एमालेबाहेक अरुले जित्नुपर्ने आधार छैन, विगतमा कसले के गर्‍याे हेरेपुग्छ : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 4 mins

ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक अन्य कुनै दलले जित्नुपर्ने कुनै आधार नभएको बताउनु भएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रचारप्रसारको क्रममा अध्यक्ष ओली आज बिहान ललितपुरको भैंसेपाटी र छम्पी पुग्नुभएको थियो ।

ओलीले छम्पीमा संक्षिप्त सम्बोधन गर्दै ललितपुर निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) बाहेक अन्य कुनै दलले जित्नुपर्ने कुनै आधार नभएको बताउनु भएको हो ।
एमाले अध्यक्ष ओली ललितपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गोदावरी नगरपालिका– ९ को छम्पीमा घरदैलोमा सहभागी हुनु भएको थियो ।

उहाँले आज ललितपुरका दुई निर्वाचन क्षेत्रमा पुगी आसन्न निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका एमाले उम्मेदवारहरूलाई हौसला र उत्साह प्रदान गर्नुभएको छ ।

उहाँले देश र प्रदेशका लागि एमाले बाहेक अरूले विगतमा के गरे, त्यो सबैले देखेको बताउनुभयो ।

ओलीले भन्नुभयो–‘एमालेको सरकार हटाएर गठबन्धनको परमादेशी सरकार बनाएको १६र१७ महिनाभित्र देशलाई बर्बाद बनाउने काम मात्र भएको छ ।’
उहाँले देशको विकास, लोकतन्त्रको रक्षा र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आगामी निर्वाचनमा एमालेले जित्नुपर्ने बताउनुभयो ।
यसअघि ललितपुरको निर्वाचन क्षेत्र नं ३ मा पर्ने भैंसेपाटीमा संक्षिप्त भेटघाट र पैदलयात्राका लागि पुग्नुभएका अध्यक्ष ओलीलाई त्यस क्षेत्रमा पार्टीले युवा, योग्य र अनुभवी उम्मेदवार बनाएकामा नागरिक समाज र स्थानीयको तर्फबाट आभार प्रकट गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष ओलीले सो क्षेत्रका प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारलाई विजयको शुभकामना दिनुभएको थियो ।
भैंसेपाटीमा अध्यक्ष ओलीलाई बरिष्ठ सञ्चारकर्मी भुषण दाहाल र टेलिभिजन कार्यक्रम सञ्चालक सुरजसिंह ठकुरीले पुष्पगुच्छा र मालाले स्वागत गर्नुभएको थियो ।

अध्यक्ष ओलीसहितको संक्षिप्त पदयात्रामा बरिष्ठ सञ्चारकर्मी दाहाल र ठकुरी, ललितपुर क्षेत्र नं ३ का प्रतिनिधि सभाका एमालेका उम्मेदवार अमृत खड्का र क्षेत्र नं। ३९२० का प्रदेश सभा सदस्य उम्मेदवार प्रेमभक्त महर्जनसहित नागरिक समाज र बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

शुरुमा नागरिक समाज मात्र सहभागी पैदलयात्रामा एमालेको निर्वाचन सम्पर्क कार्यालय पुगेपछि एमाले ललितपुरका इन्चार्ज एवं पोलिटव्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य एवं सहइन्चार्ज हरिकृष्ण व्यञ्जनकार , केन्द्रीय सदस्य बाबुराम थापा, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य लगायत नेताकार्यकर्ता सहभागी हुनुभएको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?