्दोलनमा होमिँदै गर्दा पटक पटक गरी दुई वर्ष पाँच महिना कष्टकर जेल जीवन बिताउनुभएको थियो । तर, विश्वकर्माले जेल जीवन भने बिताउन परेको छैन । भुसालको तुलनामा विश्वकर्मासँग राजनीतिक अनुभव पनि कम भएको एमालेका नेताहरू नै बताउँछन् ।

विश्वकर्मा २०७४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जितेको यो क्षेत्रमा ०७० मा विश्वकर्मा पराजित हुनुभएको थियो । वाम गठबन्धनबाट ०७४ मा सहज जित निकाल्नुभएका विश्वकर्मालाई यसपटक भने भुसाल चुनौती बन्ने देखिन्छ । २०७४ मा राप्रपाका नेता दीपक बोहरा र तत्कालीन एमाले नेता भुसालबीच क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा भएको थियो । भुसाल वाम गठबन्धनका साझा उम्मेदवार रहनुभएको थियो भने बोहरालाई कांग्रेसको समर्थन थियो । तर, भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गर्नुभएको थियो । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाउनुभएको थियो ।

०७४ को निर्वाचनमा नै क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्न चाहनुभएका भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण टिकट नपाएपछि ३ बाट उठेको बताउनुहुन्छ । अहिले पार्टी परित्याग गरेपछि १ बाट उम्मेदवार भई चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीगत रूपमा वडाध्यक्षहरूले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस बलियो छ ।

तर, अहिले सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका आधारमा कांग्रेसको ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको चार हजार २०२, नेकपा एसको एक हजार २४३ र लोसपाको ३२५ मत छ । दुई गठबन्धनको मत छुट्टाछुट्टै जोड्दा यस क्षेत्रमा विश्वकर्मा बलिया देखिनुहुन्छ ।

स्थानीय तहको मतका आधारमा विश्वकर्मा बलिया देखिए पनि भुसालले पार्टी परित्याग गरेका कारण करिब पाँच हजार मत प्रभावित हुने बताइन्छ । लामो समय रुपन्देही र त्यसमा पनि क्षेत्र नम्बर १ लाई प्राथमिकता दिएर एमालेमा राजनीति गर्नुभएका भुसालले एमालेको मत अवश्य तान्ने अनुमान गर्न सकिन्छ ।

यसअघि संसदीय सम्पर्क कार्यालयका प्रमुख रही काम गर्नुभएका भुसालका सहयोगी मनोजकुमार रिजालले एमालेको आठ/१० हजार मत प्रभावित हुने बताउनुहुन्छ । ‘घनश्याम भनेको राजनीतिक इमान, वामपन्थी नीति र एउटा ब्राण्ड नै हो’, रिजालले भन्नुभयो, ‘उहाँले एमाले छाड्नेबित्तिकै धेरै मत प्रभावित हुने भएकाले सहजै जित निकाल्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

भुसाल उम्मेदवार भएपछि धेरै एमालेका जिल्ला स्तर र स्थानीय स्तरका नेता-कार्यकर्ताले भित्रभित्रै स्वस्फूर्त रूपमा भुसालको प्रचारप्रसार गरिरहेका छन् । जसले गर्दा पनि भुसालको जितमा कुनै अप्ठ्यारो नहुने रिजालको तर्क छ ।
एमालेमा विद्रोह छ भने धेरै नेता कार्यकर्ता भुसालतिर लागेका छन्, अर्कातिर गठबन्धनको पनि साथ छ । यसकारण पनि भुसाल उत्साहित देखिनुभएको छ ।

टीकाराम चापागाईं स्वतन्त्र उम्मेदवार
देवदहका पुराना तथा प्रभावशाली एमाले नेता टीकाराम चापागाईंले असन्तुष्ट भई स्वतन्त्रबाट उम्मेदवार दिनुभएको छ । चापाकल चिन्ह लिएर रुपन्देही क्षेत्र नंं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बन्नुभएका अधिवक्ता टीकाराम चापागाईंले आफूलाई एकपटक विश्वास गरेर मतदान गर्न जनतालाई आग्रह गर्नुभएको छ । रुपन्देही क्षेत्र नं १ तिलोत्तमाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै चापागाईंले उक्त आग्रह गर्नुभएको हो ।

घरदैलो कार्यक्रममा बोल्दै चापागाईंले देश बेथिति, कुसंस्कार र कुरीतिले जर्जर भएकाले त्यसलाई सही दिशामा ल्याउन आफूले चुनाव जित्नैपर्ने बताउनुभएको हो । उहाँले रुपन्देही १ मा यसपटक स्थानीय उम्मेदवार आफूलाई जिताउन अनुरोध गर्नुभएको छ । देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका का वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६ र १७, ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका क्षेत्र नम्बर १ मा पर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?