काठमाडौं १० मा प्रचण्डलाई पराजित गर्ने राजन केसीको ह्याट्रिक रोक्ने दाउमा बलराम

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका राजेन्द्रकुमार केसी (राजन केसी) लाई उम्मेदवार बनाएको छ ।

केसीले २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गर्नुभएको थियो ।

अहिले प्रचण्डसहितको माओवादी केन्द्रको समर्थनमा चुनावी मैदानमा हुनुहुन्छ, राजेन्द्रकुमार केसी । तर, केसीलाई चुनौती दिनेगरी कांग्रेस परित्याग गरी राप्रपामा जानुभएको बलराम थापाले उम्मेदवारी दिनुभएको छ ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई पराजित गर्नुभएको केसी यसपटक राप्रपाका थापा,  एमालेका हिमेश केसीसहितको उम्मेदवारसँग प्रतिस्पर्धामा हुनु हुन्छ ।

नेपाली कांग्रेसका तर्फबाट एकल सिफारिस हुनु भएको केसी लगातार तेस्रो पटक चुनाव जित्दै ह्याट्रिक गर्ने दाउमा हुनु हुन्छ । पहिलो पटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गदै चर्चा कमाउनु भएको केसीले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि कम्युनिष्ट गठबन्धनलाई पराजित पार्नुभएको थियो ।

केसीले २०७० को चुनावमा करिब सात हजार मतले पछि पार्दै विजयी हात पार्नुभएको थियो। केसीले २० हजार मत ल्याउँदा प्रचण्डले १३ हजार हाराहारीमा मात्रै मत पाउनु भएको थियो । २०७४ को निर्वाचनमा केसीले २४ हजार १९० भोट पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी हितमान शाक्यले २१ हजार ९०७ मत पाउनु भएको थियो ।

दक्षिणकालीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बलराम थापाले एमसीसी पास गर्न भूमिका खेलेकाले कांग्रेस परित्याग गरी राप्रपाबाट उम्मेदवार बनेको बताउनु भयो ।

यसअघि निर्वाचनमा जिताउन भोट माग्दै हिँड्नुभएका थापाले यसपटक गठबन्धनका उम्मेदवार केसीविरुद्ध चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

चुनावी सभामा राप्रपा वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्र, जिल्ला अध्यक्ष नवराज सिंखडालगायत राप्रपाका नेता सहभागी हुनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?