धादिङ-२ : एमाले चोर्ने, गठबन्धन जोगाउने रणनीतिमा

हिमालय टाइम्स
Read Time = 11 mins

-नवदीप श्रेष्ठ

नुवाकोट । सत्तामा रहेका दलहरू देशैभर गठबन्धन गरेर चुनावी मैदानमा छन्। प्रतिपक्ष दल एमाले पनि ठाउँठाउँमा अन्य दलहरूसँग चुनावी गठबन्धन गरेको छ। एमालेले देशका कतिपय स्थानमा राप्रपासँग पनि तालमेल गरेको छ। धादिङ पनि यस्तै जिल्ला हो, जहाँ एमाले–राप्रपा तालमेल छ।

धादिङ–२ मा एमालेले राप्रपालाई प्रदेशतर्फको एउटा क्षेत्र नै दिएर सहकार्य गरेको छ। तर, यो सहकार्य पनि गठबन्धन दलहरूका अघि एमालेलाई निर्वाचनमा जित हासिल गराउन भूमिका खेल्न सक्ने देखिएको छैन। राप्रपासँगको सहकार्यले एमालेलाई राहत भने दिएको छ। डुब्न लागेको मान्छेलाई त्यान्द्रोको सहारा हुन्छ भनिन्छ। तर, धादिङमा राप्रपासँगको सहकार्य एमालेको लागि बलियो लठ्ठा हुन नसकेपनि खिरिलो डोरी भने अवश्य भएको छ।

यो क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका रामनाथ अधिकारी उम्मेदवार हुनुहुन्छ। नेकपा एमालेको तर्फबाट खेमप्रसाद लोहनी चुनावी मैदानमा हुनुहुन्छ। लोहनी ०७४ मा यही क्षेत्रबाट संघमा निर्वाचित हुनु भएको थियो। अधिकारी र लोहनीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसका अधिकारीलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको साथ रहेको छ। एमालेका लोहनीलाई राप्रपाको साथ रहेको छ। धादिङ–२ राष्ट्रिय प्रजातन्त्र पार्टीको राम्रै बाहुल्य भएको क्षेत्र भए पनि पछिल्लो समय राप्रपाको मत घट्दै गएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा बागमती प्रदेशमा धादिङको यही क्षेत्रमा रहेको रुबीभ्याली गाउँपालिकामा मात्र अध्यक्ष जित्न सफल भएको राप्रपाले गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा राप्रपाले आफ्नो साख जोगाउन नसके पनि यो क्षेत्रका विभिन्न चार वटा वडामा राप्रपाले वडाअध्यक्ष जितेकोले पनि राप्रपासँगको सहकार्यले एमालेलाई थोरै राहत अवश्य दिएको छ। तर, गठबन्धन दलबीचका किचलो समाप्त भएमा भने यो राहतले एमालेको लोहनीलाई पार लगाउन पर्याप्त हुने छैन।

स्थानीय चुनावको अंकगणित

धादिङ–२ मा सदरमुकाम धादिङबेँसी रहेको नीलकण्ठ नगरपालिका सहितका सात वटा स्थानीय तह रहेको छ। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सात मध्ये ६ वटा स्थानीय तहको प्रमुखमा कांग्रेस र एउटाको प्रमुख नेकपा माओवादी केन्द्रले जितेको छ। एउटै स्थानीय तहको प्रमुख उपप्रमुख जित्न नसकेको एमालेको लागि निर्वाचन जित्नको लागि अर्को दलका असन्तुष्ट पक्षको भोट चोर्नु बाहेक विकल्प छैन। स्थानीय तहका प्रमुखमा कांग्रेसका उम्मेदवारहरूले ३९ हजार सात सय ९३ मत ल्याएका छन्। एमालेका प्रमुखमा उम्मेदवारहरूले २६ हजार तीन मत ल्याएका छन्। माओवादी केन्द्रका प्रमुखका उम्मेदवारहरूले चार हजार चार सय ७५ मत र राप्रपाका अध्यक्षमा उम्मेदवारहरूले दुई हजार चार सय ९६ मत ल्याएका छन्। राप्रपा जोडिँदा पनि यो क्षेत्रमा २०७४ मा विजयी लोहनीको पुनः संसद्‌मा पुग्ने सपना सजिलो देखिदैन।

यो क्षेत्रमा वडाअध्यक्षहरूमा २२ वटामा कांग्रेस, १० वटामा नेकपा माओवादी, ८ वटामा नेकपा एमाले, चार वटामा राप्रपा, नेकपा एकीकृत समाजवादीका तीन, स्वतन्त्रबाट तीन र जनता समाजवादीका एक जना वडाअध्यक्षमा निर्वाचित भएका थिए। स्वतन्त्र तीनै जना कांग्रेसकै बागी उम्मेदवार भएर जितेकाले यसलाई कांग्रेसकै रुपमा चिन्ने गरिएको छ। एमालेका लोहनी ०७४ सालमा माओवादीको सहकार्यमा पनि झिनो मतले नेपाली कांग्रेसका दिलमान पाख्रिनलाई पराजित गर्नु भएको थियो। उक्त चुनावमा मतान्तर ६ सय ४० रहेको थियो।

दुबै दलमा आन्तरिक कलह

यो क्षेत्रका दुबै प्रमुख दलभित्रको आन्तरिक कलहले पनि निर्वाचनको नतिजामा प्रभाव पर्नसक्ने अनुमान गरिएको छ। कांग्रेसका शेखर कोइराला पक्षधर दिलमान पाख्रिनको बोलवाला रहेको यो क्षेत्रमा टिकट देउवा पक्षधरका अधिकारीले ल्याएपछि पाख्रिन समूह असन्तुष्ट रहेको थियो। पाख्रिनको असहयोगको कारण उत्तरी क्षेत्रमा अधिकारीले चुनावी कार्यक्रम समेत गरेका थिएनन्। पाख्रिन समूहका तथा निवर्तमान जिल्ला सभापति रमेश धमलाले बागी उम्मेदवारी दिनुभएको थियो। अहिले उहाँले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाउने घोषणा गरिसक्नु भएको छ। पाख्रिनलाई राष्ट्रिय सभामा लैजाने आन्तरिक सहमतिपछि गत साताबाट मात्र अधिकारी चुनावी अभियान लिएर उत्तरी क्षेत्र उक्लिनुभयो। ‘राष्ट्रिय सभा’को आश्वासनको झटारो कतिको फलदायी हुन्छ। त्यसको लागि मंसिर ४ नै कुर्नुपर्छ।

यता, एमालेमा पनि कलहको आगो दन्किरहेको छ। एमालेले प्रदेशको दुई क्षेत्रमध्ये एक क्षेत्र राप्रपालाई छाडेर चुनावी तालमेल गरेको छ। प्रदेशमा पछि फिर्ता लिने भन्दै एमालेका धनबहादुर घले उम्मेदवारी दर्ता भएको थियो। अन्तिम समयमा राप्रपासँग तालमेलको क्रममा घलेले उम्मेदवारी फिर्ता लिन नमानेपछि पार्टीले नै घलेको उम्मेदवारी फिर्ता लिइदिएको थियो। उम्मेदवारी फिर्ता भएपछि सामाजिक सञ्जालमा पार्टी छाडेका घोषणा गर्नु भएको घले पुनः एमालेमै फर्किसक्नु भएको छ। आफ्नो भूगोलमा राम्रै छवि बनाउनु भएको घलेले चुनावी सक्रियता हेर्दा अझै दिल ‘खुस’ भई नसकेको एमालेका एक सक्रिय कार्यकर्ता बताउँछन्। यसको असर निर्वाचनमा पर्ने हो कि भनेर एमाले र राप्रपा दुबै त्रसित रहेका छन्।

दुवैको जित्ने दाबी

लोहनी र अधिकारी दुवैले आफैले निर्वाचन जित्ने दाबी गर्दै आउनु भएको छ। दलीय कार्यकर्ता भन्दा बाहिरका मतदाता, असन्तुष्ट मतदाताको मत पनि आफैले पाउने आधार रहेकोले निर्वाचित हुने उम्मेदवार लोहनी बताउनुहुन्छ। लोहनीले विगतमा धादिङको लागि आफूले गरेका कामहरूलाई हेरेर मतदाताले मत दिनेमा विश्वस्त रहेको बताउनुहुन्छ। कांग्रेसका उम्मेदवार अधिकारी पनि आफ्नो जनताप्रतिको सेवाभाव र निष्ठाको कारण जनताले मत दिने बताउनुहुन्छ। यसपालि गठबन्धनको साथले थप भरोसा जगाएको अधिकारीको भनाइ छ। लोहनीले जितेमा उहाँ दोस्रो कार्यकालको लागि संसद्‌मा पुग्नुहुनेछ भने अधिकारीले जितेका २०६४ र २०७० भोगेको पराजयको घाउमा मलम लाग्नेछ। दुवै उम्मेदवार खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकासका विषयहरूलाई आआफ्नो चुनावी एजेण्डाको रुपमा उठाइरहेका छन्।

यस्तै, यो क्षेत्रमा लोहनी र अधिकारी बाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका बसुमाया तामाङ चुनावी मैदानमा हुनुहुन्छ। घण्टी चुनाव चिन्हको चर्चा बढेकोले तामाङले राम्रै मत ल्याउने ठानिएको छ। नेपाली कांग्रेस बीपीका शंकर दर्जी, जनता समाजवादी पार्टी नेपालका मेकरमान तामाङ, मंगोल नेशनल अर्गनाइजेशन धनमाया तामाङ र ८ जना स्वतन्त्र उम्मेदवारहरू पनि यो क्षेत्रबाट चुनावी मैदानमा रहनु भएको छ। साना र स्वतन्त्रहरूले विगत्को निर्वाचनमा ठूला दलहरूलाई मत हालेर अहिले असन्तुष्ट भएकाहरूकै मत जाने भएकोले ठूला भनिएका दलहरूलाई निर्वाचन थप पेचिलो बनाएको देखिन्छ।

 

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?