रूसलाई क्षतिपूर्ति भराउने राष्ट्र संघको प्रस्ताव पारित, नेपाल तटस्थ, चीन विपक्षमा

Read Time = 2 mins
A A- A+

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमाथि आक्रमण गरेर अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेकोमा रुसलाई जवाफदेही ठहराउनु पर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । पारित प्रस्तावमा युद्धका दौरान युक्रेनमा भएको जनधनको विनाशको रुसले क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख गरिएको छ । १९३ सदस्यीय राष्ट्रसंघीय महासभामा सोमबार भएको मतदानमा प्रस्तावको पक्षमा ९४ मत परेको थियो भने १४ देशले विपक्षमा मतदान गरेका थिए । नेपाल, भारत, ब्राजिल, दक्षिण अफ्रिकालगायतका ७३ देश तटस्थ बसेका थिए ।

चीनले भने प्रस्तावको विपक्षमा मतदान गरेको थियो । रूसले गत फेब्रवरी २४ मा आक्रमण गरेयता युक्रेन सम्बन्धमा संयुक्त राष्ट्रसंघ महासभाले पारित गरेको यो पाँचौं प्रस्ताव हो भने यसपटक युक्रेनका पक्षमा सबैभन्दा कम समर्थन जुटेको छ । यसअघि युक्रेनमाथि रूसले गरेको आक्रमणविरुद्ध मतदान गर्दै आएको नेपाल भने यसपटक तटस्थ बसेको छ ।

पारित प्रस्तावमा युक्रेन युद्धमा रूसद्वारा गराइएको क्षति, मृत्यु वा चोटपटकको क्षतिपूर्ति दिन एउटा अन्तर्राष्ट्रिय संयन्त्रको निर्माण गर्ने कुरा उल्लेख गरिएको छ । प्रस्तावमा जनधनको क्षतिका सम्बन्धमा आएका दाबी तथा सूचनाको रेकर्ड राख्न युक्रेनसंगको समन्वयमा एउटा अन्तर्राष्ट्रिय रजिष्टर खडा गर्नसमेत सिफारिश गरिएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?