झापा-१ मा पहिलोपटक जनताबाट अनुमोदन हुने कसरतमा शर्मा र खरेल

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । झापा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर एक आसन्न निर्वाचनको हट क्षेत्रमध्ये एक हो । यो क्षेत्रमा मुलुकका स्थापित र दुई ठूला दल नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा र नेकपा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलको उम्मेदवारीले हट क्षेत्रको रूपमा रहेको छ । झापाको तल्लो भेग मेची किनारवारिको निर्वाचन क्षेत्र झापा-१ मा चुनावी सरगर्मी उच्च हुनुको मुख्यकारण शर्मा र खरेलको उम्मेदवारी नै हो । दुवै उम्मेदवारबीच समानता के छ भने दुवै मुख्य प्रतिस्पर्धी पहिलोपटक जनताको प्रत्यक्ष मतबाट अनुमोदित हुने प्रयासमा हुनुहुन्छ । खरेल पहिलोपटक उम्मेदवार भएर निर्वाचनको मैदानमा हुनुहुन्छ भने शर्मा विगतका दुई निर्वाचनमा उम्मेदवार भएर पनि पराजित हुन पुग्नुभएको थियो । शर्मा यसपटक पहिलेको हारलाई जितमा बदल्ने अभियानमा लाग्नुभएको छ ।

शर्माका प्रतिस्पर्धी खरेल यसअघि दुईपटक सांसद, महान्यायाधिवक्ता र एकपटक कानुनमन्त्री पनि भइसक्नु भएको छ । दुईपटक सांसद भए पनि खरेल जनताबाट प्रत्यक्ष अनुमोदित भने हुनुभएको होइन । दुईवटै संविधानसभामा सरकारबाट मनोनीत सभासद् भएका खरेल केपी ओली नेतृत्वको अघिल्लो सरकारमा कानुनमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । केपी ओलीले २०७४ मा पुनः सरकारको नेतृत्व गर्दा उनै खरेललाई नेपाल सरकारको महान्यायाधिवक्ता बनाउनुभएको थियो । खरेलले २०७७ फागुनमा महान्यायाधिवक्ताको पदबाट राजीनामा दिएर निर्वाचनको तयारीका लागि झापा फर्कनुभएको थियो ।

शर्मा पार्टी राजनीतिमा महत्वपूर्ण महामन्त्री पदमा निर्वाचित भएर चुनावी मैदानमा हुनुहुन्छ । दुवैका बीचमा रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । करिब दुई दशकदेखि यही क्षेत्रमा केन्द्रित शर्मा जनताबाट अनुमोदित भएर यो निर्वाचनमार्फत संसद् प्रवेश गर्न चाहनुहुन्छ । यसअघि शर्मा २०७० र २०७४ को निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवारी दिएर पराजित हुनुभएको थियो । २०७४ को निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका राम कार्कीसँग शर्मा पराजित हुनुभएको थियो । शर्माले ३३ हजार ३१० मत प्राप्त गर्दा कार्की ३६ हजार १७३ मत ल्याएर विजयी हुनुभएको थियो । त्यसअघि २०७० को निर्वाचनमा शर्मा एमाले नेता रविन कोइरालासँग पराजित हुनुभएको थियो । कांग्रेसको पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएका शर्मा त्यसअघिको समितिमा भने नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

यसअघि क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा रवीन कोइरालाको चर्चा थियो । खरेलले भने झापा क्षेत्र नम्बर २ को लागि तयारी गर्नुभएको थियो । तर, पार्टी केन्द्रले रवीन कोइराला प्रदेशसभामा झार्दै मनोनयन दर्ता गर्ने पूर्व-सन्ध्यामा क्षेत्र परिवर्तन गराएर खरेललाई क्षेत्र नम्बर १ मा पुर्‍यायो ।

गत स्थानीय तह निर्वाचनको अंकगणित
झापा क्षेत्र नम्बर १ मा कुल २१ वटा वडा छन् । यस क्षेत्रमा मेची नगरपालिकाका सबै वडाहरू समेटिएका छन् । त्यस्तै, भद्रपुर नगरपालिकाका वडा नम्बर ९ र १० यस क्षेत्रमा समेटिएका छन् । बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र ७ नम्बर वडाहरू यस निर्वाचन क्षेत्रअन्तर्गत पर्छन् । गत स्थानीय चुनावमा मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो । कुल १५ वटा वडामध्ये ११ वटा वडा एमालेले जितेको थियो । कांग्रेसले तीनवटा र माओवादीले एउटा वडा जितेको थियो । भद्रपुरका ९ र १० नम्बर वडाहरू पनि एमालेले नै जितेको थियो । त्यस्तै, यस क्षेत्रमा पर्ने बुद्ध शान्ति गाउँपालिकाका चार वडामध्ये तीनवटा कांग्रेसले र एउटा एमालेले जितेका थिए । निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने कुल २१ वडाहरूमध्ये एमालेले १४, कांग्रेसले ६ र माओवादीले एउटा वडाध्यक्ष जितेका थिए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २४ हजार ५९ मत प्राप्त गरेका थिए । त्यस्तै, माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले तीन हजार ९०५ मत प्राप्त गरेका थिए । एक्लै, प्रतिस्पर्धा गरेको एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार २३२ मत प्राप्त गरेका थिए । यस्तै, राप्रपाका वडाध्यक्षका उम्मेदवारले पाँच हजार ८३० मत, एकीकृत समाजवादीका उम्मेदवारले एक हजार २५२ मत र स्वतन्त्रलगायत अन्य दलले चार हजार ६५२ मत प्राप्त गरेका थिए । स्थानीय चुनावको मतका आधारमा एमाले अगाडि देखिए पनि कांग्रेस महामन्त्रीको व्यक्तित्वका कारण गत चुनावको गणित अहिले काम नलाग्ने कांग्रेस नेताहरूको तर्क छ । तर, एमाले नेताहरू भने राप्रपाको समेत साथ पाउँदा खरेल झनै बलियो बनेको बताउँछन् ।

समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस् : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मुलुक र जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन आग्रह गर्नुभएको छ । मुलुक र जनताको समृद्धिका लागि आफू प्रतिबद्ध भएकाले मतदान गरेर काम गर्ने अवसर दिन आग्रह गर्दै महामन्त्री शर्माले भन्नुभयो, ‘संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक छ । गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस् । यस क्षेत्रको सडक निर्माण, सामाजिक रूपान्तरण, स्वास्थ्य सेवा लगायतका क्षेत्रका काम गरेको छु । स्थानीय समस्याका बारेमा म जानकार छु, ती समस्या समाधानमा लागेको छु र अझै गर्दै जानेछु ।’

अब चकलेटी कुराका भरमा जनताले भोट हाल्दैनन् : खरेल
महामन्त्री विश्वप्रकाश शर्माका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं झापा क्षेत्र नम्बर १ का उम्मेदवार अग्नि खरेलले अब चकलेटी कुराका भरमा जनताले भोट नहाल्ने जिकिर गर्नुभएको छ । अब जनताले देशमा विकास र समृद्धि चाहेको बताउँदै पूर्व-कानुनमन्त्री तथा महान्यायाधिवक्तासमेत रहनुभएका खरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा बनावटी र मिठा कुरामा जनता नअल्मलिने जिकिर गर्नुभयो । नाकाबन्दीमा देश र जनताले समस्या झेल्नुपरेको बेला दुलो पस्ने पार्टीहरू अहिले आदर्शको नारा लिएर जनता झुक्याउन लागिपरेको आरोप लगाउँदै खरेलले भन्नुभयो, ‘म विकास प्रेमी हो । यस क्षेत्रको विकास र समृद्धिका लागि म चुनावी मैदानमा छु । एमालेको बलियो उपस्थिति रहेको झापा क्षेत्र नं १ मा म र मेरो टिमको जित सुनिश्चित छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?