नाकावासीको पीडा : जो मतदानमा सहभागी हुन पाउँदैनन्

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । राजपुर गाउँपालिका–७ भौवानाका निवासी हरिकला कामीले अहिलेसम्म दुई पटक मतदान गर्नुभएको छ । भोट खसाल्न हरिकलाले तीन दिन छुट्याउनु पर्छ । भौवानाकाबाट भोट खसाल्न वडा नं. ७ को सिक्टा पुग्नुपर्छ । पहाड छिचोल्दै त्यहाँ पुग्न एक दिन लाग्छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सुत्केरी महिलाहरु मतदानमा सहभागी हुन पाउँदैनन् । घरमा रहेका सदस्यमध्ये एकजनाले अनिवार्य घर कुर्नुपर्छ । अनि मात्रै अन्य सदस्य मतदानको लागि सिक्टा पुग्नुपर्छ ।

‘कसरी भोट खसाल्न जाने होला? राम्रो बाटो छैन । हिडेर जान एक दिन लाग्छ । भोट खसाल्न एक दिन । अनि फर्किदा एक दिन’– उहाँले भन्नुभयो– ‘यति दुःख गरेर भोट खसाल्न गयो तर नाकाको विकास छैन । भोट माग्न नेता त भारतको बाटो भएर आउँछन् । हाम्रो के दशा होला ।’ मतदानस्थल नाका क्षेत्रमा छैन । हिडेर एक दिन समय लाग्ने ठाउँमा मतदानस्थल छ ।

२०६४ सालदेखि यहाँका स्थानीयले मतदान गर्न पुरानै नियति भोग्नुपरेको छ । हरेक चुनावमा भोट माग्न पुग्ने उम्मेदवारले अर्काे चुनावमा मतदान स्थल नाका क्षेत्रमा तोक्ने आश्वासन दिने गर्छन् तर चुनाव आउँदा त्यही माग समेत पूरा हँुदैन । ‘बाटो चाहियो भन्यौं, त्यो भएन, बिजुली चाहियो भन्यौं, त्यो पनि भएन । भोट खसाल्न बुथ यहीं चाहियो भन्यौं, त्यो पनि भएन’– स्थानीय पिङ्गमाली झाँक्रीले भन्नुभयो– ‘नेतालाई चाहिने भोट दिन त बुथ राख्न नसक्ने अवस्था छ । अनि कसरी यो ठाउँको विकास होला ?’

नाका क्षेत्रमा बसोवास गर्ने नागरिक आधारभूत आवश्यकताबाट समेत विमुख छन् । त्यसमा पनि मताधिकारबाट समेत बञ्चित हुनुपर्ने अवस्था छ । जसले सवारी साधन पठाउँछ उसैको सवारी साधनमा चढेर मतदानस्थलमा पुग्नुपर्ने बाध्यता छ । नाका क्षेत्रलाई आधार बनाएर मतदानस्थल तोक्नुपर्ने माग राख्दै आए पनि सुनुवाइ नभएको स्थानीय अगुवा श्यामबहादुर झाँक्रीले बताउनुभयो । ‘हामीले माग राख्न थालेको धेरै भइसक्यो तर सुनुवाइ भएन’– उहाँले भन्नुभयो– ‘जसलाई भोट चाहिएको हो, उसलाई चिन्ता छैन ।’

अधिकांश मतदाता मतदान स्थलसम्म नपुग्ने अवस्था छ । राजपुर गाउँपालिका वडा नं. ७ भित्र पर्ने नाका क्षेत्रमा करिब एक हजार तीन सय मतदाता छन् । आधाभन्दा कम मतदाता मतदान गर्न पुग्ने अनुमान गरिएको छ । ‘भौगोलिक विकटताले धेरैलाई मतदानमा जान नसक्ने गरायो’– राजपुर गाउँपालिका कार्यपालिका सदस्य सन्देश विश्वकर्माले भन्नुभयो– ‘हामीले पटक–पटक आवाज उठायौं तर सुनुवाइ भएन ।’ नाका क्षेत्रका मृग्रिया, भौवा, स्याउले, मनौरा, भैंसाही, सिमगजरी, खिर्की, सुकैया, सुनपथ्री, सिउरेनी, गम्भिरा, चिरियाखोला, डगमारा, छेग्रिया, गन्धैला, उत्तरखुट्टी, न्यौपाने लगायत बस्तीबाट मतदाता मतदान गर्न सिक्टा पुग्नुपर्छ । जिल्लामा एक सय ५३ मतदानस्थलमा चार सय ६५ मतदान केन्द्र छन् । स्थानीय तह निर्वाचनमा मतदानस्थल एक सय ५३ नै थिए तर मतदान केन्द्र चार सय ६१ थिए । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा चारवटा मतदान केन्द्र थपिएका छन् तर नाका क्षेत्रमा एउटा पनि मतदानस्थल थपिएन । जसले गर्दा मतदाताहरु निराश छन् ।

नाका क्षेत्रको बिचोबीच भागमा पर्ने स्थानमा मतदान स्थल बनाउन माग गरिदै आएको छ । वडा नं. ७ को भैंसाही नाकामा मतदानस्थल राखे सजिलो पर्ने स्थानीयको भनाइ छ । क्षेत्र नं. १ मा एक सय ५२ मतदान केन्द्र, क्षेत्र नं. २ मा एक सय ४५ मतदान केन्द्र छन् । क्षेत्र नं. ३ मा एक सय ६८ मतदान केन्द्र छन् । मतदानस्थल तथा केन्द्र निर्धारण गर्ने समयमा ध्यान दिन आग्रह गरिएको छ । ‘खासमा यो विषयमा निर्वाचन आयोग, राजनीतिक दल, सरकार, सुरक्षा निकाय सबै संवेदनशील बन्नुपर्छ’– राजनीतिकर्मी हेमकुमार जिसीले भन्नुभयो– ‘हामी चाहन्छौं अर्काे चुनावमा नाका क्षेत्रमा मतदानस्थल थपिने छ ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?