जुम्ला । निर्वाचनको मौन अवधि सुरु हुन केही दिन मात्र बाँकी छ । मौन अवधिमा चुनावी प्रचारप्रसार गर्न नपाइने भएकाले अहिले जुम्लाका उम्मेदवारहरू मतदाता भेटघाटको चटारोमा छन् । आमनिर्वाचन आउन अब चार दिन मात्र बाँकी हुँदा यहाँको निर्वाचन माहोल चिया पसलदेखि गाउँसम्म निकै बढेको छ ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जुम्लामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र २ (ख) मा त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाया, नेकपा एमालेबाट टेकराज पछाई र स्वतन्त्रबाट धनबहादुर बस्नेतबीच कडा प्रतिस्पर्धा हुने भएको हो । राप्रपाबाट देवप्रसाद न्यौपाने र नेमकिपाका विर्षबहादुर रावतको पनि उम्मेदवारी रहेको छ ।
बस्नेतले नेपाली कांग्रेसले आफूलाई अन्याय गरेको भन्दै पार्टीमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । तीन दलीय सत्ता गठबन्धको ठूलो साथ भएकाले रोकाया गठबन्धनको बहुमत पाएर जित्नेमा ढुक्क हुनुहुन्छ । नेकपा एमालेका टेकराज पछाई युवामाझ र समुदायमा राम्रो व्यक्तित्व भएका उम्मेदवार मानिनुहुन्छ । गठबन्धनको कच्ची धागो चुडाएर विजयी हुने पछाईको दाबी छ । बलियो जनमतका साथ चुनावी मैदानमा उत्रिएका तीनैजना उम्मेदवारहरूको चुनाव जित्ने आ-आफ्नै दाबी छ ।
मन्त्री रोकाया तीन दलीय गठबन्धन भएको कारण आफू सहजै जितको नजिक रहेको बताउनुहुन्छ । वि.स २०७४ सालको निर्वाचनमा कांग्रेसका भीमनिधि हमाललाई पराजित गरेर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका रोकायालाई त्यतिबेला एमालेको साथ थियो । पछि उहाँ नेकपा एसमा प्रवेश गरी मन्त्री हुनुभएको थियो । आफू मन्त्री हुँदा समग्र जुम्लासहित आफ्नो निर्वाचन क्षेत्रको उल्लेखनीय विकास गरेको र सत्ता गठबन्धनका कांग्रेस र माओवादीको मतबाट आफू विजयी हुनेमा कुनै शंका नरहेको रोकायाले बताउनुभयो ।
युवा रोजगारी, उद्यमशीलता र उत्पादन वृद्धि आफ्नो पहिलो एजेण्डा रहेको एमालेका उम्मेदवार पछाईले जानकारी दिनुभयो । गठबन्धनका साझा उम्मेदवार पदम रोकाया तथा एमालेका प्रभावकारी नेता टेकराज पछाई दुईवटा हेभिवेट उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेत चुनावी मैदानमा उत्रिनुभएको हो । ४८ वर्षदेखि कांग्रेसको राजनीतिमा होमिएर बस्नेतलाई हालसम्म पार्टीले कुनै उपयुक्त अवसर नदिएपछि कांग्रेसबाट विद्रोह गरेर उहाँले स्वतन्त्र उम्मेदवारी रोज्नुभयो । गठबन्धनको उम्मेदवार मन्त्री रोकाया भए पनि कांग्रेस र माओवादीको उम्मेदवार नहुँदा ती पार्टीका समर्थकको मत आफूलाई आउने स्वतन्त्र उम्मेदवार बस्नेतको दाबी छ ।
निर्वाचनका लागि जुम्लामा ८३ वटा मतदानस्थल र १०६ वटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएकोे जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा कुल ६८ हजार ६३८ मतदाता छन् । प्रदेशसभा निर्वाचन (क) मा ३६ हजार ७८३ र प्रदेशसभा (ख) मा ३१ हजार ८५५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा तिला, सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो । हिमा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेसले पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको थियो । एमाले पालिका नेतृत्वविहीन भएको छ । तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका गरी चारवटा स्थानीय तह प्रदेश (ख) मा पर्छन् । यस्तै, प्रदेशसभातर्फ क्षेत्र १ (क) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका ललितजंग शाही, एमालेका धीरेन्द्रराज गिरी, नेमकिपाबाट राजेश्वर देवकोटा र स्वतन्त्रबाट देवेन्द्र बहादुर शाही चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका