ओली-प्रचण्डबीच आरोप-प्रत्यारोप

राम-लक्ष्मणसँग दुश्मनी गर्नेहरू सकिए, चितवन छाडेर हिँडे : ओली, हिटलरको जस्तो शासन गर्न खोज्नेसँग प्रतिवाद गर्‍यौँ : प्रचण्ड

डिबी शर्मा
Read Time = 8 mins

डिबी शर्मा, राधिका बुढाथोकी/हिटा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखामा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालत देखिएको आरोप लगाउनुभएको छ । सोमबार चितवनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गुण्डा पठाएर मान्छे कुट्न लगाएको समेत आरोप लगाउनुभयो । ओलीले प्रतिगमन ग¥यो भनेर लोकतन्त्रको रक्षा गर्न आएका भन्नेहरूले बियरको बोतल बोकेर अर्काको टाउकोमा हान्न लगाएको उहाँको आरोप छ । ‘मैले माडीमा आउँदा राम र लक्ष्मण जन्मिएको ठाउँमा मणि बनाउनतिर जान्छु भनेको थिएँ । राम लक्ष्मणहरू बसेको र राज गरेको ठाउँमा बचपन हुँदा खेलेका होलान्,’ उहाँले भन्नुभयो, ‘त्यो ठाउँमा राम जन्मभूमि ल्याउँदा यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए । सीता, राम र लक्ष्मणहरूसँग दुश्मनी गर्ने पनि सकिन्छन् । अहिले उकालोतिर लागेका छन् । गोरखामा पनि हालत के रहेछ भनेर थाहा पाइसक्यौँ । मान्छे कुट्न थाले । खाना खाइरहेको ठाउँमा गुण्डा पठाएर बोतलै बोतल हानेर टाउको फुटाउनतिर लागे ।’ स्थानीय तहको निर्वाचनमा गठबन्धनले पाँचजना मान्छे मारेको ओलीको आरोप छ । ओलीले गठबन्धनले चुनाव जिते ६ महिना सरकार नबन्ने दाबी गर्नुभयो । ‘गठबन्धन सरकार भनेको कठपुतलीजस्तो हो । गठबन्धनले जित्यो भने ६ महिना सरकार बन्दैन,’ उहाँले भन्नुभयो, ‘बन्यो भने पनि टिक्दै टिक्दैन । त्यहाँ खान गएकाहरू मात्रै छन् ।’ सत्ता गठबन्धनले जनता झुक्याउनका लागि मात्रै घोषणापत्र ल्याएको ओलीको आरोप छ ।

‘देशलाई राष्ट्रिय शक्तिको आवश्यकता’
यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई बलियो राष्ट्रिय शक्ति चाहिएको बताउनुभएको छ । सोमबार सिन्धुलीको दुधौलीमा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । सभाको आयोजना नेकपा एमाले निर्वाचन क्षेत्र नं. १ निर्वाचन प्रचारप्रसार समितिले गरेको थियो ।

‘त्यस्तो शक्तिको बलियो स्थिर सरकार चाहिएको छ । सधैँ स्वार्थको तानातान र खिचातानी गर्ने गठबन्धनका स्वार्थीको अखडा बनाउने होइन, खेलमैदान बनाउने होइन देशलाई । देशलाई विकासको अभियान हामी लाग्नु जरुरी छ । विभिन्न स्वार्थहरू जोडिएका स्वार्थीहरूको गठबन्धन नभई एउटा राष्ट्रिय शक्ति चाहिएको छ,’ उहाँले भन्नुभयो ।

‘लोक कल्याणकारी राज्यको अवधारणाअनुरूप जनतालाई सेवा सुविधा पुर्‍याउन ज्येष्ठ नागरिकलाई हेर्ने कुरामा होस्, महिलालाई हेर्ने कुरामा होस् अथवा बालबालिका, किशोर किशोरी, युवा र मजदुर किसानहरूको सम्बन्धमा हामीले कसरी काम गर्छौं भन्ने कुराहरूमा यहाँहरूले देख्नुभएकै छ हामीले घोषणापत्र जारी गरेका छौँ । यस निर्वाचनमा ४० वटा काम ग्यारेन्टी भनेका छौँ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘जसले देशको राष्ट्रियता, सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता आदि कुराको रक्षा गर्न सक्छ, ‘देशको राष्ट्रिय हितको रक्षा गर्न सक्छ र स्वाभिमानलाई माथि उठाउन सक्छ । त्यस्तो राष्ट्रिय शक्ति चाहिएको छ ।’

देशलाई विकासको अभियान हाँक्न सक्ने राष्ट्रिय शक्ति पनि चाहिएको उहाँको भनाइ थियो । मेचीदेखि महाकालीसम्म एउटै गन्तव्य, एउटै नीति, एउटै कार्यक्रम बोकेर विभिन्न क्षेत्रका विकासका कार्य अगाडि बढाउन सक्ने सुदृढ राष्ट्रिय शक्ति चाहिएको उहाँको जिकिर थियो ।

ओलीसँग मिलेर ज्ञान प्राप्त गरेँ, अब फेरि मिल्न जान्नँ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोखा दिएको टिप्पणी गर्नुभएको छ । लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले ओली बाध्य भएर मात्रै संविधान बनाउन मानेको उल्लेख गर्दै संविधान र लोकतन्त्र सिध्याउन लागिपरेको आरोप लगाउनुभयो । ‘उनले हिटलरको जस्तो शासन गर्न खोजेका रहेछन् ।

हामीले त्यसको प्रतिवाद ग¥यौँ,’ प्रचण्डले भन्नुभयो, ‘राष्ट्र र जनताको लागि गठबन्धनलाई बहुमतले जिताउन जरुरी छ । गठबन्धनलाई चुनावसम्म मात्रै होइन । पछिसम्म लैजानुपर्छ । उपलब्धिमाथि खतरा रहेसम्म १०/१५, २० वर्षसम्म जाओस् । अब अर्को प्रयोग हुँदैन ।’ ओलीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको बताउँदै अब फेरि मिल्न नजाने उहाँले प्रष्ट पार्नुभयो । प्रचण्डले कांग्रेसको प्रचार गर्दै जाँदा हिजोका द्वन्द्वका घाउहरू मेटिँदै गएको महसुस भइरहेको समेत बताउनुभयो । गोरखाको पालुङटारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्झौता र सहकार्य भन्ने कुरा आमने-सामने बसेर संघर्ष गर्नेहरूकै बीचमा हुने बताउनुभयो । सत्ता गठबन्धनले जितेपछि मुलुकमा विकास र समृद्धिले गति लिने उहाँले बताउनुभयो । प्रचण्डले कांग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको समेत बताउनुभयो । तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पौडेललाई आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?