हिटा विशेष टिप्पणी : अबको प्रधानमन्त्री को ?

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडौं । मंसिर ४ आउन अब पाँच दिन मात्रै बाँकी भएको अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको दोस्रो निर्वाचन पछिको नेतृत्व कस्तो होला ? के अहिले दाबी गरिरहेकाहरू मध्ये नै देशको नेतृत्वमा पुग्ने हुन् कि ? अरू कोही अनुहार आउने हो ? बहस सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेबाहेक कुनै पनि राजनीतिक दलले प्रधानमन्त्रीको नाम सार्वजनिक गरेका छैनन् ।

(क) संयुक्त गठबन्धनबाट दाहालको दाबी ?
आफूखुसी संयुक्त गठबन्धनबाट प्रधानमन्त्रीमा दाबी गर्नेहरूको लर्को लागेको छ । यही लर्कोका माझ सञ्चार माध्यमहरूमा आफ्नो पक्षपोषण गर्ने र गराउन सक्ने प्रधानमन्त्री चयन गर्ने प्रचार तीव्र भएको छ । बाहिर जेजस्तो प्रचार भए पनि पराजयको भय मनमा पाल्ने नेताहरू एकपछि अर्को आफूलाई प्रधानमन्त्री हुने घोषणा गर्दै मतदातालाई तान्ने प्रयत्न गरिरहेको अनुभव हुन लागेको छ । यो पंक्तिमा गठबन्धनका अर्का प्रमुख नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि देखिनुभएको छ । दाहालका लागि सबैभन्दा सहज क्षेत्र हो गोर्खा दुई । तर, गोर्खा १ मा नेपाली कांग्रेसमा देखिएको उम्मेदवारी विवाद र पुराना नेता चीनकाजी श्रेष्ठले बालुवाटार वृत्तबाट पाएको अपमानजनक व्यवहारको छायाले दाहाललाई असर पार्न सक्ने खतरा पनि छ । दिनभरि टिकट पाएको पत्र लिन पर्खाइएका र दिनभर बालुवाटार परिसरमा सबै साथीहरूबाट सुखद बधाई पाएका चीनकाजीले राति अबेला मात्रै अर्को कुनै साथीले अर्को ढोकाबाट टिकट लिएर कुदेपछि आफू भरंग भएको सार्वजनिक रूपमै बताउनुभएको थियो । गोरखामा अहिले पनि माओवादी हिंसाको कालो छाया र त्यसको भूतले तर्साइरहेको अवस्था छ । चीनकाजीको पीडाले त त्यो भूतलाई थप ऊर्जा प्रदान गरेको छ । यद्यपि, प्रचण्डको क्षेत्रमा उहाँका मतदाताहरूको संख्या कमजोर छैन ।

तर, पाँच दलीय गठबन्धनको बहुमत आयो भने डा. बाबुराम भट्टराईको प्रस्तावअनुरूप प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ त ? गठबन्धन भित्रको सहमतिबिना प्रधानमन्त्री बन्ने सम्भावना हुन्छ ? योभन्दा पनि महत्वपूर्ण प्रश्न हो निर्वाचनमा को विजयी हुन्छ र को पराजित ? अहिले कसैले भन्न सक्दैन । प्रत्यक्ष र समानुपातिक गरी माओवादी पार्टीका सदस्यहरू कतिजना संसद्मा पुग्ने हुन् ? १० वर्षसम्म माओवादीको निरंकुश र क्रूर आक्रमणबाट घाइते र यातनाले आहत नेपाली कांग्रेसका मतदाताहरू दाहालका पक्षमा खरो रूपमा नियतिलाई गाली गर्दै कति जनाले मत दिने हुन् ? कांग्रेसका मतदाताहरूको समर्थनबिना कति स्थानमा माओवादीले विजय हासिल गर्ने हो ? जति बढी स्थानमा माओवादी हुन्छ त्यही आकारमा मात्रै गठबन्धनमा उसको दाबी बलियो हुने हो । कमजोर उपस्थितिले उसलाई सत्ताको शीर्ष स्थान दिँदैन । अझै पनि माओवादी पार्टीले समेत निर्णय नगरेको हुनाले उहाँको दाबी कांग्रेसका नेताहरूलाई दबाब दिन मात्रै हो भनेर बुझ्न सकिन्छ ।

(ख) समाजवादीको मौनता :
भित्रभित्रै जे भने पनि प्रत्यक्षमा गठबन्धनको अर्को घटक नेकपा समाजवादीले दरो रूपमा प्रधानमन्त्री दाबी गरेको छैन । इलाममा प्रतिस्पर्धा गरिरहनु भएका झलनाथ खनालको मसिनो स्वर नसुनिएको होइन । तर, अध्यक्ष माधवकुमार नेपाल आफ्नै निर्वाचन क्षेत्रको महासागरबाट पार लाग्ने हो वा होइनको अवस्था भएर होला मौन हुनुहुन्छ । खनालको प्राथमिकतामा प्रधानमन्त्री पद नभएको र भविष्यमा राष्ट्रपतिको आकांक्षा हुनसक्ने बजार अनुमान छ । जनमोर्चा र तमलोपा सरकारको नेतृत्वको दाबी गर्ने क्षमतामा छैनन् ।

(ग) कांग्रेसमा प्रधानमन्त्रीको लस्कर :
नेपाली कांग्रेसमा यतिखेर पाँच जनाले आफूलाई प्रधानमन्त्री हुने घोषणाका साथ चुनावी अभियान चलाइरहेका छन् । संसदीय मर्यादाको पालक दाबी गर्ने नेपाली कांग्रेसले कसको नेतृत्वमा निर्वाचन लडिरहेको छ निर्णय गरेको छैन । प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री हुनुपर्ने जिकिर गर्दै आएको नेकपा एमाले समेतले आफ्नो नेता घोषणा गरेको छ । तर, संसदीय लोकतन्त्रको प्रमुख प्रवक्ता नेपाली कांग्रेस भने निर्णयविहीन अराजकताको भाषमा देखिन्छ । अहिले सभापति देउवा मौन हुनुहुन्छ । उहाँबाहेक रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशांक कोइराला, प्रकाशमान सिंहदेखि युवापुस्ताबाट गगन थापासमेत प्रधानमन्त्रीको दाबेदार हुनुहुन्छ । आम मतदातालाई आफू तुरुन्त निर्वाचनपछि प्रधानमन्त्री हुने, संसदीय नेतृत्वमा पुग्ने, यसो नभए आफ्नो पक्ष खडा गर्ने दाबी कांग्रेसभित्र सुनिन्छ । अर्थात् निर्वाचनपछि नेतृत्वको विषयले कांग्रेस घाइते हुने संकेत देखिएको छ ।

संघीय संसद्का लागि कांग्रेसको प्रत्यक्षमा उमेदवारी हेर्दा ८९ मध्ये देउवा पक्षका ५३ जना छन् भने विपक्षमा ३६ रहेका छन् । ५० प्रतिशत विजयी भएको अवस्थामा देउवा पक्षको स्पष्ट बहुमत हुन्छ । समानुपातिकमा जो जस्ता नाम परेका छन् कांग्रेसले ३५ स्थान मात्रै पाएमा ५० प्रतिशत देउवाकै पक्षमा देखिएका नामहरू हुनेछन् । यसैकारण देउवा पक्षको निर्णय अन्तिम हुनेछ कांग्रेसमा । देउवाविरुद्ध चुनावमा खडा हुनेहरूले आफूलाई भोलिको प्रधानमन्त्री दाबी गर्दै प्रचार गर्नुको कुनै आधार देखिँदैन ।

(घ) देउवा नै निर्वाचन पछिको पहिलो प्रधानमन्त्री :
जसले जति आँ गरे पनि मंसिर ४ पछि संयुक्त गठबन्धनले बहुमत ल्याएमा संघीय संसद्को तेस्रो र उहाँको जीवनमा छैटौँपटक शेरबहादुर देउवा नै प्रधानमन्त्री आसनमा पुग्नुहुने छ । यो निश्चित किन हो भने, अहिले सिद्धान्तविहीन र अन्तिम सत्य सत्ता भन्ने विचारका साथ गठबन्धनको प्रत्यक्ष योजनाकार उहाँ नै हो । उहाँले सर्प, विच्छी र भ्यागुतालाई राजनीतिको व्यूहमा आमनेसामने पारेको अवस्था छ । मिलाएर तानतुन गर्न सक्ने, च्यातिएको ठाउँमा भ्वाङ टाल्न सक्ने अरू कोही पनि छैनन् । प्रचण्ड, माधवकुमार आदिले निहुँ खोजेमा उहाँको तालमेल तत्काल एमालेसँग हुन सक्छ । जसपा र लोसपालाई पनि उहाँ जोड्न समर्थ हुनुहुन्छ । अन्तर्राष्ट्रिय समुदाय अहिले देउवाका पक्षमा स्पष्ट छ । यस्तो समयमा देउवाका लागि नेतृत्व स्वाभाविक हुनेछ । यदि शेरबहादुर देउवा प्रधानमन्त्री नभएको खण्डमा र गठबन्धन सहमत भएको अवस्थामा पुष्पकमल दाहाल, माधवकुमार नेपाल वा रामचन्द्र पौडेल मध्यबाटनै प्रधानमन्त्रीमा सहमति हुने देखिन्छ । उहाँहरू तीन जनामा सहमति नबनेको अवस्थामा डा. आरजु देउवाको प्रधानमन्त्री बन्ने संभावना छ ।

(ङ) अन्यथा विखण्डनको विगुल :
देउवाविरुद्ध कसैले संसदीय नेतृत्वको दाबी गर्दै प्रतिस्पर्धा गर्न संसदीय दलमा उभिएको अवस्थामा नेपाली कांग्रेसभित्र फुटको तयारी हो भनेर बुझ्नुपर्ने हुन्छ । अर्थात् अर्को निर्वाचन र पार्टीको १५औँ महाधिवेशनमा देउवाले निर्माण गरेको नेतृत्व सिँढी पूर्ण ध्वस्त पारी आफ्नो वर्चस्व स्थापित गर्ने महत्वाकांक्षा मात्रै सिद्ध हुने छ । अन्त्यमा गठबन्धनविरुद्ध एमालेको बहुमत आयो भने निर्विवाद नेता केपी ओली नै हुनुहुने छ । तर, जति ठूलो स्वरमा हल्ला गरे पनि यतिखेर संयुक्त गठबन्धनको शक्तिलाई कमजोर पार्ने सामथ्र्य एमालेसँग देखिँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?