एक वर्षपछि पायो केशरपुर स्वास्थ्य केन्द्रले डाक्टर

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीको मेलौली नगरपालिका-७ मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले एक वर्षपछि डाक्टर पाएको छ । जिल्लाका मेलौली नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दैै आएको स्वास्थ्य केन्द्रले बल्ल एक वर्षपछि मेडिकल अधिकृत (एमबिबिएस डाक्टर) पाएको हो ।

नगरपालिकाले नियुक्त गरेका डाक्टर पढ्न गएपछि एक वर्षपछि डाक्टर सञ्जीन केसी आइपुग्नुभएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणबहादुर चन्दले जानकारी दिनुभयो । एकजना मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाहरू र बन्द रहेका अन्य सेवाहरू नियमित सञ्चालन हुने भएकाले अबदेखि नागरिकहरूलाई उपचार सेवाका लागि सहज हुने उहाँले बताउनुभयो । सोमबारबाट प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर सञ्जीन केसीले स्वास्थ्य सेवा दिन सुरु गर्नुभएको छ ।

डाक्टर केसीले २०८० वैशाख अन्तिमसम्मको करार नियुक्ति पाउनुभएको छ । मेडिकल अधिकृत आएसँगै यसअघि रोकिएका एक्सरे, इसिजी, अल्ट्रासाउण्ड, पोष्टमार्टमलगायतका सेवाहरू सञ्चालनमा आएको स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताउनुभयो । ‘एमबिबिएस डाक्टरको अभावमा बन्द भएका एक्सरे, इसिजी, अल्ट्रासाउण्ड, पोष्टमार्टमलगायतका सेवाहरू सोमबारबाट सुरु भएका छन्,’ उहाँले भन्नुभयो, ‘अबदेखि तल्ल्लो स्वरोडअन्तर्गतका मेलौली शिवनाथका नागरिकहरूले उक्त सेवा लिनका बाहिर जानुपर्दैन ।’

प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टरको रिक्त दरबन्दी पदपूर्तिका लागि मेलौली नगरपालिकाले पहिलोपटक निकालेको १५ दिने सूचनामा कसैको पनि आवेदन नपरेपछि दोस्रोपटक सूचना निकालेको थियो । नगरपालिकाको लामो प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको नगरप्रमुख भीमबहादुर चन्दले बताउनुभयो । अब मेलौली नगरपालिकामात्रै नभई पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका नागरिकहरूले पनि एमबिबिएस डाक्टरबाट सेवा पाउने भएका छन् ।

तल्लो सोराड क्षेत्रको रेफरल सेन्टरका रूपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बेला-बेला चिकित्सकको अभाव हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?