पोलार्डले लिए आइपिएलबाट सन्न्यास

Read Time = 5 mins

मुम्बई । वेस्टइण्डिजका विष्फोटक ब्याट्सम्यान काइरन पोलार्डले इण्डियन प्रिमियर लिग (आइपिएल)बाट सन्न्यास घोषणा गर्नुभएको छ । १३ वर्ष आइपिएल खेलेपछि पोलार्डले सन्न्यास घोषणा गर्नुभएको हो । उहाँले २०१० देखि नै मुम्बई इडियन्सबाट आइपिएल खेल्दै आउनुभएको थियो । मुम्बईको खेलाडीबाट सन्न्यास लिए पनि उहाँ ब्याटिङ प्रशिक्षकका रूपमा टोलीमा जोडिरहनुहुने भएको छ ।

उहाँ खेलाडी रहँदा मुम्बईले पाँचपटक आइपिएलको उपाधि जितेको थियो । मुम्बईलाई पहिलो उपाधि जिताउन पोलार्डले २०१३ मा चेन्नईविरुद्ध फाइनलमा ६० रनको विष्फोटक इनिङ खेल्नुभएको थियो । त्यसबाहेक २०१५, २०१७, २०१९ र २०२० मा मुम्बईलाई उपाधि जिताउन उहाँको भूमिका महत्वपूर्ण छ ।

पोलार्डले गत वर्ष नै वेस्टइण्डिजको टोलीबाट पनि सन्न्यास घोषणा गर्नुभएको थियो । पछिल्लो सिजनमा भने उहाँको ब्याट खासै जम्न सकेको थिएन । गत वर्ष मुम्बई पहिलोपटक पुछारमा रहेर बाहिरिएको थियो ।

विलियम्स र पुरन फुकुवा
आइपिएल टोली सनराइजर्स हैदराबादले आगामी सिजनअघि कप्तान केन विलियम्स र निकोलस पुरनलाई टोलीबाट फुकुवा(रिलिज) गरेको छ । हैदराबादले विलियम्सलाई १४ करोड भारुमा किनेको थियो । आइपिएलमा ७६ खेल खेल्दा विलियम्सले दुई हजार १०१ रन बनाउनुभएको छ । तर, पछिल्लो समय विलियम्सको टी-२० प्रदर्शनमा प्रश्न उठ्दै आएको छ ।

यस्तै, हैदराबादले वेस्टइण्डिजका कप्तान निकोलस पुरनलाई पनि टोलीबाट फुकुवा गरेको छ । पुरनलाई हैदराबादले १० करोड ७५ लाख भारुमा किनेको थियो । पछिल्लो सिजनमा र पछिल्ला खेलहरूमा पुरनले गरेको प्रदर्शनका कारण उहाँलाई टोलीले रिलिज गरेको हो ।
पञ्जाब किंग्सले पनि आफ्ना कप्तान मयंक अग्रवाललाई फुकुवा गरेको छ । पञ्जाबले शिखर धवनलाई कप्तान बनाउने भएको छ ।

कोलकाता नाइट राइडर्सले सबैभन्दा बढी १६ खेलाडी फुकुवा गरेको छ । कोलकाताले टी–२० विश्वकप विजेता एलेक्स हेल्स, अष्ट्रेलियाका कप्तान आरोन फिन्च, प्याट कमिन्स, अजिंक्या रहाणे जस्ता स्टारसहित १६ खेलाडीलाई रिलिज गरेको हो । अष्ट्रेलियाका कप्तान आरोन फिन्च खराब प्रदर्शनका कारण फुकुवा हुनुभएको हो भने एलेक्स हेल्सले आगामी अन्तर्राष्ट्रिय खेलका कारण नखेल्ने जनाउनुभएको हो ।
यसपटक कोलकाताले दिल्लीका अलराउण्डर शार्दुल ठाकुर, गुजरात टाइटन्सका रहमानउल्लाह गुरबाज र लोकी फर्गुसनसँग अनुबन्ध गरिसकेको छ ।

चेन्नईको कप्तानमा धोनी
यस्तै, चेन्नई सुपर किंग्सको कप्तानी पुनः महेन्द्रसिंह धोनीले गर्नुहुने भएको छ । गत वर्ष चेन्नईको कप्तानी रविन्द्र जडेजाले गर्नुभएको थियो । तर, यसपल्ट पहिलो संस्करणदेखि नै कप्तानी गर्दै आउनुभएका धोनीलाई टोलीले निरन्तरता दिएको हो ।

धोनीको कप्तानीमा चेन्नईले चारपटक आइपिएलको उपाधि जितेको थियो । चेन्नईले आइपिएल इतिहासका सर्वाधिक सफल बलर ड्वेन ब्राभोलाई भने फुकुवा गरेको छ । यस्तै, यसै साता टी-२० विश्वकप विजेता क्रिस जोर्डन, रोबिन उथप्पा, एडम मिल्ने, हरि निशान्त, क्रिस जोर्डन, भगत बर्मा, केएम आसिफ र नारायण जगादिशनलाई पनि फुकुवा गरेको छ ।

चेन्नईसँग अक्सनमा अब २० करोड ४५ लाख भारु बाँकी छ । दुई खेलाडी विदेशी कोटामा किन्न पाउनेछ । मिनी अक्सन आगामी डिसेम्बर २३ मा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?