आचारसंहिता उल्लंघन गर्दै शिक्षक चुनाव प्रचारमा

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

लमजुङ । लमजुङमा शिक्षकले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै उम्मेदवारको प्रचारमा संलग्न भएको पाइएको छ । आचारसंहिता उल्लंघन गर्नेमा विद्यालयका प्रधानाध्यापक र शिक्षक संगठनका नेतासमेत छन् ।

सार्वजनिक कार्यक्रममा उपस्थित भएर मत माग्ने, उम्मेदवारसँगै घरदैलो तथा औपचारिक कार्यक्रममा हिँड्ने साथै सामाजिक सञ्जालमार्फत उम्मेदवारको प्रचारप्रसार तथा मत मागेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै बेंसीसहर नगरपालिका-५ नाल्मास्थित लाङ्दीदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक राजु गुरुङ, मध्यनेपाल नगरपालिका–२ स्थित बालविकास माविका शिक्षक मोहनराज घिमिरे, बेंसीसहरस्थित जनविकास माविका शिक्षकहरू शिवराज अधिकारी, दीपेन्द्र रावल, बसन्त अधिकारी र एकदेव घिमिरेविरुद्ध उजुरी परेको छ ।

शिवराज नेपाल शिक्षक संघका जिल्ला अध्यक्षसमेत हुन् । यस्तै, धेरै मानिस जमघट हुने गरी कार्यक्रम गर्न लागेको भन्दै सिउडीबजारस्थित सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाविरुद्ध पनि उजुरी परेको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले लिखित उजुरी परेका व्यक्तिमाथि स्पष्टिकरण सोधिएको र जवाफसमेत आइसकेको बताउनुभयो । निर्वाचन आचारसंहिता उल्लंघन नगरी प्रचारप्रसारमा जुट्न उहाँले दल र उम्मेदवारलाई आग्रह गर्नुभयो । ‘आचारसंहिता उल्लंघन नगर्न दल र उम्मेदवारलाई हरेक पटकको बैठकमा भनेका छौं । आचारसंहिताबारे सार्वजनिक माध्ययमहरूबाट सूचना पनि सम्प्रेषण भइरहेको छ,’ उहाँले भन्नुभयो,, ‘चुनावी आचारसंहिता उल्लंघन कसैबाट पनि हुनु हुँदैन । भएको पाइएमा कारबाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?