जनताले दिएको अभिमत पूर्ण रूपमा पालन गर्न तयार छु : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले जिते पाँच वर्ष संसद् भंग नगर्ने बताउनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनले मंगलबार नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गर्न पुग्नुभएका प्रधानमन्त्री देउवाले आफूहरूले पाँच वर्ष नै संसद् चलाउने बताउनुभयो ।

‘आफ्नो विरोध हुनेबित्तिकै ओलीले रिसको झोकमा बिना कारण संसद् भंग गरे । हामीले त्यसो गर्दैनौँ,’ देउवाले भन्नुभयोे, ‘हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीको जस्तो गरी हामीले संसद् भंग गर्दैनौँ । हामी पाँच वर्ष संसद् चलाउँछौँ । त्यसका लागि गठबन्धनलाई जिताउन आवश्यक छ ।’

आफूहरूको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको उहाँले आरोप लगाउनुभयो । समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलीय गठबन्धन चुनावपछि पनि कायम रहने बताउनुभयो ।

देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक भएको जिकिर गर्नुभयो । संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको बताउँदै यो दीर्घकालसम्म रहने उहाँको भनाइ थियो । उहाँले पाँच दलीय गठबन्धन संविधानको पूर्ण पालना गर्दै स्थिर सरकार निर्माण, शान्ति प्रक्रियाका बाँकी कामहरूको पूर्णता र तीव्र आर्थिक विकासमा केन्द्रित हुने पनि बताउनुभयो । ‘संसद्लाई सरकारको विरोध गर्ने, आलोचना गर्ने, संसद्मा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हक छ,’ देउवाले भन्नुभयो, ‘त्यसैले शंका नगरेर गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गर्दछु ।’ चुनावी सभामा भाग लिन देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै नवलपरासी पुग्नुभएको थियो ।

संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धनले जित्नुपर्छ : प्रचण्ड
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो चुनाव महासंग्रामसँगै जनमतसंग्रह पनि रहेको बताउनुभएको छ । नवलपरासीमा भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताउनुभयो । ‘अहिलेको महासंग्राम कौरव र पाँच पाण्डवबीचको लडाइँ हो,’ उहाँले भन्नुभयो, ‘यो चुनाव चानचुने होइन यसलाई सबैले बुझ्न जरुरी छ । संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न पनि गठबन्धनले जित्न आवश्यक छ ।’

प्रचण्डले गठबन्धन दीर्घकालसम्म कायम रहने पनि बताउनुभयो । गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको उहाँको भनाइ थियो । ‘यो गठबन्धन अबको १५–२० वर्षसम्म कायम रहन्छ,’ उहाँले भन्नुभयो, ‘देशमा राजनीतिक परिवर्तनअनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहनेछ ।’ संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिका लागि गठबन्धनको आवश्यकता रहेकोमा उहाँको जोड थियो । एमाले अध्यक्ष ओलीको अहंकारले कम्युनिष्ट आन्दोलनमा कलंक लागेकाले पार्टी एकता भंग भएको मात्र नभई देश प्रतिगमनमा गएको अध्यक्ष प्रचण्डले बताउनुभयो । ‘केपी ओलीमा अहंकारको उदय भएका कारणले गठबन्धन भएको हो,’ उहाँले भन्नुभयोे, ‘अब ओलीसँग सहकार्य कहिल्यै पनि हुँदैन ।’

एमालेबाहेक अरू दलले जित्नुपर्ने आधार छैन : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक अन्य कुनै दलले जित्नुपर्ने कुनै आधार नभएको बताउनुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रचारप्रसारको क्रममा अध्यक्ष ओली मंगलबार बिहान ललितपुरको भैँसेपाटी र छम्पी पुग्नुभएको थियो । ओलीले छम्पीमा संक्षिप्त सम्बोधन गर्दै ललितपुर निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) बाहेक अन्य कुनै दलले जित्नुपर्ने कुनै आधार नभएको बताउनुभएको हो । एमाले अध्यक्ष ओली ललितपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गोदावरी नगरपालिका- ९ को छम्पीमा घरदैलोमा सहभागी हुनुभएको थियो ।

उहाँले ललितपुरका दुई निर्वाचन क्षेत्रमा पुगी आसन्न निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका एमाले उम्मेदवारहरूलाई हौसला र उत्साह प्रदान गर्नुभएको थियो । उहाँले देश र प्रदेशका लागि एमालेबाहेक अरूले विगतमा के गरे ? त्यो सबैले देखेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेको सरकार हटाएर गठबन्धनको परमादेशी सरकार बनाएको १६÷१७ महिनाभित्र देशलाई बर्बाद बनाउने काम मात्र भएको छ ।’ उहाँले देशको विकास, लोकतन्त्रको रक्षा र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आगामी निर्वाचनमा एमालेले जित्नुपर्ने जिकिर गर्नुभयो । यसअघि ललितपुरको निर्वाचन क्षेत्र नं ३ मा पर्ने भैँसेपाटीमा संक्षिप्त भेटघाट र पैदलयात्राका लागि पुग्नुभएका अध्यक्ष ओलीलाई त्यस क्षेत्रमा पार्टीले युवा, योग्य र अनुभवी उम्मेदवार बनाएकामा नागरिक समाज र स्थानीयको तर्फबाट आभार प्रकट गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष ओलीले सो क्षेत्रका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई विजयको शुभकामना दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?